कतार विश्वकपमा युक्रेन की वेल्स ? आज हुँदैछ निर्णय – Nepal Press

कतार विश्वकपमा युक्रेन की वेल्स ? आज हुँदैछ निर्णय

लन्डन । यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा युरोपबाट छनोट हुने १३ औँ टोलीको टुंगो आइतबार राती हुँदै छ । वेल्स र युक्रेनबीच हुन लागेको खेलको विजेताले कतार विश्वकप खेल्ने छ । वेल्सले अन्तिम पटक सन् १९५८ र युक्रेनले २००६ मा विश्वकप खेलेका थिए ।

केही महिनाअघि नै हुनुपर्ने प्ले अफ युक्रेनमा रुसको आक्रमणका कारण सरेको हो । युक्रेनले गत जुन १ तारिखमा स्कटल्यान्डलाई ३(१ गोलले हराउँदै वेल्ससँग भिडन्त तय गरेको हो ।

त्यसअघि प्ले अफ सेमिफाइनलमा वेल्सले गत मार्च २४ तारिखमा अस्ट्रियालाई २-१ गोलले पराजित गर्दै विश्वकप खेल्ने सम्भावना कायम राखेको थियो ।

विश्वकपका लागि भएको महादेशीय छनोटमा वेल्स र युक्रेन दुवै राम्रो प्रदर्शन गर्दै प्ले अफ खेल्नु पर्ने अवस्था बनेको थियो ।

महादेशीय छनोटका ८ खेलमा वेल्सले ४ जित, ३ बराबरी र एक हारको नतिजा निकालेको थियो। युक्रेनले २ खेल जितेको थियो भने ६ खेलमा बराबरीको नतिजा निकालेको थियो ।

युक्रेनले पछिल्ला ८ खेलमा हार बेहोरेको छैन । यी खेलमा ५ जित र ३ बराबरीको नतिजा निकालेको छ । अन्तिम पटक २०२१ को जुलाईमा इङ्गल्यान्डसँग पराजित भएको थियो । वेल्सले भने जुन १ तारिखमा भएको मैत्रीपूर्ण खेलमा पोल्यान्डसँग २-१ गोलको हार बेहोरेको थियो ।

घरेलु मैदानमा हुने भएकाले वेल्सलाई केही फाइदा हुने छ। उसले घरेलु मैदानमा खेलेका पछिल्ला २० खेलमा १२ जित, ७ बराबरी र एक हारको नतिजा निकालेको छ ।

यी खेलमा डेनमार्कले मात्र उसलाई एकभन्दा बढी गोल गरेको थियो । वेल्ससँग हालसम्म भएका तीन भिडन्तमा युक्रेनले एक जित र दुई बराबरीको नतिजा निकालेको छ ।

फाइनल भिडन्तअघि युक्रेनका ओलेक्सान्डर जिनचेन्कोले जीवनकै सबैभन्दा राम्रो खेल प्रदर्शन गर्न सहकर्मीहरूलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर