गायक सञ्जय श्रेष्ठले काठमाडौं-६ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार दिने – Nepal Press

गायक सञ्जय श्रेष्ठले काठमाडौं-६ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार दिने

काठमाडौं । संसदीय चुनावको मिति घोषणा नहुँदै उम्मेदवारी घोषणाको लहर सुरु भएको छ । पछिल्लोपटक गायक सञ्जय श्रेष्ठले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

कुनै समयमा चर्चित पप गायका श्रेष्ठ अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छन् । सकभर पार्टीको टिकट लिएर नत्र स्वतन्त्र भए पनि चुनाव लड्ने उनले बताएका छन् ।

श्रेष्ठले लेखेका छन्, ‘मेरो पार्टीले मलाइ टिकट दिए पनि नदिए पनि मैले आउँदो मङ्सिरताका हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरे। अब बाँकि तपाइँहरुको साथ र विश्वास ।’

गायक श्रेष्ठले २०७० सालको दोस्रो संविधानसभा चुनावमा राप्रपा नेपालको तर्फ काठमाडौं- ६ मै प्रतिस्पर्धा गरेका थिए । तर, उल्लेख्य मत ल्याउन सकेनन् । त्यसपछि राजनीतिमा निस्क्रिय बनेका उनी गत मंसिरमा राप्रपा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा भित्र्याएका थिए ।

‘माया मेरी माया…’ बोलका गीतबाट कुनै समय तहल्का पिटेका पपगायक श्रेष्ठ पछिल्लो समय भने संगीतमा सक्रिय छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर