संसद् बैठकमा अंग्रेजी शब्द फड्कार्न नसक्दा सभामुख बने ट्रोलको सिकार (भिडिओ) – Nepal Press

संसद् बैठकमा अंग्रेजी शब्द फड्कार्न नसक्दा सभामुख बने ट्रोलको सिकार (भिडिओ)

काठमाडौं । नेपालका नेताहरूलाई अंग्रेजी भाषाले दुख दिनु नयाँ प्रसङ्ग होइन । धेरै नेताहरू अंग्रेजी राम्ररी बोल्न नजाँदा ट्रोलको सिकार बनेका छन् । सबैभन्दा पछिल्लो ‘पीडित’ हुन् सभामुख अग्नि सापकोटा ।

हिजोको संसद् बैठकमा सभामुख सापकोटाले एउटा अंग्रेजी शब्द फड्कार्न निकै संघर्ष गरे ।

बजेटसम्बन्धी छलफल गर्न डाकिएको बैठकको सुरुवातमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । पत्र थियो, कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवको भारत भ्रमण सम्बन्धी । पत्रको ब्यहोरामा केही अंग्रेजी शब्द यस्ता थिए, ‘…मन्त्री यादव भारतको नयाँ दिल्ली तथा उडिसा भुवनेश्वरमा आयोजना हुने high level study mission to India on right to food and sovereignty act कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हुँदा…’

नेपाली शब्दहरू उनले खरर पढे, तर, अंग्रेजी शब्द आएपछि सभामुखलाई सकस पर्‍यो । खास गरी एउटा शब्दले उनलाई हैरानी दिएको थियो–सोभरेन्टी । उनले चौथो प्रयासमा यो शब्द सफलतापूर्वक फड्कार्न सके ।

अहिले संसद् बैठकहरू सबै लाइभ हुने गर्छन् । त्यसैले उनले अंग्रेजी शब्द उच्चारण गर्न नसकेको भिडिओ भाइरल हुने निश्चित थियो र भयो पनि । धेरैले उनीमाथि अनेक मजाक गरेका छन् । कतिपयले सहानुभूति पनि दर्साएका छन् ।

भन्ने गरिन्छ, अंग्रेजी नजान्दैमा कोही सानो हुने होइन । तर, के गर्नु, व्यवहारमा कहिलेकाहीँ अंग्रेजीले आपत् नै पारिदिन्छ । अझ, उच्च पदस्थहरूले अंग्रेजी नजान्दा बारम्बार लाजमर्दो अवस्थाको सामना गर्नुपर्छ ।

सभामुख सापकोटा अनपढ नेता भने होइनन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन् । लामो समय विद्यालयमा शिक्षकको जागिर पनि खाएका थिए ।

माओवादी द्वन्द्वमा सहभागी हुनुअघि उनी स्कुलमा हेडमास्टर थिए । जिल्लावासीले उनलाई ‘अग्नीसर’ पनि भन्ने गर्छन् । उनले विगतमा दुई पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।


प्रतिक्रिया

One thought on “संसद् बैठकमा अंग्रेजी शब्द फड्कार्न नसक्दा सभामुख बने ट्रोलको सिकार (भिडिओ)

  1. अङ्ग्रेजी नजान्नु लाई मूर्ख भनिदैन र मानिन्दैन तर नजानी नजानी पनि अङ्ग्रेजी बोल्नु वा गलत उच्चारण गरेर बोल्नु चाहिँ मुर्खता हो ! सभामुख महोदय राजनैतीक व्यक्तित्व र शिक्षक भै सक्नु भयको अझ स्नातक सम्म अध्यन गर्नु भयको मानिसले अनुभवको आधारमा भय पनि त्यो शब्द Sovereignty =सोभ्रेन्टी ,उच्चारण गर्नु चै सक्नु पर्ने हो अथवा त्यो शब्द को उच्चारण नेपाली शब्द मा ( सोभ्रेन्टी) नै लेखिदिनु भयको राम्रो हुने थियो वहाको मजाक पनि हुने थियन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर