शाहीको हत्या भएको भन्दै दोषी पहिचान गरी कारबाही गर्न अनेरास्ववियुको माग – Nepal Press

शाहीको हत्या भएको भन्दै दोषी पहिचान गरी कारबाही गर्न अनेरास्ववियुको माग

कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत अवस्थामा फेला परेका १५ वर्षीय किशोर विनोद शाहीको हत्या गरिएको एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।

शाहीको हत्या भएको भन्दै अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले दोषीको पहिचान गरेर यथाशीघ्र कारबाही गर्न माग गरिएको छ।

नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले यहाँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै घटनाको सत्य तथ्य अनुसन्धान गरेर दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको हो।

स्थानीय तहको निर्वाचनमा भएको सामान्य विवादलाई लिएर शाही १७ जेठदेखि बेपत्ता भएका थिए । उनको शव फेला परे पनि अझै घटनाबारे प्रहरी तथ्य बाहिर ल्याउन सकेको छैन ।

‘पाँच दिनदेखि हराइरहेको बालकको खोजीमा प्रशासनको उदासीनताले कतै प्रहरी प्रशासनको मिलेमतोमा हत्या भएको त भन्ने आशंका पैदा भएको छ,’ अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सहसंयोजक कल्पना पाल र सचिव मनोज राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यथाशीघ्र दोषीलाई पक्राउ गरी हदैसम्मको कारबाहीका लागि नेपाल प्रहरी समक्ष जोडदार माग गर्दछौँ।’

ज्ञापन पत्र बुझ्दै डीआईजी आचार्यले घटनाबारे गम्भीर भएको बताउँदै सूक्ष्म ढंगले अनुसन्धान भइरहेकाले दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने प्रतिबद्धता जनाएका छन्।

घटनाको अनुसन्धानका लागि धनगढीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टको नेतृत्वमा कुकुरसहितको टोली परिचालन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *