दलहरु चुक्दा स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार विजयी भए- भीम आचार्य – Nepal Press

दलहरु चुक्दा स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार विजयी भए- भीम आचार्य

विराटनगर । प्रमुख प्रतिपक्ष नेकपा एमालेकाे संसदीय दलका नेता भीम आर्चायले दलहरु चुक्दा स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार विजयी भएकाे र यसबारे गम्भीर समीक्षा गरेर दलहरु अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

प्रदेश १ प्रदेशसभाको बजेट अधिवेशनमा बोल्दै नेता आर्चायले दलगत उम्मेदवार हार्ने र स्वतन्त्र उम्ममेदवार निर्वाचित हुने कुराले लोकतन्त्रलाई कमजोर बनाउने धारणा राखे ।

दलहरुले काम गर्न नसक्नुले जनताले विकल्पको खोजी सुरु गरेको उनकाे भनाइ छ । नेता आचार्यले प्रदेश सरकार हराइरहेको अनुभूत भइरहेको बताए । सरकार गठन भएको ७ महिना पूरा हुँदासमेत आफ्नो औचित्य पुष्टि गर्न असफल भएको उनकाे टिप्पणी थियाे ।

नेता आर्चायले अहिले दुई तहको सरकारको आवाज बुलन्द हुँदै गएकाले प्रदेश सरकारको उपस्थिति देखाउन आगह गरे । उनले नामकरण टुग्याउन सरकार असफल रहेको बताए ।

‘सरकारको नेतृत्व बहुमतको कमाण्ड गर्ने भएकाले सत्ता पक्षले नामकरणको विषय टुंग्याउन नसक्नु सरकारको असफलता हाे’, उनले भने, ‘सरकार अहिले पनि प्रदेशको नामकरण गर्ने पक्षमा रहेको छैन । चर्का कुरा गर्ने तर नाम राख्न नसक्ने सरकारलाई जनताले दण्डित गर्नुपर्छ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक सूर्यामाराज राईले दलगतभन्दा माथि उठेर प्रदेशको नामकरण टुंग्याउनुपर्ने बताए । ‘अंक गणितमा नलागी सहमति र सहकार्यमा टुंग्याउनु पर्छ। नामकरणको विषयमा सबैले साझा चासो र कर्तव्यबोध गर्नपर्छ’, उनले भने, ‘यसलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको दायित्व रहेकाे साझा मुद्दा बनाउनुपर्छ ।’

बालेन र हर्कको उदय लोकतन्त्रको सुन्दर पक्ष भएको उनकाे भनाइ छ ।

प्रदेश १ प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन साेमबारदेखि सुरू भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्म्बोले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर