काठमाडौं हारेको विषयमा के भन्छन् गगन, प्रकाशमान र सिर्जना ? – Nepal Press

काठमाडौं हारेको विषयमा के भन्छन् गगन, प्रकाशमान र सिर्जना ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले औपचारिक रूपमा चुनावी समीक्षा गरेको छैन ।

५ दलीय गठबन्धनमा भएको तालमेलको लाभ लिएर पहिलो पार्टी बनेपनि कांग्रेसले काठमाडौं, धनगढी, तुल्सीपुर लगायतका महत्त्वपूर्ण स्थानहरू गुमाएको छ ।

जितेकामध्ये ६० प्रतिशत तह एक्लै जितेको भए पनि कांग्रेसको शीर्ष नेतृत्व चुनावी तालमेललाई निरन्तरता दिने पक्षमा छ ।

विराटनगर र ललितपुर महानगरमा जित हासिल गरेको कांग्रेसले देशको राजधानी सहर काठमाडौंमा भने हार व्यहोर्यो । ३२ मध्ये १९ वडामा अध्यक्ष र बहुमत सदस्यहरू जितेको कांग्रेसले मेयर भने जित्न सकेन ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको जितका कारण काठमाडौंमा बहुमत भएर पनि कांग्रेसको ‘मनोबल’ बढ्न सकेको छैन । यसै सन्दर्भमा कांग्रेसको काठमाडौं महानगर समितिले बिहीबार महानगरका निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान र शुभकामना कार्यक्रम राख्यो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले काठमाडौंमा चुनाव हार्नुका कारण र अबको रणनीतिबारे चर्चा गरेका छन् ।

यहाँ हामीले कांग्रेस महामन्त्री गगन थापा, पूर्व महामन्त्री प्रकाशमान सिंह र काठमाडौँको मेयरकी उपविजेता सिर्जना सिंहले सो कार्यक्रममा व्यक्त गरेका धारणा जस्ताको तस्तै प्रस्तुत गरेका छौँ ।

गगन थापा- अबको चुनावमा कांग्रेसमै भोट दिनेगरी राम्रो काम गरौं 

मतदान गर्ने सबैलाई धन्यवाद । काठमाडौंबासीले सिर्जनात्मक कामको अपेक्षा गरेका छन् । कांग्रेसबाट जितेका जनप्रतिनिधिले नियमित कामसँगै जनताले अनुभूति गर्ने गरी विशेष कामहरू गर्नुपर्नेछ ।

कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । हामीले निर्वाचनबाट आएको परिणामलाई स्वीकार गर्छौ । जनमतलाई कदर गरेर कांग्रेस अगाडि बढ्नुपर्छ ।

सिर्जना सिंहको नेतृत्वमा हामीले अघि सारेका एजेण्डाहरु हामीले जितेका वडाहरूमार्फत कार्यान्वयन गर्न हाम्रो सामूहिक प्रयास हुनुपर्छ । हाम्रो महानगरको उम्मेदवारसँगै हामी हिँडेको हो । उम्मेदवारबारे अहिले कुरा उठाउनु अनुपयुक्त हुन्छ । यो परिणामलाई हामीले स्वीकार्नुपर्छ ।

बहुसंख्यक ठाउँमा अघिल्लो पटक निर्वाचित भएको पार्टी हारेको छ । देशभरीको मतदाताहरू रिसाएका छन् । नागरिकहरू राजनीतिक दलसँग, नेतासँग, हामी सबैसँग रिसाएका छन् । हामीले हाम्रो काम गर्ने शैली बदल्नुपर्नेछ । जनताले अनुभूति गर्ने गरी कामहरू गर्न म निर्वाचित साथीहरूलाई अनुरोध गर्दछु ।

काठमाडौंको आफ्नो विशेषता छ । राजधानी भएकोले दल, नेता र प्रणालीविरुद्धको आक्रोश काठमाडौंमै सबैभन्दा छिटो व्यक्त हुन्छ । डडेल्धुरा र झापाले कम चिन्ता गरे पनि हुने रहेछ । काठमाडौंमा रहेकाले चैँ अलिकति फरक ढंगले सोच्न जरुरी रहेछ । नयाँ विचार वा नयाँ पार्टीको टार्गेट सबैभन्दा पहिले काठमाडौंमा हुँदो रहेछ । हाम्रो काम गर्ने तरिका बदल्नुपर्ने रहेछ ।

त्यसैले अब अर्को निर्वाचनसम्म कांग्रेसलाई मत दिनु नै सही निर्णय हो भन्ने गरी हामीले काम गर्नुपर्छ । पार्टीका आन्तरिक विषयमा खुल्ला कार्यक्रममा भन्दा आन्तरिक छलफलमा समीक्षा गरौँ । कमजोरी सुधारेर अगाडि बढौँ ।

प्रकाशमान सिंह – हारजित ठूलो कुरा होइन, सिस्टम महत्त्वपूर्ण हो 

स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी भएको छ । पहिलो पार्टी भएकोले कांग्रेसले जिम्मेवारी बिर्सनु हुँदैन । जितको उन्मादमा नरमाउनुहोला, जनताको काम गर्नुहोला ।

चुनाव भनेको जित्नको लागि नै लड्ने हो । हाम्रो उम्मेदवारलाई जिताउन हामीले प्रयास गरेकै हो । १९ वटा वडामा अध्यक्ष र सदस्यहरू धेरै जितेका छौँ । तर गठबन्धनको मेयर र उपमेयरलाई जिताउन सकिएन । यसका कमजोरीहरू पत्ता लगाएर छानबिन गर्नुपर्छ ।

महानगरपालिकाको क्याबिनेट भनेको त कार्यपालिका हो नि । नीति र कार्यक्रम बनाउने कार्यकारी थलो हो नि । त्यो कार्यकारी बैठकलाई कत्तिको गोपनीय राख्नुपर्छ भन्ने त कमनसेन्स हुनुपर्छ नि । पार्लियामेन्ट भनेजस्तै महानगरको नगरसभा हुन्छ । संघ र प्रदेशको संसद् पनि प्रत्यक्ष प्रसारण हुन्छ । तर सबै कुराको ‘नम्स’ त हुन्छ नि । क्रान्तिकारीको नाममा नम्सहरु तोडेर जाँदा के परिणाम आउँछ भन्ने कुरा वडा अध्यक्षहरूले विश्लेषण गर्नुपर्छ ।

‘सिर्जनाका सात स’ भन्ने जुन हाम्रो स्थानीय घोषणापत्र थियो । त्यसलाई कार्यान्वयन गर्न पहल गरौँ । हाम्रो चैँ कस्तो बानी छ भने मेयरले प्रस्तुत गरेको एजेण्डामा चुप लागेर टाउको हल्लाएर बसेर भएन नि । हामीले पनि राम्रो एजेण्डा लानुपर्‍यो नि ।

जनताले स्वतन्त्र उम्मेदवारलाई जिताएका छन् । त्यो जितपनि बहुदलीय व्यवस्थाकै विधिभित्रको जित हो नि । त्यसलाई सकारात्मक रूपले नै लिनुपर्छ । कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरूले पार्टीको घोषणापत्र अनुसार काम गर्नुपर्‍यो । जनताको म्याण्डेटलाई हामी मान्छौँ । मान्नैपर्छ त्यसलाई । तर समय बित्दै गएपछि को कति स्वतन्त्र छ भन्ने कुराको पर्दा खुल्दै जान्छ ।

मैले १ नम्बर क्षेत्रको निर्वाचनमा भोगेकै हुँ । पपुलर भएर आउँदैमा राजनीतिमा सजिलो छैन । चुनाव भनेको हार्न पनि सकिन्छ, जित्नपनि सकिन्छ । मुख्य कुरा त सिस्टम हो नि । सिस्टम र संविधानका उपलब्धि चैँ हामीले जोगाउनुपर्छ ।

जित्न नसक्नेहरू पनि हार नखानुहोला । २०४८ को निर्वाचनमा म पनि हारे, मंगलादेवी नि हार्नुभयो, किसुनजीपनि हार्नुभयो । एउटा निर्वाचन हार्दैमा खत्तम हुन्छ भन्ने छैन । ४८ मा नि हारेको ५१ मा नि हारेको हो तर अहिलेसम्म राजनीतिमा टिकेकै छु नि ।

सिर्जना सिंह – कांग्रेसलाई काम गरेर देखाउने अवसर आएको छ,  मैले हारलाई सामान्य रूपमा लिएको छु 

चुनावमा जाँदा हार पनि हुन्छ, जितपनि हुन्छ । पार्टीले मलाई उम्मेदवार बनायो, मलाई हारेको महसुस भएको छैन । काठमाडौंबासीको सेवाका लागि हारेर पनि म तत्पर रहनेछु ।

पहिला कांग्रेसले १४ वडा जितेको थियो अहिले हामीले १९ वडा जितेका छौँ । अहिले हामी निर्णय गर्न सक्ने हैसियतमा पुगेका छौँ । हामीले राम्रो काम गर्नुपर्नेछ ।

हाम्रो पार्टीको केन्द्रीय घोषणापत्र र काठमाडौंमा मैले अघि सारेको ७ संकल्पलाई अगाडि बढाइदिनुहुन अनुरोध गर्दछु । चुनाव हारे पनि मेरो संकल्पले हारेको छैन । आफूले अगाडि सारेका योजनाहरू कार्यान्वयन गराउन पदमा नभए पनि म भूमिका निर्वाह गर्नेछु ।

चुनाव जितेका साथीहरूले राम्रो काम गरेर जनताको मन जित्नुहोला । चुनाव हारेका साथीहरूले पनि हरेस नखानुहोला । निर्वाचनमा हारजित सामान्य कुरा हो ।

मुख्य कुरा जनताको सेवा हो । काठमाडौंबासीको सेवा गर्न हारले हामीलाई वञ्चित गर्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर