युरोकप विजेता भर्सेस कोपाअमेरिका विजेता-इटाली र अर्जेन्टिना भिडन्तका यी संयोग – Nepal Press

युरोकप विजेता भर्सेस कोपाअमेरिका विजेता-इटाली र अर्जेन्टिना भिडन्तका यी संयोग

लन्डन । युरो कपको साबिक विजेता इटाली र कोपा अमेरिकाको साबिक विजेता अर्जेन्टिनाबीच बुधवार राती प्रतिस्पर्धा हुँदै छ ।

इङ्गल्यान्डको वेम्बलीमा नेपाली समयअनुसार पौने १ बजे सुरु हुने खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ सरह हुने छ ।

अर्जेन्टिनाले गत वर्ष फाइनलमा ब्राजिललाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यतिबेला अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ वर्षपछि उपाधि जितेको थियो ।

यता इटालीले २०२१ मै आयोजित युरो कप फाइनलमा इङ्गल्यान्डलाई हराएर जितेको थियो । इटालीले ५८ वर्षपछि युरो कप जितेको थियो भने सिनियर अन्तर्राष्ट्रिय फुटबलमा १५ वर्षपछि उपाधि हात पारेको थियो ।

युरोपियन फुटबल महासंघले यो भिडन्तलाई कप अफ च्याम्पियन्स भनेर नाम दिइएको छ।

‘ला फाइनिलिस्सीमा’का रूपमा यसलाई अन्तर्राष्ट्रिय सुपर कप पनि भनिएको छ। सन् १९९३ सम्म युरो कप र कोपा अमेरिका विजेताबीच प्रतिस्पर्धा हुने गरेकामा त्यसपछि उक्त प्रतियोगिता गर्न छाडिएको थियो ।

वेम्बली त्यही मैदान हो जहाँ इटालीले एक वर्ष अघि घरेलु टोलीलाई हराएर युरो कप जितेको थियो । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिए त्यसपछि नतिजा सोझै टाई ब्रेकरबाट लिइने छ । इटालीको दुर्भाग्य नै भन्नुपर्छ, यसै वर्षको अन्त्यतिर कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छैन ।

महादेशीय छनोटको प्ले अफमा नर्थ मेसेडोनियाले इटालीलाई स्तब्ध बनाएको थियो । विश्वकपमा इटाली लगातार दोस्रो पटक छनोट हुन नसकेको हो ।

सन् २०१८ को विश्वकप नखेले पनि इटाली त्यसपछि शानदार लयमा देखिएको थियो । त्यसयता उसले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक लगातार खेल नहार्ने विश्व कीर्तिमान पनि बनाएको थियो। इटालीले लगातार ३७ खेलसम्म हार बेहोरेको थिएन ।

त्यसअघि स्पेनले ३५ खेलसम्म खेल नहारेर विश्व कीर्तिमान बनाएको थियो । संयोग नै रह्यो, इटालीको उक्त अपराजित यात्रा टुङ्ग्याउने टोली पनि स्पेन नै बन्यो । गत अक्टोबरमा युईएफए नेसन्स लिगको फाइनलमा स्पेनले इटालीलाई हराएको थियो ।

इटालीभन्दा केही फरक अवस्था अर्जेन्टिनाको छ । अर्जेन्टिना महादेशीय छनोटमा एक खेल पनि नहारी विश्वकपका लागि छनोट भइसकेको छ । त्यसभन्दा पनि बढी उल्लेखनीय के छ भने अर्जेन्टिना सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ३१ खेलयता अपराजित रहेको छ ।

अर्जेन्टिनाले इटालीसँग हालसम्म १५ खेल खेलेकामा ४ जित, ५ बराबरी र ६ हारको नतिजा निकालेको छ । तर सन् २००० यता इटालीसँग भएका सबै तीन भिडन्तमा अर्जेन्टिनाले जित हात पारेको छ । यी तीन वटै जित हात पारेका खेलहरू इङ्गल्यान्डमा खेलिएका थिए ।

इटालीविरुद्ध अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले हालसम्म खेलेका छैनन् । वेम्बलीमा उनी इटालीविरुद्ध उत्रने सम्भावना बलियो छ । यसअघि वेम्बलीमा मेस्सीले खेलेका २ खेलमा ३ गोल गरेका थिए भने दुवै अवसरमा अर्जेन्टिना विजयी भएको थियो ।

बुधवार रातीको खेल आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम हुने इटालीका भेट्रान डिफेन्डर जर्जियो केलिनीले बताइसकेका छन् ।

अर्जेन्टिनाले खेलेका पछिल्ला १८ खेलमा औसतमा एकभन्दा बढी गोल बेहोरेको छैन । यीमध्ये १२ खेलमा विपक्षीले गोल नै गर्न सकेका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *