त्रिविमा ४ महिनादेखि लगाइएको ताला नेकपा क्रान्तिकारीले फोड्यो, फेरि लगाइए कारबाहीको चेतावनी – Nepal Press

त्रिविमा ४ महिनादेखि लगाइएको ताला नेकपा क्रान्तिकारीले फोड्यो, फेरि लगाइए कारबाहीको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले चार महिनादेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा गरेको तालाबन्दी नेपाल कम्प्युनिष्ट पार्टी (क्रान्तिकारी) ले तोडेको छ ।

आज ताला फोडेर पार्टीका मध्य केन्द्रीय कमाण्ड इन्चार्ज सफलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

विज्ञप्तिमा सत्तासिन पार्टीकै भ्रातृ संगठनका केही गलत स्वार्थ र मनसाय बोकेका विद्यार्थीहरूको झुण्डले ताला लगाएर विश्वविद्यालयलाई चार महिनाभन्दा अघिदेखि अनिर्णायकको बन्दी बनाइएको भन्दै राजनीतिक दल, तीनका भ्रातृ संगठन, बुद्धिजीवी वर्ग, विश्वविद्यालय प्रशासन र सरकार लाचार बनेको टिप्पणी गरिएको छ ।

‘विश्वविद्यालयको कूलपति सम्माननीय प्रधानमन्त्री हुँदै गर्दा सो विश्वविद्यालय महिनौ देखि ताला लागाइनु, उपकूलपतिबाट समस्या समाधानप्रति कुनै चासो व्यक्त नगर्नु आफैमा लजास्पदको विषय हो,’ नेकपा (क्रान्तिकारी) को विज्ञप्तिमा भनिएको छ ।

दलीय पहुँच र दबावको भरमा आंशिक र करार हुँदै खुला प्रतिस्पर्धाबिना नै स्थायी नियुक्ति दिने परिपाटीले शिक्षाको गुणस्तर खस्किएको पनि विज्ञप्तिमा आरोप लगाइएको छ ।

साथै विश्वविद्यालय बन्द हुने अवस्था सृजना हुनुमा कतै प्राइभेट तर्फ हस्तान्तरण गर्न खोजिएको त होइन भन्ने चिन्ता पैदा भएको भन्ने पनि उल्लेख छ ।

ताला खोल्न जिम्मेवार पक्षलाई विभिन्न माध्यमबाट आग्रह गर्दा पनि कसैको ध्यान नपुगेपछि आफूहरूले ताला फोडेको सो पार्टीले बताएको छ ।

साथै केही समस्याहरु भए वार्ता संवादबाट समस्याको हल गर्न पनि सुझाइएको छ । विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउने र ताला लगाउने कार्य कसैले गरेमा कडा रूपमा उत्रने चेतावनीसमेत दिइएको छ ।

त्रिविमा आर्थिक सुधारलगायतका मुद्दाहरू राख्दै नेविसंघले माघ ६ गतेदेखि विश्वविद्यालयका विभिन्न शाखाहरूमा तालाबन्दी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर