१७ सय घरधुरीलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क वितरण गर्दै नारायण नगरपालिका – Nepal Press

१७ सय घरधुरीलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क वितरण गर्दै नारायण नगरपालिका

सुर्खेत । दैलेखकाे सदरमुकाम नारायण नगरपालिकाले १७ सय धारामा मासिक पाँच हजार लिटरको दरमा निःशुल्क खानेपानी वितरण गर्ने भएको हो । नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

सदरमुकाममा नारायण नगर साना सहरी खानेपानी आयोजना ‘सहारे’ बाट १७ सयभन्दा बढी घरमा खानेपानीका धारा जडान भइसकेका छन् । पाँच सय धारा जडान हुने क्रममा छन् । सदरमुकामको बाक्लो बस्तीमा जेठको समयमा उक्त आयोजनाबाट प्रतिसेकेण्ड १२ लिटरको दरमा पानी उपलब्ध हुँदै आइरहेको छ ।

‘हामीले गरेको निर्णय साउन १ गतेदेखि लागू हुनेछ । यो निर्णयबाट कम्तिमा १७ सय घरधुरीका जनताले पाँच हजार लिटर पानी निःशुल्क रुपमा पाउनेछन् । यो भनेको प्रतिधारा एक सय पचास रुपैयाँ हो । त्यो पैसा हामी नगरपालिकाले नै तिरिदिन्छौं । पाँच युनिट पानीभन्दा बढी प्रयोग गर्ने घरले भने बढी लाग्ने महसुल बुझाउनुपर्ने हुन्छ ’, नगर प्रमुख शर्माले नेपालप्रेससँग भने, ‘हाम्रो नगरपालिकामा आन्तरिक आम्दानी करिब डेढ करोड हुन्छ । सोही आन्तरिक आम्दानीबाट वार्षिक ३० लाखभन्दा बढी महसुल हामी तिर्छौं ।’

उनले पानीको महसुल महँगो भएको र सर्वसाधारण जनताले सकेसम्म लाभ लिन पाउन भनेर यो निर्णय गरिएको बताए । ‘नगरमा अधिकांश नागरिकको अवस्था कमजोर छ । उहाँहरुले विभिन्न कर तिर्दातिर्दा हैरानी व्यहोर्नुपर्ने अवस्था छ । त्यो अवस्थाबाट मुक्त पार्न हामीले यो योजना ल्याएका हौं । यसबाट कम्तिमा दश हजार नागरिक लाभान्वित हुनेछन् ।’

यसका अतिरिक्त नगरपालिकाले टोल फ्री नम्बरसमेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । ‘टोल फ्री नम्बरमा नगरपालिकाका गुनासा, नगरवासीका समस्या आउने अपेक्षा हाम्रो छ’, उनले भने, ‘ती गुनासा आएको खण्डमा त्यसलाई तदारुकताका साथ सम्बाेधन गर्ने गरी यो व्यवस्था गर्न लागेका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर