बजेट जनता भुल्याउने ‘ललिपप’ मात्रै हो: राप्रपा अध्यक्ष लिङदेन – Nepal Press

बजेट जनता भुल्याउने ‘ललिपप’ मात्रै हो: राप्रपा अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संसदमा प्रस्तुत गरेको बजेट जनता भुल्याउने ‘ललिपप’ मात्रै भएको बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सरकारले ल्याएको बजेट परम्परागत र कार्यान्वयन हुनै नसक्ने रहेको टिप्पणी गरेका हुन् ।

‘बजेटमा भएका राम्रा नाराहरु हेर्दा यो मान्छे भुल्याउने ललिपपजस्तो देखिन्छ । आर्थिक संकट रोक्नेतर्फ यो बजेट लक्षित छैन । यो निर्वाचन र कमिसन लक्षित बजेट हो’, लिङदेनले भने ।

उनले बजेटले मुलुकलाई कुनै अग्रगतिमा नलैजाने भन्दै सत्तारुढ दलहरुले चुनावी खर्च जुटाउने कार्यक्रम बजेटमा राखेको बताए । हदबन्दीभन्दा बढी जग्गा भएका उद्योगले ऋण लिन पाउने र टाट पल्टने अवस्थामा बिक्री वितरण गर्न पाउने व्यवस्थाले सोझै अनियमिततालाई प्रश्रय दिएको उनको भनाई छ ।

‘उद्योगका लागि हदबन्दी सुविधा दिएको जग्गाबाट ऋण लिन पाउने र टाट पल्टियो भने बेच्न पाउने व्यवस्था किन राखियो ? त्यस्ता उद्योगहरुसँग डिल भइरहेको प्रष्ट देखिन्छ’, उनले भने ।

लिङदेनले बजेटका लागि बजेट र बहसका लागि बहसमात्रै भइरहेको भन्दै बजेटको स्रोत सुनिश्चित नभएकोले कार्यान्वयन हुनै नसक्ने दाबीसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर