आईजीपी नियुक्तिविरुद्ध मुद्दाको पेसी जेठ ३० लाई
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त विरुद्धको मुद्दाको पेसी जेठ ३० गतेलाई तोकेको छ ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा आज भएको सुनुवाइको क्रममा ७ दिनभित्र म्याद तामेल गरी गराइ थाम्ने थमाउने म्याद नपाउने गरी ३ दिनभित्र लिखित जवाफ पेस गर्न आदेशसहित जेठ ३० का लागि पेसी तोकिएको हो ।
ज्येष्ठता मिचेर धिरजप्रताप सिंहलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले रिट दर्ता गरेका थिए ।
तर, अवकाश पाइसकेका तीनजना डीआईजीको रिटमा पोखरेलको रिटलाई लगाउ लगाएपछि मुद्दाको फैसला आउन समय लाग्ने भएको छ ।
अवकाशप्राप्त डीआईजीहरू प्रकाशजङ कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्याललाई म्याद तामेल नभएको र लिखित जवाफसमेत नआएको भन्दै सरकार पक्षका वकिलले मंगलबार बहस हुन नसक्दै भन्दै सुरुमै कुरा राखेका थिए ।