दुबईमा सुरक्षागार्डको प्रलोभनमा पूर्वसुरक्षाकर्मी ठगिए, भिजिट भिसामा लगेर अलपत्र
काठमाडौं । यूएईको दुबईमा सुरक्षागार्डमा काम पाउने आशामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल आर्मीका पूर्वकर्मचारीहरू समेत ठगिएको पाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार त्रिनेत्र म्यानेजमेन्ट कल्सल्टेन्सीज (एलएलसी) ले आर्म्स गार्डमा ५ सय जनाको डिमान्ड आएको छ भन्दै ठगी गरेको हो ।
पीडितबाट साढे ३ लाखदेखि ८ लाख रुपैयाँसम्म असुल गरिएको प्रहरीको भनाइ छ । उनीहरूलाई भिजिट भिसामा दुबई पुर्याएको तर काममा नलगाइ बिचल्ली बनाएको प्रहरीको दाबी छ । केहीलाई भने विभिन्न संघसंस्थाको सहयोगमा नेपाल ल्याइएको छ ।
सीआईबीका अनुसार हालसम्म ७६ जनाले उजुरी गरिसकेका छन् । उनीहरुबाट २ करोड ४३ लाख ३६ हजार ८ सय १० रूपैयाँ ठगी भएको जाहेरीमा उल्लेख छ ।
सीआईबीले जाहेरीपछि पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको राइनासका ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बुको दुधकुन्डका ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौंको कागेश्वरीकी ३५ वर्षीय रन्जना ढकाल प्याकुरेल, रुपन्देहीको देवदहका ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल र काठमाडौंको कागेश्वरीकै ४० वर्षीय सन्तोष प्याकुरेल रहेका छन् ।
पक्राउ परेकाले पीडितहरू खोज्नेदेखि आफ्नो खातामा रकम जम्मा गर्न लगाउनेसम्म गरेको सीआईबीले जनाएको छ ।