भक्तपुर जिल्ला समन्वय समितिको निर्वाचनः नेमकिपाको माग प्रमुख र ३ सदस्य – Nepal Press

भक्तपुर जिल्ला समन्वय समितिको निर्वाचनः नेमकिपाको माग प्रमुख र ३ सदस्य

काठमाडौं । भक्तपुरको जिल्ला समन्वय समिति निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले प्रमुख र तीन सदस्य माग गरेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा निर्णायक देखिएको नेमकिपाले नेपाली कांग्रेस र एमालेसँग उक्त माग गरेको हो ।

चार वटा नगरपालिका रहेको भक्तपुरमा कुनै पनि दलको एकल बहुमत छैन । निर्णायक देखिएको नेमकिपासँग २ मत रहेको छ । उसले भक्तपुर नगरपालिकामा मेयर र उपमेयर जितेको हो । आठ जना मतदाता रहेको जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेकपा एमाले ३, नेपाली कांग्रेससँग २ र माओवादी केन्द्रसँग १ मत रहेका छन् ।

एमालेले सूर्यविनायक नगरपालिकामा मेयर र उपमेयर तथा चाँगुनाराणमा उपमेयर जितेको छ । कांग्रेसले मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा मेयर जित्दा माओवादीले मध्यपुर थिमिमा उपमेयर जितेको हो । सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले मध्यपुर थिमिको स्थानीय तह निर्वाचन र नगर कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गरेको थियो । सोहीअनुसार जिल्ला समन्वय समितिको निर्वाचनमा पनि कांग्रेस र माओवादीको तालमेल जारी रहेको भएको छ ।

जसले गर्दा एमाले र सत्ता गठबन्धनसँग समान ३–३ मत रहँदा २ मत रहेको नेमकिपा निर्णायक देखिएको हो । ‘नेमकिपाले प्रमुख र ३ सदस्य मागेको छ’, नेपाली कांग्रेस भक्तपुरका प्रवक्ता रवीन्द्र प्रधानले नेपालप्रेससँग भने, ‘हामी त्यो दिन पनि तयार छौं । तर, उहाँहरुले अन्तिम निर्णय दिएको छैन ।’

अन्तिम सहमति भए नेमकिपाको माग पूरा गर्न आफूहरुलाई कुनै आपत्ति नभएको उनको भनाइ छ । ‘तर, अन्तिम निर्णय दिनुप¥यो’, प्रवक्ता प्रधानले थपे, ‘मोही माग्ने, ढुंग्रो लुकाउने गर्न भएन ।’

उनले जिल्ला समन्वय समितिको उपप्रमुख लिए बढी सदस्य दिन पनि कांग्रेससहित सत्ता गठबन्धन तयार रहेको जानकारी दिए ।

नेमकिपाको जिल्ला नेतृत्वसँग कांग्रेससँगै नेकपा एमालेले पनि छलफल गरिरहेको छ । तर, नेमकिपाले एमालेलाई पनि अन्तिम निर्णय दिएको छैन । उसले एमालेसँग पनि प्रमुख र केही सदस्य मागेको छ ।

‘सबै विकल्पमा एमाले खुला छ’, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले नेपालप्रेससँग भने, ‘छलफल भएको भएयै छ । तर, टुंगोमा पुगेको छैन ।’

नेमकिपाले अन्तिम निर्णय नदिँदा कांग्रेस-एमालेमा अन्योल देखिएको छ । उनीहरु आआफ्नो उम्मेदवारी दिएर गोलाप्रथामार्फत आआफ्ना उम्मेदवारको भाग्य जाँच्ने पक्षमा पनि पुगेका छन् । तर, कसकसलाई उम्मेदवार बनाउने भन्नेबारे उनीहरुले कुनै निर्णय गरेका छैनन् ।

यसले गर्दा उनीहरुले जिल्ला समन्वय समितिमा पठाउने जनप्रतिनिधिहरुको टुंगोसमेत लगाउन सकेका छैनन् । दलहरुबीच सहमति नभई अहिल्यै उम्मेदवार टुंग्याउँदा फिर्ता लिन समस्या हुने उनीहरुको भनाइ छ ।

‘हामीले पदमा सहमति खोजिरहेका छौं’, कांग्रेस प्रवक्ता प्रधानले भने, ‘त्यसैले पात्रबारे कुनै निर्णयमा पुगेका छैनौं ।’

यता नेमकिपाको भक्तपुर जिल्ला नेतृत्वले भने आफूहरु आन्तरिक छलफलमा रहेको जनाएको छ । पार्टी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी पक्षधर दलहरुसँग निर्वाचन वा आन्दोलन कुनैमा सहकार्य एवं तालमेल नगर्न निर्देशन दिएकाले अहिल्यै निर्णय गर्न समस्या भएको उनले बताए ।

कांग्रेसले भने चाँगुनारायण नगरपालिकाको कार्यपालिका निर्वाचनमा सहकार्य भएकाले जिल्ला समन्वय समितिमा पनि तालमेल गरेर जाँदा उत्तम हुने बताएको छ । चाँगुनारायण नगरपालिकामा कांग्रेससँग तालमेल गरेर नेमकिपाले ३ जना कार्यपालिका सदस्य जितेको छ ।

दलहरुले सहमति नगरे पनि भक्तपुरको प्रमुख निर्वाचन अधिकृतले जिल्ला समन्वय समितिको निर्वाचन तालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलका अनुसार जेठ २३ गते उम्मेदवारी मनोनयन रहेको छ । जेठ २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी २६ गते निर्वाचन चिन्ह दिने र २८ गते मतदानको कार्यक्रम रहेको उनले जानकारी दिए ।

जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख र सात सदस्य गरी नौ सदस्यीय हुने व्यवस्था छ । जसमा एक दलित महिला अनिवार्य रहेको छ । एकै दलबाट उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमध्ये एक महिला पनि अनिवार्य गरिएको छ । यसअघि जिससमा एमालेको एकल बहुमत थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर