पार्टी फुटपछि नयाँ रणनीति बनाउन महाधिवेशन गर्दै विप्लव नेकपा – Nepal Press

पार्टी फुटपछि नयाँ रणनीति बनाउन महाधिवेशन गर्दै विप्लव नेकपा

रुपन्देही । पार्टी विभाजनपछि नयाँ रणनीति तय गर्नका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने तयारी गरेको छ ।

पार्टीका प्रभावशाली नेता धर्मेन्द्र बाँस्कोटा, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि पार्टी केन्द्रीय कमिटी बैठक उदयपुरमा बसेको थियो । बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको सहभागी एक केन्द्रीय सदस्यले बताए । ‘अधिवेशनको टुंगो लागेको छ, केही दिनमा तपाईहरुलाई बोलाएर हामीले घोषणा गर्नेछौं’, उनले भने ।

जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा पार्टीको आगामी रणनीति, पार्टी विभाजनबाट भएको क्षति तथा त्यसरी जाने नेताहरुले लिएको जिम्मेवारी विभाजन लगायतका विषयमा छलफल भएको थियो । बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमा सहभागीले खुलेर छलफल गरेका थिए ।

बैठकले पार्टी संगठनलाई बलियो बनाउन सबै ब्युरोस्तरका प्रशिक्षण कार्यक्रम संचालन गर्ने र ती प्रशिक्षणमा विप्लव आफैं सहभागी हुनेगरी तय भएको छ । विप्लवनिकट नेताहरुले ७१ सदस्यीय पार्टीको पुरानो कमिटीमा ६ जना मात्रै फुटेर गएको र केही बिरामी भएर बैठकमा नआएपनि बहुमत केन्द्रीय कमिटी आफूतिरै भएको दाबी गरेका छन् । तर नेकपा बहुमत बनाएको टोलीले साबिकको केन्द्रीय कमिटीमा बहुमत नेताहरु आफूतिरै आएको दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा पार्टी सहभागी हुने विषयमा विवाद बढ्दै गएपछि विभाजनअघि निर्वाचनको पूर्वसन्ध्यामा कपिलवस्तुमा बसेको बैठकले कुनै औपचारिक निर्णय गर्न नसके पनि पार्टीबाट स्वतन्त्र उम्मेदारी दिनेलाई खुला गर्ने विप्लव तथा प्रकाण्डको प्रस्तावलाई असन्तुष्ट पक्षले विरोध गर्दै आएको थियो । पछि यही विषयलाई लिएर दुवै पक्षले एकले अर्कोलाई कारबाही गरेको घोषणा गरेर पार्टी विभाजन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर