पदभार ग्रहणमा मेयर बालेन्द्रको पत्रकारसँग ‘गरम’ सवालजवाफ (भिडिओ) – Nepal Press

पदभार ग्रहणमा मेयर बालेन्द्रको पत्रकारसँग ‘गरम’ सवालजवाफ (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको कुर्सीमा बसेका छन् बालेन्द्र साह । आज उनले मेयर पदको सपथग्रहण र पदभार ग्रहण गरे ।

मेयर पदको सपथग्रहण गर्दा माला लगाउन इन्कार गरेर बालेन्द्रले फरक सन्देश दिन खोजे । उनले दुई दिनअघि ओखरपौवा पुगेर काठमाडौंको फोहोर समस्या समाधान नगरेसम्म माला नलगाउने र उत्सव नमनाउने घोषणा गरेका थिए । आफ्नो उक्त निर्णयलाई उनले सपथग्रहणमा कार्यान्वयन गरे ।

सपथग्रहणलगत्तै महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्न पुगे बालेन्द्र । त्यहाँको माहोल भने अलिक गरम थियो । उनको कार्यकक्षभित्र क्यामेराहरू अटाइनअटाइ थिए । पहिलो निर्णयमा हस्ताक्षर गर्नका लागि बालेनलाई एउटा फाइल तेर्स्याइयो । उनले फाइलमा सरक्क सही गरेनन् । आफैंले केही लेखेर हस्ताक्षर गरेको देखियो ।

पछि महानगरका कर्मचारीले बालेन्द्रको पहिलो निर्णय जानकारी गराए, ‘आजै नगर कार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने । बालेन्द्रले आफ्नो चुनावी अभियानका क्रममा नै काठमाडौंका हरेक बैठक लाइभ गर्ने बाचा गरेका थिए । त्यसलाई पनि व्यवहारिक कार्यन्वयनमा लैजाने छनक उनले पहिलो बैठकबाटै दिएका छन् ।’

पदभार ग्रहणका क्रममा पत्रकारसम्म बालेनको सवालजवाफ भएको थियो । पत्रकारको प्रश्नमा उनले कडा जवाफ फर्काए ।

बालेन्द्रलाई एक पत्रकारले पहिलो प्रश्न सोधे, ‘तपाईं अहिले महानगरपालिकाको भाडाको घरमा हुनुहुन्छ, महानगरपालिकाको आफ्नै भवन कहिले बन्छ ?’

भर्खरै कुर्सीमा बस्नासाथ सोधिएको प्रश्न बालेनले रुचाएनन् ।

उनले भने, ‘हजुरले हाम्रो कुरा कहिले बुझ्नुहुन्छ ? हामीले भनिसकेका छौं, काठमाडौंको फोहोर समस्या समाधान नभएसम्म अरु कुरामा ध्यान दिँदैनौं । हाम्रो पहिलो प्राथमिकता फोहोरको समाधान हो ।’

अर्का पत्रकारले सोधे, ‘यसका लागि समय चाहिँ कति लाग्ला ? तपाईंको यो काम मात्रै त छैन नि ?’

यो प्रश्नमा केही आक्रोशित देखिए बालेन्द्र । उनले प्रतिप्रश्न गरे, ‘पत्रकारले हाम्रो कुरा बुझ्न कति समय लाग्छ ? त्यो चाहिँ भनिदिनुस् न त ?’

बालेन्द्रले थपे, ‘सबै चिजको प्रक्रिया हुन्छ । कुनै काम एक दिनमा सकिन्छन् । कुनैलाई १० दिन १५ दिन लाग्छ । हाम्रो अहिलेको प्राथमिकतामा फोहोर व्यवस्थापन छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर