आफ्नै वडामा कार्यालय राख्न खोज्दा तालाबन्दी – Nepal Press

आफ्नै वडामा कार्यालय राख्न खोज्दा तालाबन्दी

सुर्खेत । बराहताल गाउँपालिका- ८ का वडाअध्यक्ष केशर कार्कीले पदबहालीसँगै गरेको पहिलो निर्णय विवादित बनेको छ । जेठ १२ मा उनले वडा कार्यालय आफ्नै वडामा सार्ने निर्णय गरेका थिए । तर, अहिले कार्यालय रहेकै ठाउँ वडाम्बर ५ मा कार्यालय राख्नुपर्ने मागसहित कार्यालयमा तालाबन्दी गरिएको छ ।

पहिलो बैठकमा कार्कीले आफ्नै वडाको दमारेस्थित जनकल्याण सामुदायिक वनको भवनमा अस्थायी कार्यालय सार्ने निर्णय गरेको हो । यो भवनमा ४०० जना क्षमताको हलसहित तीन कोठा र शौचालय छ । उक्त भवन प्रयोग गर्दा भाडासमेत जोगिने भन्दै कार्कीले सो निर्णय गरेका थिए ।

अहिले ५ नम्बर वडाको बड्डीचौरमा मासिक १० हजार तिरेर वडा कार्यालय सञ्चालन भइरहेको छ । यो स्थान गाउँपालिकाका पूर्वअध्यक्ष तेजबहादुर बस्नेतको टोल हो । त्यहाँबाट कार्यालय हटाउने र आफ्नै वडामा कार्यालय सञ्चालन गर्ने निर्णयमा नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट बनेकै कारण पूर्वअध्यक्ष बस्नेतका छोरा मदन बस्नेतको अगुवाइमा मंगलबार बिहान ६ बजे कार्यालयमा ताला लगाइएको स्थानीयले बताएका छन् ।

स्थानीय कमल शाही भन्छन्, ‘हामीलाई पायक पर्ने स्थानमा वडा कार्यालयले गरेको निर्णय ठीक छ । त्यहि कार्यान्वयन भए स्थानीयका लागि राम्रो हुन्छ ।’

वडाअध्यक्ष कार्की भने आफूले गरेको निर्णय जायज रहेको बताउँदै वडा कार्यालयको भाडावापत हुने खर्च जोगाउन यस्तो निर्णय गरेको बताउँछन् ।

‘त्यो निर्णय जनताको पक्षमा गरेको हो । राजनीतिक रंग दिएर समाजलाई विभाजित गर्ने प्रयास हुँदैछ’, उनले भने, ‘हामी वडा पालिकाका सबै जनप्रतिनिधिले गरेको निर्णयमा अडिग छौं । अर्को वडामा कार्यालय सञ्चालन गर्ने कुरा सह्य हुँदैन । वार्षिक भाडावापत खर्च हुने रकम बरु यहाँको बाटोघाटो विद्यालयमा लगाउँछौं ।’

पालिका अध्यक्ष भीम भण्डारीले जनताको पायक पर्ने स्थानमा वडा कार्यालय स्थापना गर्नेगरी समाधान खोज्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर