आईजीपी सिंह भन्छन्- ब्याच मिच्दिनँ, शक्ति केन्द्र धाउनेको अभिलेख राख्न थालेको छु (भिडिओ)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आफ्नो पालामा ब्याच मिचेर बढुवा नहुने बताएका छन् ।
आईजीपी बनेको एक महिनापछि बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा सिंहले भने, ‘ब्याचभित्रैबाट बढुवा हुन्छ । पछिको ब्याचबाट टिपेर अगाडि बढाइन्नँ ।’
सरकारले १७ महिना जुनियर तपाईंलाई आईजीपी बनायो अब तपाईंको पालामा के हुन्छ ? भन्ने पत्रकारको जिज्ञासामा उनले वरीयताअनुसार नै बढुवा हुने जिकिर गरे ।
आफूलाई सरकारले न्याय गरेको भन्दै आएका सिंहले आफ्नो पालामा सरुवा बढुवा तथा अन्य कार्य सम्पादनमा राजनीतिक प्रभाव नरहने प्रष्टीकरण दिए ।
‘राजनीतिक शक्ति केन्द्र धाउने प्रहरी कर्मचारीको अभिलेख राख्ने काम सुरू भएको छ । मेरो पालामा अब के हुन्छ भन्दा पनि यसको जवाफ तपाईंहरूलाई नै छाडेँ । भोलिका दिनमा देखिहाल्नु हुन्छ’, उनले भने ।
सिंहले प्रहरी प्रमुख फेरिनेवित्तिकै प्राथमिकता परिवर्तन नहुने भन्दै आफ्नो काम विगतकै नेतृत्वले गरेका राम्रा कामहरूको निरन्तरता हुने बताए ।
निर्मला पन्तको बलात्कारपछि हत्याजस्ता सुल्झन बाँकी जघन्य प्रकृतिका घटनाहरूको अनुसन्धानलाई आफूले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।