बजेट राम्रो आयो तर कार्यान्वयनमा आश्वस्त पार्नुपर्छ : सांसद थापा (भिडिओ) – Nepal Press

बजेट राम्रो आयो तर कार्यान्वयनमा आश्वस्त पार्नुपर्छ : सांसद थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले बजेटको प्राथमिकता र गति सही भएपनि कार्यान्वयन हुनेमा सरकारले आश्वस्त पार्न सक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले बजेटका उद्देश्य र कार्यक्रम सकरात्मक भएपनि स्रोतको सुनिश्चितता कसरी हुन्छ भन्नेमा अर्थमन्त्रीले विश्वस्त बनाउनुपर्ने बताएका हुन् ।

‘स्रोत व्यवस्थान र क्षमता अभिवृद्धिको क्षेत्रमा हामीले के त्यस्तो नयाँ काम गर्दैछौं ? बजेटको आकारबारे हामीलाई कसरी आश्वस्त पार्नुहुन्छ ? अर्थतन्त्र ७ प्रतिशत बढ्दै गर्दा राजस्व संकलन २० प्रतिशतले कसरी बढ्छ ? स्रोत व्यवस्थापन बजेटको मुख्य चुनौती हो’, उनले भने ।

थापाले व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित उत्पादन बढाउने कार्यक्रमलाई प्राथमिकता दिनु बजेटको सकरात्मक पक्ष भएको बताए ।

‘हाम्रो अर्थतन्त्र संकटको चुरो भनेको व्यापार घाटा हो । व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । त्यसले आयातबाट उत्पादनतर्फको प्रष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीज्यूले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ । म यसको स्वागत गर्दछु’, थापाले भने ।

नेपालमा कृषि क्षेत्रमा लगानी र उत्पादकत्व नबढाएसम्म औद्योगिक उत्पादनमा समेत बढोत्तरी नहुने भन्दै थापाले कृषिको सन्दर्भमा बजेटले उपयुक्त दिशा समातेको बताए । आम जनता र निजी क्षेत्रलाई बजेटले आशावादी हुने अवसर दिएको भन्दै उनले पुँजीगत खर्च गर्ने क्षमता बढाउन सरकारले ध्यान दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर