गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छः मन्त्री कार्की
काठमाडाैं । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् ।
बेलायतको स्कटल्याण्डस्थित इडनबर्गमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गैरआवासीय नेपालीहरुसँग भएको बौद्धिक क्षमता र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके विकासमा टेवा पुग्नसक्ने बताएका हुन् ।
मन्त्री कार्कीले राज्यले यसको उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिँदै भूकम्प जाँदा अथवा बाढीबाट पीडित भएकाहरुको लागि मात्र होइन गैरआवासीय नेपालीहरुले विकासका धेरै क्षेत्रमा लगानी गर्न सक्ने बताए । मन्त्री कार्कीले भने,‘विदेशमा भएका नेपालीहरु फुटेर होइन जुटेर आए संघीय र प्रदेश सरकारले लगानीको उचित वातावरण बनाउँछ । त्यसको सुरक्षाको ग्यारेन्टी पनि सरकारले नै लिन्छ ।’
गैरआवसीय नेपाली संघ (एनआएनए) ले आयोजना गरेको कार्यक्रममा कार्कीले गैरआवसीय नेपालीहरुको लगानी सुरक्षणका लागि विभिन्न योजनाहरु बनाउने बताए ।
एनआरएनए स्कटल्याण्डका सभापति काशीराम भण्डारीले गैरआवासीय नेपालीहरु लगानी गर्न तयार रहेको तर झन्झटिलो प्रक्रियाका कारण समस्या हुने गरेको बताए । सहज व्यवस्था गर्नसके विदेशमा रहेका नेपाली आफ्नै ठाउँमा गएर काम गर्न चाहेको उनकाे भनाइ छ ।
एनआरएनए युकेकी निर्वतमान उपाध्यक्ष रेजिना प्रधान राईले भूकम्प आउँदा अथवा बाढी पीडितलाई संस्थागत सहयोग गर्नेमात्र नभएर लगानीको वातावरण नै सिर्जना गर्न सकिने बताइन् । उनले सरकारले सकारात्मक पहल गरे आफूहरु लगानी गर्न तयार रहेको जानकारी दिइन् ।
कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्की, स्कटल्याण्ड उपाध्यक्ष उज्ज्वल कार्की, स्कटल्याण्ड राज्य समितिका संरक्षक भोला खनाललगायतले एनआरएनएले सामाजिक क्षेत्रमा गरेका कामको विषयमा चर्चा गरेका थिए ।