सडक अपांगमैत्री नहुँदा गाउँ फर्केकी झमकलाई झन् सास्ती
इटहरी । धरानबाट जाँदा धनकुटा बजार कटेपछि नेपाली सेनाको भीम दल गणको सैन्य चेक पोस्ट आउँछ । त्यो चेकपोस्ट पुग्नु अगाडि जिल्ला आयुर्वेदिक औषधालयको कार्यालय आउँछ । त्यही कार्यालय अगाडि सल्लाघारीतर्फ एक्लो बाटो हो झमक घिमिरेको घर पुग्ने माध्यम । महेन्द्र पार्क हुँदै दुई फन्को घुमाउरो बाटो हुँदै झमकको धनकुटा नगरपालिका–६ कचिडेको घरको आँगनमै पुग्न सकिन्छ । घरको आँगनसम्म पुग्ने बाटो कच्ची छ । जहाँ सवारी छिचोल्न सहज छैन ।
गत जेठ ७ गते शनिबार झमक घिमिरेलाई घरमै भेट्न पुगेका इटहरी ४ का सन्तोष निरौलाको दुई पाङ्ग्रे सवारी झरेका सल्लाको पातमा चिप्लियो । चिप्लिएर झन्डै ओरालो गुडेको बाइक थाम्दै निरौलाले भने, ‘हामी सहज हिँड्ने मान्छेलाई त यस्तो छ । झमकलाई झन् कस्तो होला?’
२०६७ सालको मदन पुरस्कार विजेता साहित्यकार झमककी आमा आशमायासँग इटहरीका निरौलाको भन्दा धेरै बाटोको दुःख भोगेको अनुभव छ । आशमायाले नेपाल प्रेससँग भनिन्, ‘सल्लिपिर त टिपेर फाल्न सकिन्छ । तर, बर्खामा बाटो हिँडिसक्नु हुँदैन ।’
झरीपानीको समयमा झमक बिरामी हुँदा सवारी घरमा आउन नसक्ने र बोकेर लान पनि धेरै असहज हुने आशमाया बताउँछिन् । उनी थप्छिन्, ‘यो बाटो पनि बनेको धेरै वर्ष भएको छैन । पहिले त झन् माथि उकालो बोकेरमात्रै सडक आउँथ्यो ।’
सामान्य यात्रा र उनको परिवारका सदस्यलाई नै असहज भएको बाटो झमकलाई सजिलो हुने कुरै भएन । उनलाई एक दशक अगाडि एकजना दाताले खुट्टाले चलाउन मिल्ने ह्विलचियर दिएका थिए, जुन चलाउन सडकले दिँदैन । सडकमा गुडाउन मिल्ने अवस्था नभएकाले हाल झमकको साथमा ह्विलचियर छैन, काठमाडौंमै छोडिएको छ ।
आमा आशमायाले घरमा पहुँचयोग्य शौचालय भए पनि घरसम्म पुग्ने अपाङ्गमैत्री एवं सहज सडक नभएको गुनासो गरिन् । जसले झमकलाई गाह्रो भएको उनले बताइन् । उनले भनिन्, ‘सडक राम्रो बनेको भए झमकलाई मात्रै हैन यो गाँउलाई नै धेरै सजिलो हुन्थ्यो ।’
झमकको घरमा झमकमात्रै हैन उनका पिता कृष्णबहादुर घिमिरे पनि ह्विलचियर प्रयोगकर्ता हुन् । रक्तचापले च्यापेका उनी अहिले घरमा ह्विलचियरमै यताउता गर्छन् । पाँच वर्षदेखि उनी ह्विलचियरमा छन् । उनलाई समेत सडक प्रयोग योग्य नहुँदा समस्या भएको परिवारका सदस्यहरु बताउँछन् । झमककी आमा आशमायाका अनुसार भारतको दार्जिलिङबाट आएका झमकका शुभचिन्तकहरुले घर पुग्ने बाटो राजमार्ग नजिकै भए पनि राम्रो नभएकोमा गुनासो गरेका थिए ।
‘दार्जिलिङबाट आउनेहरुमात्रै हैन, यहाँ बाहिरबाट आउने सबैको गुनासो सडक राम्रो भएन भन्ने छ’, आशमाया थप्छिन्, ‘बाटो राम्रो नहुँदा झमक र झमकलाई भेट्न आउने सबैलाई समस्या भएको छ ।’
झमकलाई विभिन्न स्वास्थ्य समस्या भएकाले नियमित जाँच गराइरहन पर्छ । तर, बाटोले समस्यामा पार्छ । ‘झमकलाई सरोज धिताल, बसन्त पन्तदेखि जगदीश अग्रवालले उपचार गर्नुभएको छ’, आमा आशमायाले भनिन्, ‘अरु डाक्टरहरुले पनि उपचार गर्नुभएको छ । बाटो राम्रो भए उपचारमा जान सजिलो हुन्थ्यो ।’
झमकको घर पुग्ने सडक खोलिएको पनि दशक हाराहारीमात्रै भएको छ । यसअघि सडक पुग्न घरमाथिको स्कुले डाँडामा पुग्नुपर्थ्याे ।
धनकुटा नगरपालिकाले झमकलाई सहयोग गरेको छ । उनको सहयोगीको लागि मासिक १५ हजार प्रोत्साहन रकम दिएको छ । धनकुटाका कलाकारले झमकको तस्बिर र पुस्तकको नाम चिवाको बोट पार्कदेखि नगरपालिका भवनमा कुँदेका छन् । यसरी धनकुटाका कलाकारदेखि स्थानीय सरकार सबैले झमकलाई माया गरेको देखिन्छ । तर, झमकको घर जाने बाटोमा भने कसैको ध्यान नपुगेको देखिन्छ । धनकुटामा स्थानीय सरकार आएपछि कैयौं बाटा खोलिए । कैयौं बाटा तथा गल्ली पिच भए । तर, धनकुटा नगरपालिकादेखि मुख्य सडकबाट नजिकै रहेको झमकको घरसम्म पुग्ने बाटो अपाङ्गमैत्री बनाउन भने स्थानीय सरकारको ध्यान पुगेको छैन ।
‘झमकले आफै ह्विलचियर कुदाएर हिँड्ने स्तरको बाटो आवश्यक छ’, धनकुटामा रहेको रेडियो नेपालको प्रादेशिक प्रशारणमा कार्यरत रेडियोकर्मी निर्मला कुँवर भन्छिन्, ‘स्थानीय सरकारको यो कार्यकालमा त्यत्ति बाटो बनेमा धेरैलाई सजिलो हुन्थ्यो । बाटो धेरै लामो पनि छैन । एक किलोमिटर हाराहारीमात्रै हो ।’
आफ्नो घर पुग्ने बाटो अपाङ्गमैत्री नभएकोमा झमक आफै भने बोल्न मानिनन् । न उनले अपाङ्गमैत्री एवं सुविधायुक्त बाटो नबनाउने स्थानीय सरकार न त धनकुटाका ठूलाबडा नेताकै आलोचना गरिन् । आफ्नो घरमा नेपालप्रेसको अपाङ्गमैत्री बाटो नबनेको प्रश्नमा खुट्टाले उत्तर लेख्दै झमकले शान्त उत्तर दिइन्, ‘हजुर म मौन रहन्छु । बुझ्ने मान्छेले आफैले बुझ्छन् ।’