पल शाह सर्वोच्च अदालत नजाने, जिल्लामा फैसला कहिले ? – Nepal Press

पल शाह सर्वोच्च अदालत नजाने, जिल्लामा फैसला कहिले ?

काठमाडौं । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पोखराले पनि सदर गरेपछि जबर्जस्ती करणीका आरोपी अभिनेता पल शाहले अब फैसला कुर्ने भएका छन् ।

जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जान सकिने व्यवस्था रहे पनि समय लाग्ने भएपछि अब फैसला नै कुर्ने निर्णय भएको शाहका कानून व्यवसायी कमलामोहन वाग्लेले बताए ।

‘सर्वोच्च अदालत जाँदा त्यहाँ धेरै समय लाग्ने देखियो । फेरी सर्वोच्चमा हालेपछि जिल्लाको फैसला पनि अड्किन्छ । त्यसैले हामी फैसलामै केन्द्रित हुने तयारीमा छौँ,’ कानून व्यवसायी वाग्लेले भने ।

एक नाबालिग गायिकाले बलात्कारको आरोप लगाएपछि गत फागुन १५ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका शाहलाई त्यहाँको जिल्ला अदालतले चैत ११ गते मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

पीडित भनिएकी नाबालिगले पूर्वी नवलपरासी प्रहरीमा पनि जाहेरी दिएकामा त्यहाँको अदालतले पनि शाहलाई थुनामा पठाउने आदेश गरेको थियो । दुवै अदालतमा पीडित र जाहेरवालाले बयान फेरेपछि शाह छुट्न सक्नेमा उनका कानून व्यवसायीहरू आशावादी देखिएका थिए ।

उच्च अदालत पोखराका न्यायाधीशहरू उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतले नै टेकेका आधारहरूलाई टेक्दै आदेश सदर भएको जनाएको छ । अदालतमा पीडित भनिएकी युवती र जाहेरवालाले बयानलाई इजलासले बेवास्ता गर्दै त्यसलाई फैसलाकै क्रममा हेरिनुपर्ने आदेशमा उल्लेख गरेको छ ।

वाग्लेकाअनुसार अदालतमा प्रमाण बुझ्ने कामअन्तर्गत पूर्वी नवलपरासी अदालतमा एक जना चिकित्सक र एक जना मौकामा कागज गर्ने व्यक्तिको मात्र बकपत्र हुन बाँकी छ । त्यसका लागि जेठ ३१ गते पेशी तोकिएको छ । यस्तै तनहुँ जिल्ला अदालतमा एक जना डाक्टर र मौकामा कागज गर्ने १४ जनाको बकपत्र हुन बाँकी छ । बकपत्रका लागि जेठ २३ गतेलाई पेशी तोकिएको छ ।

‘बकपत्रको काम सकिएपछि फैसलाका लागि सबै अंग पुग्छ । हामीले बढीमा असारभित्र फैसला आउने अपेक्षा गरेका छौँ,’ वाग्लेले भने ।

उनले तनहुँ जिल्ला अदालत र पूर्वी नवलपरासी जिल्ला अदालतमा छुट्टाछुट्टै सुनुवाइ हुने बताए । दुवै घटनामा सरकारी वकिलले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर