हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।
हत्या आरोपमा धनकुटा सागुरीगढी घर भई धरान बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय किसोर र १३ वर्षीय गरी २ बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूमध्ये १७ वर्षीय किशोरलाई धनकुटाको छिन्ताङबाट शनिबार र १३ वर्षीय बालकलाई धरानको बगरकोटबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा बिहीबार बिहान शरीरको विभिन्न भागमा धारिलो हतियारले घोपेको तथा काटिएको अवस्थामा सन्दिप लम्जेलको शव फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शारीरिक सम्बन्ध राख्ने केटी खोजी देउ भन्दै उनीहरूलाई लम्जेलले धम्काई गाली गलौज समेत गरेको रिसिवीमा केटी सम्पर्कमा छ भन्ने झुक्यानमा पारी उक्त खोलामा बोलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट ज्यान सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।