नेपालको बिजुली उब्रिन थालेपछि भारतलाई बेच्न सुरू, शून्यमा झर्‍यो आयात – Nepal Press

नेपालको बिजुली उब्रिन थालेपछि भारतलाई बेच्न सुरू, शून्यमा झर्‍यो आयात

किन्दा ३८ रूपैयाँ, बेच्दा ६.३ रूपैयाँ !

काठमाडौं । केही दिनअघिसम्म विद्युत अभावले उद्योगहरूमा लोडसेडिङ गर्न बाध्य भएको नेपाल विद्युत प्राधिकरणसँग वर्षा सुरू भए बिजुली छेलोखेलो भएको छ । मागभन्दा बढी उत्पादन हुन थालेपछि भारतमा बिजुली बेच्न सुरू गरिएको प्राधिकरणले जनाएको छ ।

बुधबार राति १२ बजेदेखि प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न थालेको हो । गत वर्षको मे महिनादेखि पाँच महिनासम्म प्राधिकरणले दैनिक २५ मेगावट विद्युत निर्यात गरेको थियो । अहिले ४०० किलोभोल्टको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् विद्युत् निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

बुधबार राति १२ बजेदेखि ३९ मेगावाट विद्युत निर्यात भएको र आयात बन्द रहेको उनको भनाइ छ । भट्टराईका अनुसार हाल नेपालमा १२५० देखि १३०० मेगावाटसम्म विद्युत उत्पादन भइरहेको छ । नेपालमा साँझ-बिहानको समयमा १४३८ मेगावाट विद्युत माग हुने गरेको प्राधिकरणले जानकारी दिएको छ ।

पिक आवरमा माग बढी भए पनि प्राधिकरणमा रहेका विभिन्न रिजर्भवेयरहरूबाट प्राधिकरणले पूर्ति गरिरहेको भट्टराईले बताए । कुनै बेला १६०० मेगावाटसम्म माग हुने गरेको भए पनि निर्यातलाई असर नपर्ने उनको भनाइ छ ।

अहिले प्राधिकरणका आयोजनाबाट ४४० मेगावाट र प्राधिकरणका सहायक कम्पनीबाट ४५७ मेगावाट बिजुली उपलब्ध भैरहेको छ । निजी क्षेत्रका आयोजनाबाट ५०८ मेगावाट बिजुलीले माग पूरा गरिरहेको छ ।

भारतले गत चैतमा नेपालबाट थप ३२६ मेगावाट बिजुली किन्न सहमति जनाएको थियो । प्राधिकरणका अनुसार अहिले नेपालले भारतलाई बेच्ने बिजुलीको औसत मूल्य ६ रूपैयाँ ३० पैसा पर्छ ।

नेपाललाई बिजुलीको अभाव हुँदा अघिल्लो महिना नेपालले चर्को मूल्यमा भारतसँग बिजुली खरिद गरेको थियो । नेपालले प्रतियुनिट ३८ रूपैयाँसम्ममा भारतसँग बिजुली किनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *