वडाध्यक्ष हारेका मुस्लिम नेता कार्यपालिका सदस्य बन्न रातारात यसरी बने दलित – Nepal Press

वडाध्यक्ष हारेका मुस्लिम नेता कार्यपालिका सदस्य बन्न रातारात यसरी बने दलित

रौतहट । रौतहटको गुजरा नगरपालिकामा वडाध्यक्ष पराजित भएका एक जना मुस्लिम समुदायका नेताले कार्यपालिका सदस्यको निर्वाचन लड्नकै लागि आफूलाई दलित सिफारिस गराएको खुलासा भएको छ ।

गुजरा नगरपालिका वडा नम्बर पाँचका पूर्व वडा अध्यक्ष मोहमद अरिफ मियाँले यस पटक सोही वडाको अध्यक्षमा पराजित भएका थिए । यस पटक तेस्रो भएका उनले नव निर्वाचित वडा अध्यक्ष शेख जमालुद्दिनको सिफारिसमा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट दलित प्रमाणित गरेका हुन् ।

उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट पुनः उम्मेदवार बन्दा पराजित भएका थिए । मुस्लिमलाई दलित सिफारिस गरेको उजुरी परे पनि उनको उम्मेदवारीको वैधानिकतामाथि मात्र प्रश्न उठेको छैन, दलित सिफारिस गर्ने नवनिर्वाचित वडाध्यक्षको पद समेत धरापमा परेको छ ।

गुजरा नगरपालिकाका निर्वाचन अधिकृत बद्रीनारायण शर्माले उजुरी आएको पुष्टि गरे पनि उम्मेदवारी बदर गर्ने अधिकार भने आफूसँग नरहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले निर्वाचन आयोगमा पठाइएको भन्दै इलाका प्रशासनले वडाबाट सिफारिस आएको जानकारी आफूलाई दिएको बताए ।

के भन्छन् प्रमुख निर्वाचन आयुक्त ?

निर्वाचन आयोगले ऐन र निर्देशिका अनुसार निर्णय गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको जनाएको छ । स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन, २०७३ र गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन, २०७८ अनुसार निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताए ।

थपलियाले नेपाल प्रेससँग यसो भने

‘यस विषयमा ऐन र निर्देशिकामा स्पष्ट व्यवस्था छ । ऐन तथा निर्देशिकामा नै उम्मेदवारी दिने व्यक्ति के हुन भनेर प्रमाणित गर्ने निकायको निस्साको आधारमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था छ । यत्तिकै निर्वाचन अधिकृतको कार्यालयले पनि छुट्याउन सक्दैन । स्थानीय तह र स्थानीय प्रशासन कार्यालयले गलत निस्सा दिन्छ भनेर भनेर हामीले अनुमान गर्न पनि सक्दैनौँ । दियो भने ती निकाय नै जिम्मेवार हुन्छन् । निस्सा अनुसार नै मनोनयन पत्र दर्ता हुन्छ र सदर हुन्छ । यसको निर्णय गर्ने अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई हुन्छ । हामीले पनि कानूनविपरीत छ भने मात्र हेरफेर गर्ने हो । निर्वाचन अधिकृतको कार्यालयले पठाएको पत्र प्राप्त गर्नासाथ ऐन र निर्देशिकाको व्यवस्था अनुसार गर्नु भनेर पत्राचार गरिसकेका छौ । निवेदन ठिक हो वा उजुरी ठिक हो, जुन ठिक हो त्यसै अनुसार निर्णय हुन्छ । हामीले त्यसरी नै लेखेर पठाइसकेका छौ ।’

वडाध्यक्ष भन्छन्– गल्ती भयो,यति बुझ्नुस्

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई दलित प्रमाणित गरि दिनका लागि सिफारिस गर्ने गुजरा नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष शेख जमालदिनले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् ।

मुस्लिम समुदायको व्यक्तिलाई कसरी दलित भनेर सिफारिस गर्नुभयो भन्ने नेपाल प्रेसको प्रश्नमा उनले आफ्नो गल्ती भएको स्वीकार गरेका हुन् ।

उनले भने, ‘गल्ती भयो सर । यति बुझ्नुस् न । अरू म के भनौँ । वडा सचिवले मलाई हस्ताक्षर गर्न भन्नुभयो । मैले खासै ध्यान नदिएरै हस्ताक्षर गरेँ । मेरो कमजोरी भयो ।’

कागज थुत्छौँ–इलाका प्रशासन

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर रौतहटले भने वडा कार्यालयको सिफारिस अनुसार दलित प्रमाणित गरेको जनाएको छ । कार्यालय प्रमुख गणेश नेपालीका अनुसार वडा अध्यक्षले गरेको सिफारिस अनुसार नै प्रशासनले प्रमाणित गर्ने भएकाले त्यसमा वडा अध्यक्ष र स्वयम व्यक्तिले जानाजान सिफारिस गरेकोले यस्तो हुन पुगेको बताए ।

उनले भने, ‘पहिलो कुरा जो व्यक्तिले दलित प्रमाणित गराए उनी नै पूर्व वडा अध्यक्ष भएको हुनाले उनले जानाजान यो काम गरे । दोस्रोमा स्थानीय तहमा निर्वाचित वडा अध्यक्षले पनि आफ्नो वडाको मान्छे मुस्लिम हो भन्ने थाहा हुँदा हुँदै पनि दलित भनेर सिफारिस गरिदिए । इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले वडा कार्यालयबाट आएको सिफारिस भएकै आधारमा दलित प्रमाणित गरिदिए ।’

कार्यालय प्रमुख नेपालीले यस बारेमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि मात्र आफूलाई जानकारी भएको उनले बताए । जानकारी पाउने बित्तिकै सम्बन्धित व्यक्तिलाई उक्त प्रमाणित कागज ल्याएर तुरुन्त आउन निर्देशन दिइसकेको उनको भनाई छ ।

उनले भने, ‘नवीन रेग्मी भन्ने हाम्रो शाखा अधिकृतले प्रमाणित गर्नुभएको रहेछ । उहाँले वडा अध्यक्षले नै सिफारिस गरेको आधारमा प्रमाणित गरिदिनुभयो । मिया दर्जी भनेको हुनाले दर्जी भनेको दलित हो भन्ने नै लागेर उहाँले गर्नुभयो । पछि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि मात्र मैले जानकारी पाएँ । जानकारी पाउने बित्तिकै मैले ती व्यक्तिलाई सम्पर्क गरेर तुरुन्त दलित प्रमाणित कागज ल्याएर आउन भनेको छु । उनी चितवन गएको हुनाले सोमबार आउँछु भनेको छन् । त्यो कागज हामीले थुत्छौ र आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछौ ।’

के भन्छ दलित आयोग ?

दलितको थर सूचीकरण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय दलित आयोगले मिया दर्जी दलित समुदाय भित्र नपरेको जनाएको छ । आयोगले गरेको थर सूचीकरणमा पनि मिया दर्जी भन्ने कुनै पनि थर सूचीकरण भएको देखिँदैन ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले यस विषयमा आयोगलाई जानकारी आइसकेको हुनाले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने नेपाल प्रेससँग बताए ।

उनले भने, ‘एक जना पास्वान थरको व्यक्तिले हामीलाई फोन गरेर मिया दर्जी थरको व्यक्तिले दलित भनेर कार्यपालिका सदस्यका लागि उम्मेदवारी दिएको भनेर जानकारी गराउनुभयो । लगत्तै हामीले सूचीकरण थरमा हेर्यौ कतै पनि उक्त थर फेला पारेनौ । सोमबार हामी आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछौ ।’

सिडिओ भन्छन्–कारबाही हुन्छ

जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीय प्रशासनको कमजोरी देखिए आवश्यक कारबाही हुने जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार स्थानीय निकायबाट सिफारिस आए पनि स्थानीय प्रशासनले राम्रोसँग नहेरी प्रमाणित गरेको भेटिए सम्बन्धित कर्मचारीलाई कारबाही हुने नेपाल प्रेससँग बताए ।

उनले भने,– ‘स्थानीय पालिकाले गरेको सिफारिसलाई नै पूर्ण आधार मानिहाल्नुपर्छ भन्ने हुँदैन । जे सिफारिस आयो त्यसैका आधारमा प्रमाणित गरेको हो भनेर उम्किन मिल्दैन । मैले इलाका प्रशासन कार्यालयका प्रमुखलाई यस बारेमा सोधपुछ गरेको थिएँ । उहाँले म कहाँ यो कुरा नआएरै प्रमाणित भयो भन्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालय पनि उजुरी परिसकेको हुनाले पहिले त्यसको निर्णय कुर्छौ त्यसपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछौ ।’

कसरी भयो किर्ते सिफारिस ?

गुजरा नगरपालिकाको अन्तिम मत परिणाम अनुसार वडा नम्बर ५ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार शेख जमालुदिन निर्वाचित भए । पूर्व वडा अध्यक्ष रहेका मिया ३ सय ७८ मत प्राप्त गरेर चौथो नम्बरमा आए । त्यसैको झोकमा उनले वडा कार्यालयमा आफू दलित भएको भन्दै दलित प्रमाणित गरिदिन वडा कार्यालयमा निवेदन दिए ।

उनी मुस्लिम समुदायको हुँदा हुँदै पनि भर्खरै स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्ष शेख जमालुदिनले मियालाई दलित प्रमाणित गरिदिए । त्यसैको फाइदा उठाउँदै मियाले दलितको तर्फबाट नगर कार्यपालिका सदस्यका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिए ।

मुस्लिम समुदायको व्यक्ति भएर पनि दलित समुदायको भएको भन्दै कागज बनाएर नगर कार्यपालिका सदस्यमा उम्मेदवारी परेपछि उनी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पर्‍यो । निर्वाचन अधिकृतको कार्यालय उजुरी परेका आधारमा उम्मेदवारी रद्द गर्न नसक्ने भएकाले उसले निर्वाचन आयोगलाई नै निर्णय गर्नका लागि पत्राचार गर्‍यो ।

निर्वाचन आयोगले भने पत्र प्राप्त गरेकै दिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई कानुन अनुसार निर्णय गर्न निर्देशन दिइसकेको छ । त्यसै आधारमा अब निर्वाचन अधिकृतको कार्यालयले उजुरी अनुसार गलत ठहरिएमा मिया दर्जीको उम्मेदवारी रद्द गर्नुपर्नेछ ।

प्रभु साहले गरेको खुलासा

पूर्व शहरी विकासमन्त्रीसमेत रहेका नेकपा (एमाले)का स्थानीय कमिटी सस्य तथा पूर्व सांसद प्रभु साहले यो विषय बाहिर ल्याएका थिए । उनले यस घटनाप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रौतहटको प्रशासनलाई दोष दिएका छन् ।

उनले चुनावमा धाँधली गर्न र बुथ कब्जा गर्न पनि प्रशासन सहयोगी भएको र गठबन्धनको मतियार बनेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर