प्रधानमन्त्रीसँग भेटेपछि बालेन्द्रले भने- स्वतन्त्र हुनुको अर्थ सबै पार्टी र नेतासँग सम्मानजनक निकटता पनि हो – Nepal Press

प्रधानमन्त्रीसँग भेटेपछि बालेन्द्रले भने- स्वतन्त्र हुनुको अर्थ सबै पार्टी र नेतासँग सम्मानजनक निकटता पनि हो

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदा मात्रै नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग आज बालुवाटारमा गरेको भेटघाटको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै साहले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ । सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ ।’

आफ्नो लक्ष्यहरू विशाल र पवित्र रहेको भन्दै उनले आम मान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत् सोचको आवश्यकता रहेको औँल्याएका छन् । यसका लागि सबैसँग सहकार्य अनिवार्य हुने उनको तर्क छ ।

‘राजनैतिक रूपमा हामीलाई यो अभियानमा केहि सजिलो पनि छ । किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन,’ उनले भनेका छन् ।

काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेको बालेन्द्रले बताएका छन् । यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने उनको भनाइ छ ।

‘समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ,’ उनले भनेका छन् ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली र आज प्रधानमन्त्री देउवासँग भएको भेटमा नेताहरूले दिएको प्रेरणाले आफू थप उर्जावान बनेको बालेन्द्रले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर