उपमेयर डंगोलको पहिलो निर्णयः हिंसामा परेका महिलाहरूको संरक्षण लागि ‘महिला सेल’ गठन गर्ने – Nepal Press

उपमेयर डंगोलको पहिलो निर्णयः हिंसामा परेका महिलाहरूको संरक्षण लागि ‘महिला सेल’ गठन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

पदभार ग्रहण गरेलगत्तै उनले चुनावी प्रतिवद्धता अनुसार उक्त निर्णयमा हस्ताक्षर गरेर काम थालेकी हुन् । सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्नेछ । न्यायिक समितिको प्रमुख पनि उपमेयर डंगोल नै हुन् । उनको चुनावी प्रतिबद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ ।

‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ डंगोलले नेपाल प्रेससँग भनिन् ।

उपमेयर डंगोलले पदबहालीपछि मेलमिलापकर्तालाई आह्वान गर्न मेलमिलापको सूची अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर गरेकी छन् । उनले मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी साना-तिना विवादलाई वडा तहबाटै निरुपण गर्ने उदेश्यले मेलमिलाप केन्द्रहरुलाई थप प्रभावकारी बनाउने बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेखित विवादहरुको निरुपण गर्दा न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दिइ गर्नुपर्ने मेलमिलाप गराउँदा उक्त ऐनको दफा ४९ को उपदफा ३ बमोजिम न्यायिक समितीले सूचिकृत गरेका मेलमिलापकर्ताबाट गराउनु पर्ने कानुनी व्यवस्था रहेकाले प्रक्रिया अनुसार अघि बढ्ने पनि डंगोलले बताइन् ।

सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्दै महानगरपालिकामा आफूहरु अघि बढ्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर