बालेन, हर्क र गोपालहरु दलकाे विकल्प हुन सक्छन् ? – Nepal Press

बालेन, हर्क र गोपालहरु दलकाे विकल्प हुन सक्छन् ?

देशमा राजनीतिलाई मुनाफाको उद्योग बनाइएको छ

सर्वप्रथम, नवनिर्वाचित काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमाललगायत सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ! भर्खरै सम्पन्न भएको स्थानीय निकायको निर्वाचनले हाम्रोबीचमा केही सन्देशहरु छोडेर गएको छ । ती सन्देशहरुलाई निकै जिम्मेवार भएर हेर्ने र ग्रहण गर्ने दाहित्व हामी तमाम नेपाली मतदाताको काँधमा आएको छ । फलाम तातो भएको बेलामा नै हो, त्यसलाई चाहिएको आकार प्रदान गर्न सकिने– हामीले हाम्रो सचेतता र सकारात्मक परिवर्तनको चाहनालाई सुझबुझपूर्ण तरिकाले अभिव्यक्त गर्ने हो भने हाम्रो अगाडि नेपाली राजनीतिमा गुणात्मक हस्तछेप गर्न सक्ने अवसर देखापरेको छ । राजनीति र मात्र राजनीतिसँग नै त्यो तागत छ, जसले हामीलाई हामीले खोजेको जस्तो समाज र हामीले खोजेको जस्तो देशको यात्रा प्रदान गर्न सक्छ ।

राजनीतिले आफ्ना तमाम प्रतिज्ञाहरुलाई कुल्चँदै विसंगतिहरुको डंगुर खडा गरेको छ । नयाँ पुस्तामा राजनीतिक नेतृत्वप्रति विश्वास छैन । ३ करोड जनसंख्या भएको देशमा ७०–८० लाख युवा बिदेसिएका छन् र राजनीति गर्नेहरुलाई यो तथ्यले पिरोलेको देखिँदैन ।

नेपाली राजनीति औपचारिकतामा सीमित छ । यहाँ राजनीति भनेको ‘राजनीतिक गतिविधि गर्न’मै सीमित छ । संगठन गर, पार्टी कमिटीमा पकड जमाउ, नेतृत्व प्राप्त गर, त्यसको बलमा राजकीय जिम्मेवारीमा दाबी गर र यस्तै यस्तै चक्र नै राजनीति मानिने गरिएको छ । एउटै पात्र ५ पटक देशको प्रधानमन्त्री बनिसक्दा नागरिकलाई थाहा छैन, फेरि उसैले देशको नेतृत्व गर्ने सुन्न लायक एउटामात्र कारण के छ । राज्य भनेको पार्टीको संगठन प्रणालीलाई चलायमान गराउन दुरुपयोग गर्ने टुल जस्तो बनाइएको छ । राजनीतिले आफ्ना तमाम प्रतिज्ञाहरुलाई कुल्चँदै विसंगतिहरुको डंगुर खडा गरेको छ । नयाँ पुस्तामा राजनीतिक नेतृत्वप्रति विश्वास छैन । ३ करोड जनसंख्या भएको देशमा ७०–८० लाख युवा बिदेसिएका छन् र राजनीति गर्नेहरुलाई यो तथ्यले पिरोलेको देखिँदैन । बरु यो तथ्यलाई उनीहरु आफ्नो लागि सुविधा सम्झिरहेको अवस्था छ ।

गरिब बस्तीहरुमा पुगेर राजनीति उनीहरुलाई धनी बनाउनेबारे सोच्दैन– कार्यकर्ता बनाउन चाहन्छ । कलेज र विश्वविद्यालयमा पुगेर राजनीतिले उनीहरुलाई अध्ययन अनुसन्धान गर्न अभिप्रेरित गर्दैन– कार्यकर्ता बनाउन चाहन्छ । कर्मचारीको बीच पुगेर राजनीतिले उनीहरुलाई राष्ट्रसेवा गर्न उत्प्रेरित गर्दैन– कार्यकर्ता बनाउने चेष्टा गर्छ । देशको न्याय सम्पादन गर्नुपर्ने न्यायाधीशलाई मेरो कार्यकर्ता बनोस् भन्ने चाहन्छ हाम्रो स्खलित राजनीति । अख्तियार दुरुपयोगको छानबिन गर्ने निकाय पनि आफ्नो इसारामा चल्ने अवस्थाभन्दा माथि नहोस् भन्ने चाहन्छ हाम्रो राजनीति । देशका हरेक निकायहरुमा अन्धाधुन्ध राजनीतीकरण गरेर नेपाली राजनीतिले देशभित्र राजनीतिलाई एउटा यस्तो मुनाफाको उद्योग जस्तो बनाएको छ कि मान्छे जीवन निर्वाह गर्न राजनीति गरिरहेको देखिन्छ । यी तमाम विसंगतिहरु हामीले निराश हुन होइन परिवर्तन खोज्न गहिरिएर नियाल्नुपर्ने यथार्थहरु हुन् । रातदिन समाजवादको गफ गरेर बस्नेहरु शिक्षा–स्वास्थ्य जस्ता आधारभूत विषयमा मुनाफाको लगानी गरेर बसेका छन् । अस्पताल आएको बिरामी धन आर्जन गर्ने ग्राहक बन्न विवश छन् । स्कुल पुगेर भविष्यमा समाजको सेवा गर्नुपर्ने बच्चाबच्ची धन कमाउनेहरुको ग्राहक बन्ने अवस्था छ ।

गरिब बस्तीहरुमा पुगेर राजनीति उनीहरुलाई धनी बनाउनेबारे सोच्दैन– कार्यकर्ता बनाउन चाहन्छ । कलेज र विश्वविद्यालयमा पुगेर राजनीतिले उनीहरुलाई अध्ययन अनुसन्धान गर्न अभिप्रेरित गर्दैन– कार्यकर्ता बनाउन चाहन्छ । कर्मचारीको बीच पुगेर राजनीतिले उनीहरुलाई राष्ट्रसेवा गर्न उत्प्रेरित गर्दैन– कार्यकर्ता बनाउने चेष्टा गर्छ ।

राजनीतिक पार्टीहरुको दस्तावेजमा के छ ? भाषणमा के भन्छन् ? उनीहरुको व्यवहारले यस्ता कुराहरु अर्थहीन बन्ने गरेका छन् । यही यथार्थको धरातलमा कहिलेकाहीं परिवर्तन चाहनेहरु देखापर्छन् । तर, निरुत्साहित हुँदै हराउँछन् । हाम्रो नियति यस्तै छ । यही नियतिको बीचमा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ र मतदाताहरुले स्वतन्त्र उम्मेदवारहरुलाई साथ दिएर परिवर्तनको बिगुल फुकेका छन् । यो हिम्मत गर्ने तमाम मतदाता धन्यवादको पात्र हुनुहुन्छ । भविष्यमा उहाँहरुले सधैं गर्व गर्ने अवस्था बन्न सक्नेछ कि हामीले छानेको बिकल्पले देशमा काम गर्‍यो भनेर।

स्रोत र साधनले धनी भएर पनि नियतिले किन हाम्रो देश पछाडि पर्‍यो ? आजभन्दा ३५–४० वर्षअघिसम्म हाम्रोभन्दा कमजोर अर्थ–राजनीतिक अवस्था भएका मुलुकहरुले विकास र समृद्धिमा शिखर चुमिसक्दा हाम्रो नियति किन खराब बन्यो ? केही भएका छैनन् भन्ने होइन । तर, राजनीतिक परिवर्तन किन देश र जनताको जीवनसँग जोडिँदैन ? राजनीतिभित्र किन एउटै पात्र–प्रवृत्तिको हालिमुहाली छ ? राजनीतिलाई चुनौती सामना गर्ने माध्यम बन्न नदिएर अवसरको रुपमा किन स्थापित गरियो ? जसले गर्दा अब्बल मान्छेहरु राजनीतिबाट बाहिर रहन थाले ? यी प्रश्नहरुको जवाफ खोजेर हामीले परिवर्तनको चाहनालाई अभिव्यक्त गर्ने समय आएको छ । यो पटकको स्थानीय निर्वाचनमा काठमाडौं, धरान र धनगढीले यो सन्देश प्रवाह गरेको छ । भनिन्छ नि, ‘भान्से बिग्रिए एक छाक, किसान बिग्रिए एक वर्ष, शिक्षक बिग्रिए केही जिन्दगी, नेता बिग्रिए एक युग ।’ हामीले हाम्रो विगतको निर्मम समीक्षा गर्ने हो भने हामीले एउटा युग गुमाएका छौं । अब थप गुम्न नदिने गरी सोच्ने समय आएको छ ।

राजनीतिक परिवर्तन किन देश र जनताको जीवनसँग जोडिँदैन ? राजनीतिभित्र किन एउटै पात्र–प्रवृत्तिको हालिमुहाली छ ? राजनीतिलाई चुनौती सामना गर्ने माध्यम बन्न नदिएर अवसरको रुपमा किन स्थापित गरियो ?

यो स्थानीय निर्वाचनपछि देशभरि हेर्ने हो भने केही त्यस्ता जनप्रतिनिधिलाई पाएका छौं, जसले विगतमा राम्रो गर्‍यो । आफूलाई जनताको सेवकको रुपमा उभ्यायो, आफूले गरेका बाचाअनुसार काम गर्यो । नयाँ र त्यसमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा खडा भएर धरानमा फराकिलो संगठन आधार भएका दलहरुभन्दा एक हर्क साम्पाङ हाबी भए, जो एक्लै आफ्नो चुनावी अभियानमा थिए । काठमाडौंमा असंगठित युवाहरुले दिएको सुरुवाती हौसलाको बलमा बालेन शाहले चुनाव जिते । धनगढीमा आफ्नो व्यक्तित्वको बलमा गोपाल हमालले जनाधारको दाबी गर्ने दलहरुलाई पराजित गरे । यी घटनाहरुले युवा पुस्तालाई लोकतन्त्रको तागत महसुस गर्ने मौका दिएको छ भने देशभर नै मतदाताहरुलाई अलि फराकिलो भएर सोच्ने शक्ति दिएको छ ।

निर्वाचन सम्पन्न भएर सुरुवाती गतिविधिहरुको आधारमा मूल्याङ्कन गर्ने हो भने पनि काठमाडौं, धरान र धनगढीले एउटा ऐतिहासिक अवसर प्राप्त गरेको छ– सेवकहरुबाट शासित हुने । आफ्ना चाहनाअनुसार जनप्रतिनिधिको अभिभावकत्व प्राप्त गर्ने । तर हरेक सिक्काका दुई पाटा हुन्छन् । हामीले बाहिरबाट हरेक राम्रा कोसिसहरुमा हौसला दिने र केही अनुचित तरिकाहरु देखिए खबरदारी गर्न भने भुल्नु हुँदैन । यी ३ जना पात्रहरु (प्रतिनिधिमूलक) सफल हुने वा नहुने कुराको गहिरो अर्थ छ ।

नेपाली राजनीतिभित्र सुधार्नु पर्ने विषयको खोजी गरिन्छ कि गरिँदैन ? आफैभित्र सुधारको विश्वासिलो आधार खडा हुन्छ कि हुँदैन ? यो कुरा नियाल्न जरुरी छ । राजनीतिको विकल्प राजनीति नै हो, तर एउटा खराब पार्टीको विकल्प अर्को ‘राम्रो’ पार्टी बन्न सक्छ र बन्नैपर्छ ।

हामी लोकतन्त्रमा छौं, निर्वाचनमार्फत हामीलाई हाम्रो तागत देखाउने मौका मिलिरहन्छ । हाम्रा हरेक निर्णयहरुले हामीलाई हाम्रो आफ्नै भविष्यको सुन्दर यात्रातर्फ बाटो देखाओस् । यति गर्न सकियो भने मतदाताहरुमा आएको सचेतताको तागतले नेपाली राजनीतिभित्र एउटा व्यापक सुधारको अपरिहार्य सुरुवात हुनेछ । हामीलाई चाहिएको पनि त्यही हो । पार्टी कुन, व्यक्ति कुन गौण विषय हुन् । मुख्य कुरा समाजले असल नेतृत्व पाउनुपर्‍यो, देशले सुखद बाटो समात्नु पर्‍यो ।

अबको निकट भविष्यमा हाम्रो माझमा प्रादेशिक र संघीय चुनाव आउँदैछ । स्थानीय निर्वाचनभन्दा ती निर्वाचनहरु हरेक हिसाबले भिन्न हुनेछन् । तर, हामीले हाम्रो परिवर्तनको चाहना कसरी अभिव्यक्त गर्ने मुख्य सवाल त्यही हो । नेपालका राजनीतिक पार्टीहरुको आफ्नै इतिहास छ । इतिहाससँग धेरै सबल पक्षहरु जोडिएका पनि हुन सक्छन् । तर, इतिहासको भारी बोकेर भविष्यको यात्रा सुखद रहन सक्दैन । नेपाली राजनीतिभित्र सुधार्नु पर्ने विषयको खोजी गरिन्छ कि गरिँदैन ? आफैभित्र सुधारको विश्वासिलो आधार खडा हुन्छ कि हुँदैन ? यो कुरा नियाल्न जरुरी छ । राजनीतिको विकल्प राजनीति नै हो, तर एउटा खराब पार्टीको विकल्प अर्को ‘राम्रो’ पार्टी बन्न सक्छ र बन्नैपर्छ । यही मान्यतामा टेकेर बहसलाई जारी राखौं । हामीले आज गर्ने बहसले भोलिको सुखद यात्रा तय गर्न सक्छ भन्ने कुरामा हामीले रत्तिभर शंका गर्नु हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *