बजेटले जताततै चुनावमात्रै देख्यो, कांग्रेसलाई गलगाँड फाल्न हतार छ: सुरेन्द्र पाण्डे (भिडिओ) – Nepal Press

बजेटले जताततै चुनावमात्रै देख्यो, कांग्रेसलाई गलगाँड फाल्न हतार छ: सुरेन्द्र पाण्डे (भिडिओ)

काठमाडौं । पूर्वअर्थमन्त्री तथा एमाले सांसद सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेटले देशको आर्थिक संकटलाई ध्यान नदिएको बताएका छन् । संकट एकातिर बजेट अर्कोतिर भएको उनको टिप्पणी छ ।

संसद बैठकको छलफलमा भाग लिँदै पाण्डेले बजेट बनाउँदा अर्थमन्त्रीले चुनावमात्रै देखेको बताए । उनले भने, ‘सरकारले यता पनि चुनाव उता पनि चुनाव देख्यो । आर्थिक संकटतिर उसको ध्यान नै गएन ।’

पाण्डेले यसअघिको एमाले सरकारले ल्याएको बजेटलाई देखाएर उम्किन खोजिनु हास्यास्पद भएको बताए । उनले भने, ‘योभन्दा अगाडि तिमीहरुले ल्याएको बजेट पनि यस्तै त थियो नि भनिरहेको सुन्छु । तर, के हाम्रो सरकारको पालामा देशको अर्थतन्त्र यस्तै संकटमा थियो ? अहिलेको जस्तै विदेशी मुद्राको अभाव र मन्दीको अवस्था थियो ? ६ महिनादेखि हामी जुन संकटको चर्चा गरिरहेका छौं, त्योसँग यो बजेट मेल खान्छ ?’

पाण्डेले बजेटले वृद्ध भत्ताको उमेर घटाए पनि त्यसको फाइदा गठबन्धनलाई नहुने टिप्पणी गरे । वृद्धभत्ता एमालेको ब्रान्ड बनिसकेको उनको भनाइ छ । ‘कांग्रेसको मेलमिलाप नीति, माअ‍ोवादीको जनयुद्धमा हाम्रो दाबी पुग्दैन । त्यसैगरी वृद्धभत्तामा अरु दलको दाबी पुग्दैन । उमेर घटाए पनि जनताले एमालेलाई नै धन्यवाद दिन्छन् । बरु वृद्धभत्ता ५ हजार पुर्‍याउने भन्नुभएको थियो । किन बढाउनुभएन भन्ने हाम्रो प्रश्न छ’, पाण्डेले भने ।

कर्मचारीको तलब वृद्धि पनि न्यायोचिन नभएको उनले बताए । प्रतिशतमा बढाउँदा तल्लो र माथिल्लो तहका कर्मचारीबीच झन् दुरी बढ्ने उनको भनाइ छ ।

गठबन्धन चाँडै चुनावमा जान चाहिरहेको आफूले सुनेको पाण्डेले बताए । ‘सुन्दैछु तुरुन्तै गठबन्धन चुनावमा जाँदै छ रे ! कांग्रेसलाई यो गलगाँडबाट कहिले छुट्कारा पाउने भन्ने हतार छ । चुनावपछि अरु दलहरु सतीदेवीको अंगपतन भएझैं सबै झर्नेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर