रोल्पा कारागारमा मृत्यु भएको घटनाबारे मानव अधिकार आयोगबाट अनुसन्धान सुरू – Nepal Press

रोल्पा कारागारमा मृत्यु भएको घटनाबारे मानव अधिकार आयोगबाट अनुसन्धान सुरू

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका २ बाँकेका सुन्दर हरिजन मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा जेठ ४ गते मृत्यु भएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाउँदै आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि अनुसन्धान सुरु गरेको जनाएको हो ।

उक्त घटनालाई आयोगले गम्भीर रूपमा लिई गत जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिनुका साथै नेपाल सरकारलगायत सम्बद्ध निकायबाट भइरहेका कार्यको नजिकबाट अनुगमन गरिरहेको आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले जानकारी दिए ।

उनका अनुसार मोबाइल चोरीको आरोपमा नाबालक अवस्थामा कारागार चलान गरिएका हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेको अवस्थामा आत्महत्या गरेको जानकारी आयोगलाई प्राप्त भएको छ ।

यस प्रकारको गम्भीर प्रकृतिको घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । साथै आयोगले आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरण सुनिश्चित गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन सरकारको ध्यनाकर्षण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर