स्थानीय चुनावले एमालेलाई गरेको मार्गनिर्देश
अघिल्लो वर्ष नेपाली राजनीतिमा पटक–पटक अवसादका घटनाहरु भए । प्रधानमन्त्रीको कार्यकारी अधिकारमाथि अदालतले नाङ्गो हस्तक्षेप गर्यो र अदालतको परमादेशमा जनअनुमोदित सरकारलाई हटाई प्रतिगमनकारी झुण्डको सरकार बन्यो । विडम्बना त यो भयो कि नेपालका राजनीतिक पार्टीहरुमा सबैभन्दा लामो लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी, लोकतान्त्रिक दुर्घटनाको उत्प्रेरक बन्यो ।
विषादपूर्ण राजनीतिको यो कालखण्डमा देशमा स्थानीय चुनाव सम्पन्न भयो । सत्तापक्षीय गठबन्धनले सत्ता र शक्तिको चरम दुरुपयोग गरी चुनावमा अनेकौं गैरराजनीतिक तथा गैरकानुनी हत्कण्डाहरु गर्यो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विरुद्ध देशभरका कथित राजनीतिक पार्टीहरुले गठबन्धन बनाए । यसमा स्मरणीय के छ भने सभामुखसहितले बद्नियत राखी एमाले पार्टी फुटाउनेसम्म गैरराजनीतिक र गैरसंवैधानिक काम गरेका थिए ।
यस्तो प्रतिकूल समय र धाँधलीपूर्ण चुनावमा पनि आम जनताले एमालेप्रतिको विश्वास देखाए । परिणमस्वरुप कूल पालिकाहरुमध्ये २०५ नगरपालिका तथा गाउँपालिकामा मेयर तथा अध्यक्ष र २३९ नगरपालिका तथा गाउँपालिकामा उपमेयर तथा उपाध्यक्षमा एमालेले जित निकाल्यो । त्यस्तै २ हजार १२५ वडामा वडाध्यक्ष तथा २ हजार ३३५ स्थानमा महिला सदस्य, २ हजार २८१ स्थानमा दलित महिला सदस्यमा र ४ हजार ६६४ स्थानमा वडा सदस्यको रुपमा एमालेले जित हासिल गरेको छ ।
यो सब नतिजाको आधार प्रतिकूल समयमा पनि एमाले नेतृत्वको स्पष्ट दृष्टिकोण, प्रतिबद्ध कार्यकर्ताको लगाव र आम जनताको एमालेप्रतिको विश्वास र भरोसाले सम्भव बनाएको हो । त्यसैले त देशभरि सम्पूर्ण राजनीतिक शक्ति एकातिर र एमालेमात्र अर्कोतिर हुँदा पनि लोकप्रिय मतको आधारमा नेपाल कम्युनिष्ट पार्टी एमाले पहिलो पार्टी बन्न पुग्यो । यो नै गठबन्धनका पार्टीहरुलाई नेपाली जनताले दिएको जवाफ हो ।
यसो भन्दैगर्दा हामीले के पनि बिर्सनु हुन्न भने एमालेभित्र पनि केही कुण्ठित र धोकेबाजहरु छद्मभेषमा रहेका रहेछन् । यस्ता पार्टीभित्रका अन्तर्घातीहरुका कारणले पनि केही जित सुनिश्चित जस्तै पालिका पनि एमालेले गुमाउन पुग्यो । स्थानीय चुनावको लागि टिकट वितरणमा भने पार्टीभित्र हावी भएका केही स्वार्थ समूहको दबाब चिर्न नसक्नु पनि पार्टीको कमजोरी हो ।
यस्ता विषयमा पार्टीको शीर्ष नेतृत्वभन्दा पनि सम्बन्धित क्षेत्रका नेताहरु बढी सजग बन्नुपर्ने देखिन्छ किनकि प्रभावमा पार्न सक्ने त्यस्ता स्वार्थ समूहहरुको पृष्ठभूमिबारे त्यसै क्षेत्रका नेता तथा कार्यकर्ता बढी जानकार हुन्छन् । त्यसो त लोकतान्त्रिक राजनीतिक पार्टीको यात्रामा चुनाव र जितहार स्वाभाविक हुन् । अहिलेको चुनावी नतिजा एमालेको राजनीतिक यात्रामा एउटा गतिलो शिक्षा र भविष्यको लागि ठूलो आधार पनि बनेको छ । अस्थिर सोच भएका राजनीतिक नेतृत्वसँगको सहकार्य नतिजामुखी हुन नसक्ने र त्यसको ठूलो मूल्य आम जनता र देशले नै चुकाउनुपर्ने हुनाले यसमा सचेत हुनुपर्ने शिक्षा पनि पार्टीले लिनुपर्छ ।
त्यस्तै नेतृत्व र एजेण्डा सही भएको राजनीतिक दललाई आम जनताले विश्वास गर्छन् भन्ने कुरा अहिलेको नतिजाले देखाएको छ भने चुनावको समयमा हुनसक्ने सत्ताको दुरुपयोग रोक्न निर्वाचन आयोगलगायत अन्य संस्थालाई सशक्त, जिम्मेवारपूर्ण र पारदर्शी बनाउनुपर्ने बोध पनि अझ गहिरो ढंगले भएको छ ।
त्यसो त ‘समृद्ध नेपाल सुखी नेपाली’ नीति कार्यान्वयनमा स्पष्ट दृष्टिकोण, लोकतान्त्रिक चरित्र र राजनीतिक विरासत बोकेको नेकपा एमालेको जस्तो अर्को पार्टी नेपालमा छैन । आन्तरिक तथा बाह्य स्वार्थ समूहको षड्यन्त्रमा बेलामौकामा देखापर्ने पानीका फोका जस्ता वा वर्षयामका खहरे जस्ता उग्र वामपन्थी राजनीतिक दलहरु बेलामौकामा नदेखिने होइनन् । यस्ता पार्टीहरु एमालेको विकल्प वा प्रतिस्पर्धी पार्टी हुनै सक्दैन । त्यस्तै इतिहासमा सीमित भइसकेका केही दक्षिणपन्थी राजनीतिक पार्टीहरु पनि एमालेको प्रतिस्पर्धी हुन सक्दैन । यस तथ्यले एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएजस्तै नेपाली राजनीतिले द्विपक्षीय पार्टी पद्धतिको औचित्य स्थापित भएको प्रस्ट हुन्छ ।
त्यस्तै कुनै पनि राजनीतिक सिद्धान्त, दर्शन, कार्यनीति तथा रणनीति केही पनि नमिल्ने पार्टीहरुको अपवित्र गठबन्धन हालै सम्पन्न भएको स्थानीय निर्वाचनको नतिजाले हौसिएको देखिन्छ । सत्ता स्वार्थको हिस्सा बाँडफाँटको स्वार्थले टिकेको यो गठबन्धन प्रादेशिक र संघीय चुनावसम्म नै लैजाने भन्ने आवाजहरु सुनिन थालेका छन् । त्यसो त राज्यस्रोतको दोहन नै राजनीतिको मुख्य उद्देश्य ठान्नेहरुका लागि स्वार्थजडित गठबन्धन स्वाभाविक नै होला । तर, स्वार्थ बाँडफाँटमा कुनै तलमाथि हुने बित्तिकै यो गठबन्धन टुट्ने ठोकुवा गर्न कुनै राजनीतिक विश्लेषक हुनु नपर्ने कुरा पनि यथार्थ हो ।
अन्त्यमा, नेकपा एमालेको राजनीतिको लक्ष्य नेपाल र नेपालीभन्दा अरु केही छैन । केही वर्ष अघिसम्म दोधारे नीतिको आरोप खेप्ने एमालेले केपी शर्मा ओलीको नेतृत्व पाएसँगै स्पष्ट कार्यदिशासहितको कुशल नेतृत्व पाएको छ । अध्यक्ष ओलीकै कुशल नेतृत्वको कारण २०६४ सालमा जम्मा २०.३ प्रतिशत लोकप्रिय मत पाएको एमालेले २०७० सालको चुनावमा २३.६ प्रतिशत र २०७४ को चुनावमा ३३.३ प्रतिशत लोकप्रिय मतसहित सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित भयो ।
देश विकासको स्पष्ट दृष्टिकोण, सन्तुलित र स्वाभीमानी विदेश नीति, स्वप्नदर्शी तथा दूरदर्शी कार्ययोजना, सुशासन र भ्रष्टाचारप्रति शून्य सहनशील नीति तथा व्यवहार आदिले एमालेलाई नेपाली राजनीतिको निर्विकल्प शक्तिको रुपमा स्थापित गरेको छ । अब आउने प्रादेशिक तथा संघीय चुनावमा एमालेले आफूलाई स्पष्ट बहुमतसहितको पहिलो पार्टी बन्ने त सुनिश्चित जस्तै छ । यसको लागि स्पष्ट दृष्टिकोण त एमालेको छँदैछ, सत्ताको दुरुपयोगलाई रोक्न भने आम जनतासहित एमालेका नेता कार्यकर्ता सचेत हुनैपर्छ ।