लागुऔषधको ट्रान्जिट बन्दै काकरभिट्टा, २ महिनामा १९ जना समातिए – Nepal Press

लागुऔषधको ट्रान्जिट बन्दै काकरभिट्टा, २ महिनामा १९ जना समातिए

काठमाडौं । पूर्वीनाका काकरभिट्टाबाट दुई महिनामा लागुऔषध कारोबारमा संलग्न आरोपमा १९ जना पक्राउ परेका छन् । प्रहरीले चैतमा ८ जना, वैशाखमा १० जना र जेठको पहिलो साता १ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय काकरभिट्टाका अनुसार प्रहरीले चैतमा १ सय ४८ ग्राम खैरो हेरोइन र २ सय ५० एमएल कोरेक्ससहित ८ जना पक्राउ गरेको थियो । वैशाखमा ४२ ग्राम ८ सय ५० मिलिग्राम खैरो हेरोइन, डाइजिपाम, फेनारगन, लुपिजेसिक १ सय १७ एम्पुलसहित १० जना पक्राउ गरेको थियो भने जेठमा १ ग्राम खैरो हेरोइनसहित एकजना पक्राउ परेका थिए ।

पछिल्लो समय काकरभिट्टा नाकालाई लागुऔषधको ट्रान्जिट प्वाईन्ट बनाइएको र लागुऔषध कारोबारी बढेको गुनासो बढ्न थालेपछि निगरानी बढाइएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोले बताए ।

केहीवर्ष अघिसम्म गाँजा र लागुऔषधका लागि प्रयोग गरिने इन्जेक्सनसहित कारोबारी पक्राउ हुने गरेकोमा पछिल्लो समय ब्राउन सुगर, हेरोइनजस्ता लागू औषधसमेत यसै नाकाबाट भित्रन थालेको र यस्तो धन्दामा युवा परिचालन गरिएको अनुसन्धानको क्रममा देखिएको महतोको भनाइ छ ।

भारत हुँदै यस नाकाबाट भित्र्याइएका लागुऔषध झापाकै बिर्तामोड, दमक, मोरङको विराटनगर, सुनसरीको इटहरी र धरान, धनकुटालगायत पूर्वीपहाडी जिल्लामा पुग्ने गरेको प्रहरीले बताएको छ ।

लागुऔषध ऐन २०३३ मा लागूऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुईदेखि १५ वर्षसम्म कैद वा दुईलाख रूपैयासम्म जरिबाना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुईहजार रूपैयाँ जरिबाना हुने वा सुधार केन्द्र पठाउन सकिने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *