सशस्त्र प्रहरीमा ‘भुँडीवाला’लाई तनाव, उचाइअनुसार तौल मिलाउने तयारी – Nepal Press

सशस्त्र प्रहरीमा ‘भुँडीवाला’लाई तनाव, उचाइअनुसार तौल मिलाउने तयारी

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)मा नयाँ प्रमुख आएसँगै यति बेला मोटा र भुँडीवाला कर्मचारीहरूलाई तनाव बढेको छ ।

नेतृत्व सम्हालेसँगै आईजीपी राजु अर्यालले मातहतका कर्मचारीहरूले उचाइअनुसार तौल (बीएमआई) मिलाउनुपर्ने छलफल अगाडि बढाएका छन् ।

सशस्त्रका प्रवक्ता विदुर खड्काले यो विषय कार्यान्वयनकै चरणमा रहेको बताए । ‘नयाँ संगठन प्रमुख आएपछि यो विषय अगाडि बढेको छ । अहिले कार्यान्वयनकै चरणमा छ’, प्रवक्ता खड्काले भने ।

उनले आवश्यक तयारी पूरा गरेपछि सबै युनिटलाई परिपत्र गरिने जानकारी दिए । सशस्त्र प्रहरीमा यसअघि पनि बीएमआईको विषयमा छलफल भएको थियो तर कार्यान्वयनमा भने आउन सकेको थिएन ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीमा सिनियर अधिकृतहरूमा उचाइअनुसार बढी तौल भएको भन्दै बारम्बार टीकाटिप्पणी हुँदै आएको छ । सशस्त्रका प्रवक्ता खड्का सुरक्षाकर्मीमा फिटनेस निकै महत्त्वपूर्ण हुने भएकाले बीएमआई आवश्यक रहेको बताउँछन् ।

‘यो सबै सुरक्षाकर्मीले आफैले बुझ्नुपर्ने विषय पनि हो’, उनी भन्छन् । नयाँ व्यवस्थाको नियमन कसरी गर्ने भन्ने सम्बन्धमा पनि आवश्यक छलफल भइरहेको खड्काले बताए ।

नेपाली सेनामा भने बीएमआईलाई कडाइका साथ लागु हुँदै आएको छ। कार्यविधिमै बीएमआईबारे व्यवस्था छ । हरेक वर्ष हुने स्वास्थ्य परीक्षणमा बीएमआईको पनि जाँच हुने सैनिक प्रवक्ता नारायण सिलवालले बताए।

‘कति उचाइलाई कति तौल हुनुपर्ने भन्ने कुरा स्पष्ट छु’, प्रवक्ता सिलवाल भन्छन् ।

नेपाली सेनामा बीएमआईको सम्बन्ध बढुवादेखि शान्ति सेनासम्म रहन्छ । ‘तोकिएको बीएमआई रहेन भने मेडिकल इस्यु भनिन्छ । बढुवा हुन पनि बीएमआई जाँच हुन्छ भने शान्ति सेनामा जान योग्य हुन पनि बीएमआई हेरिन्छ’, प्रवक्ता सिलवालले भने ।

राष्ट्रिय अनुसन्धान विभागसहित चार वटा सुरक्षा निकायमध्ये बढी जनतासँग नजिक भएर काम गर्ने भएकाले नेपाल प्रहरीमा ‘भुँडे’ कर्मचारीको बढी टीकाटिप्पणी हुने गरेको छ। तर उचित व्यवस्था कार्यान्वयनमा नल्याउँदा बीएमआईको बढी समस्या नेपाल प्रहरीमा देखिन्छ ।

व्यक्तिगत रूपमा केही कार्यालय प्रमुखले भुँडे कर्मचारीहरूलाई खेदो खन्ने गरेको प्रहरी अधिकारी बताउँछन् ।

‘रमेश खरेलले भुँडी भएको कोही प्रहरी अधिकारीलाई देख्यो की थर्काइहाल्नु हुन्थ्यो । भ्रष्ट्राचार गरेर भुँडी बढेको टिप्पणी गरेपछि उनको मातहतमा रहने प्रहरी अधिकारीहरू फिटनेसमा निकै ध्यान दिन्थे’, पूर्व डीआईजी खरेलसँग काम गरेका एक प्रहरी अधिकृत भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *