भोट हाल्न खोटाङ हिँडेकी वृद्धाको बाटैमा हत्या, नातिविरुद्ध जाहेरी
खोटाङ । मतदानका लागि सहरबाट गाउँ लैजाने क्रममा हजुरमाको बाटैमा हत्या गरेको भन्दै नातिविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ ।
खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भई हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दै आएकी ७७ वर्षकी तुलसा खड्कालाई मतदान गर्नका लागि गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको भन्दै विरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी मुद्दा दर्ता भएको हो।
अभियुक्तविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै वृद्धा गत २६ वैशाखमा नातिसँग सुनसरीबाट खोटाङतर्फ हिँडेकी थिइन् । प्रहरीका अनुसार उनको बुधवार मात्र सनाखत भएको हो । गाउँ हिँडेकै दिनदेखि वृद्धा बेपत्ता बनेको भतिजेनी लक्ष्मी खड्काले बताइन् ।
वृद्धाको शव ३१ वैशाखमा खोटाङको बराह पोखरी गाउँपालिका–५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोस्टमार्टम गरेको थियो । तर पोस्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद गरिएको थियो ।
दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरिएको लक्ष्मी बताउँछिन् । ‘गत वर्ष डेण्टलमा लगेर ठुलीआमाको दाँत हालिदिएको थिएँ । उहाँले रातो पारी भएको पहेँलो साडी र राधे लेखिएको गेरु रंगको कपडा ओढ्नु भएको थियो,’ उनले भनिन्, ‘शव सडेर नचिनिने अवस्थामा भए पनि यही प्रमाणको आधारमा पहिचान गरेका हौँ । म घरमा नभएको बेला कोठाबाट हिँडाएछ । बेलुका घर आएर फोन गर्दा तीन घण्टी गयो र फोन काटियो ।’
पारिवारिक बेमेल र हिंसा पीडित वृद्धालाई लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिइन् ।
सहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि उम्मेदवारहरूले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई त्यस्तै प्रायोजित गाडीमार्फत मतदान गर्न जान र फर्कन सुझाएका थिए । तर आफू बिहेमा गएको बेलामा वृद्धालाई मतदान गर्न गाउँ लैजाने बाहनामा बेपत्ता पारिएको लक्ष्मीको दाबी छ ।
मतदान गर्न जाने क्रममा सँगै रहेका वृद्धा बेपत्ता भएपछि आफन्तले नातिलाई शंकास्पद नजरले हेरेका थिए । वृद्धाको बारेमा सोधखोज गर्दा उनले ‘आफन्तकोमा इन्डिया गएको र महिना दिनपछि आउने’ जवाफ दिने गरेका थिए । घटना थप शंकास्पद बन्दै गएपछि लक्ष्मीले ठुलीआमाको हत्या भएको र हत्यामा नातिकै संलग्नता रहेको सामाजिक सञ्जालमार्फत लाइभ बसेर दाबी गरेकी थिइन् ।
गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्क विहीन बनेको लक्ष्मी बताउँछिन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए ।
न्यूज कारखाना