विवाहको प्रलोभनमा युवतीमाथि बलात्कार, अलपत्र युवती अर्का व्यक्तिबाट पनि जोगिइनन्
काठमाडौं । मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई पर्सा प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने मोरङ कटहरी गाउँपालिका-४ का २५ वर्षीय सुरजकुमार साह, वीरगञ्ज महानगरपालिका-१६ फुलबारी टोल डेरा गरी बस्ने जुम्ला हेमा गाउँपालिका-३ जोगीवडाका ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका-१६ स्थित कार्की होटल सञ्चालक संखुवासभा खाँदवारी नगरपालिका-१० की ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्की छन् ।
सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाइ वीरगञ्ज बोलाइ बसपार्कस्थित एक होटलमा लगेर पटकपटक करणी गरेपश्चात् जेठ ९ गते बुढाथोकीको जिम्मा लगाएर फरार भएको प्रहरीले बताएको छ ।
जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्याइ हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको र योगीले पीडितलाई आफ्नो कोठामा लगि मानसिक र शारीरिक यातना दिइ पटकपटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिइ राखेको प्रहरीको दाबी छ ।