प्रचण्डकाे चिन्ता : माओवादीलाई पहिचानको संकट पर्‍याे, पेटी बुर्जुवाभन्दा भिन्न देखिन छाड्यौं – Nepal Press

प्रचण्डकाे चिन्ता : माओवादीलाई पहिचानको संकट पर्‍याे, पेटी बुर्जुवाभन्दा भिन्न देखिन छाड्यौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई पहिचानको संकट उत्पन्न भएको बताएका छन् ।

माओवादी पार्टी वास्तविकतामा क्रान्तिकारी भए पनि जनताको नजरमा खराब देखिन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् । ‘माओवादी देशलाई माया गर्ने र जनताको लागि लड्ने नेता कार्यकर्ताको पार्टी भनेर चिन्थे । तर, अहिले हाम्रो छवि त्यस्तो छैन । हाम्रा पार्टीलाई पहिचानको संकट आउन थाल्यो’, प्रचण्डले भने, ‘हामी पेटी बुर्जुवाभन्दा भिन्न देखिन छाड्यौं ।’

प्रचण्डले अरु संसदवादी पार्टी र माओवादीबीच पहिचानको अन्तर मेटिँदै गएको बताए । ‘कतिपय स्थितिमा माओवादीका प्रतिनिधि अझै खराब पो छन् कि जस्तो जनतालाई परेको छ । जबकि हामी त्यस्ता होइनौं । हामी उन्नत विचारको पक्षपोषण गर्छौं’, प्रचण्डले भने ।

उनले थपे, ‘पहिले जनताले हामीलाई सजिलै चिन्थे । माओवादी अर्कै हो, अरु पार्टी अर्कै हुन् भन्ने थियो । तर, अहिले त्यस्तो छैन । हामी जनयुद्धमा छैनौं । हामीसँग जनमुक्ति सेना छैन, मिलिसिया पनि छैन । जनसरकार पनि छैन । अहिले तपाईंहरु हुनुहुन्छ जनप्रतिनिधि । जनताले अब हेर्दा माओवादीलाई तपाईंको अनुहारमा हेर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर