भक्तपुरको मध्यपुर थिमिको नगर कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन विजयी – Nepal Press

भक्तपुरको मध्यपुर थिमिको नगर कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन विजयी

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका गठबन्धन उम्मेदवार विजयी भएका छन् ।

मंगलबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेसबाट ७ र माओवादीबाट एक जना निर्वाचित भएका छन् । कांग्रेसबाट महिला ५ जना र दलित एवं अल्पसंख्यकतर्फ २ जना निर्वाचित हुँदा माओवादीबाट दलित एवं अल्पसंख्यकतर्फ एकजना निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत मैंया कँडेलका अनुसार कांग्रेसबाट महिला सदस्यतर्फ उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भएका छन् । त्यस्तै दलित एवं अल्पसंख्यकतर्फ कांग्रेसका जसे सार्की र सरोज परियार विजयी हुँदा माओवादीबाट बालकृष्ण परियार निर्वाचित भएको उनले जानकारी दिए ।

एमालेका उम्मेदवारहरुलाई पराजित गरेका सबैले २८–२८ मत ल्याएका थिए । एमालेका उम्मेदवारहरुले भने १३–१३ मत ल्याएका थिए ।

एमालेबाट महिला कार्यपालिका सदस्यतर्फ अम्बिका रजक, कमला प्रजापति, रामकेशरी श्रेष्ठ, सरिता अर्याल र सुन्तली विश्वकर्माले उम्मेदवारी दिएका थिए । त्यस्तै दलित एवं अल्पसंख्यकतर्फ प्रमिला परियार, मञ्जु नेपाली र मन्दिरा थापा परियारको उम्मेदवारी दर्ता गराएको थियो ।
निर्वाचन अधिकृत कँडेलका अनुसार कूल ४६ मतमध्ये ४२ मात्रै खसेको थियो । जसमध्ये एक मत पूर्ण बदर भयो ।

मतदानमा नेपाल मजदुर किसान पार्टीका ४ जना मतदाताले भने मतदान गरेनन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत मध्यपुर थिमि नपामा कांग्रेस एक्लैको बहुमत रहेको थियो । तैपनि सत्ता गठबन्धनअनुसार निर्वाचनमा होमिएका कांग्रेस र माओवादी केन्द्रले कार्यपालिका सदस्य निर्वाचनमा पनि गठबन्धन गरेका थिए ।

नौवटा वडा रहेको मध्यपुर थिमि नगरपालिकामा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट ४६ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमध्ये वडा नं ४ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन ।

नगरसभामा कांग्रेसका मेयरसहित २६ जनप्रतिनिधि छन् । दोस्रोमा एमालेका २ वडा अध्यक्षसहित १४, माओवादीको उपमेयरसहित २ र एक वडा अध्यक्ष जितेको नेमकिपासँग ४ सभासद् रहेका छन् ।

मंगलबार भएको मतदानबाट कार्यपालिका सदस्य निर्वाचितहरुले कांग्रेसको २६ र माओवादीको २ गरी २८ मत पाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर