मूल्यवृद्धि कम गर्न भीम रावलले संसदमा प्रस्तुत गरे चार उपाय – Nepal Press

मूल्यवृद्धि कम गर्न भीम रावलले संसदमा प्रस्तुत गरे चार उपाय

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद भीम रावलले दैलेखमा पेट्रोलियम पदार्थको उत्पादनको काम तीव्र पार्नुपर्ने बताएका छन् ।

मूल्यवृद्धिका विषयमा नेकपा एमालेका सांसदहरूले आज प्रतिनिधिसभामा पेस गरेको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रावलले यस्तो बताएका हुन् ।

मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले चाल्नुपर्ने विभिन्न ४ उपायका विषयमा धारणा राख्दै उनले पहिलोमा दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनको काम सरकारले तीव्र रुपमा अगाडि बढाउनुपर्ने धारणा राखे ।

यस्तै उनले पञ्चायतकालमा पनि खुला बजारबाट कच्चा तेल ल्याएर भारतमा प्रशोधन गरेर नेपालले सह-उत्पादनको कामसमेत गर्ने गरिएको बताउँदै अहिले पनि सरकारले त्यसै गर्नुपर्ने बताए । ‘तत्कालै खुला बजारबाट कहाँ सस्तो पाइन्छ त्यहाँबाट ल्याउन सरकारले तत्काल प्रयास थालोस्’, उनले भने । त्यसले एउटा देशमाथि निर्भरता हट्ने उनले बताए ।

सांसद रावलले अर्को उपायका रुपमा विद्युत उपयोगको लागि इन्डक्सन चुलो बाड्नेभन्दा पनि अहिले जहाँ जहाँ विद्युतको उपभोग भइरहेको छ, त्यहाँ विद्युत उपयोगमा सहुलियत दिएर मानिसहरू विद्युत उपयोगतिर जाऊन् भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने बताए ।

यस्तै खुला सिमानालाई अन्तर्राष्ट्रिय कानुनबमोजिम नियमन गर्नुपर्ने अर्को उपाय रहेको सांसद रावलले बताए । उनले भने, ‘जसले गर्दा हामीले अनावश्यक बाह्य मूल्यका चापहरूलाई झेल्नुपर्ने स्थिति नहोस् । त्यसका लागि सरकारले तुरुन्तै ध्यान देओस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर