लगातार तीनपटक एसीसी यू १९ च्याम्पियन नेपाली किशोरी टोलीको लज्जास्पद प्रदर्शन – Nepal Press

लगातार तीनपटक एसीसी यू १९ च्याम्पियन नेपाली किशोरी टोलीको लज्जास्पद प्रदर्शन

काठमाडौं । एसियाली एसोसिएट क्रिकेटमा महिलातर्फ प्रतियोगिता सुरु हुँदा नेपाली टोली सशक्त थियो । सन् २००७ मा आयोजित एसीसी वुमन्स ट्रफीमा नेपाली टोली फाइनलसम्म पुगेको थियो र बंगलादेशसँग पराजित भएर उपविजेतामा सीमित बनेको थियो ।

सन् २००८ मा आयोजित पहिलो एसीसी वुमन्स यू १९ ट्रफी नेपालले जित्यो र महिला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो उपाधि हात पार्‍यो । त्यसपछिका लगातार दुई संस्करणमा पनि नेपाल विजेता बन्यो । तर, सिनियरस्तरका अन्तर्राष्ट्रिय प्रतियोगितामा सन् २००७ पछि नेपाल कहिल्यै फाइनल पुग्न सकेन ।

नेपाली महिला क्रिकेटले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको १५ वर्ष पूरा हुन लाग्दा एसियाली एसोसिएट क्रिकेटमा धेरै पछाडि परिरहेको छ । चीन, थाइल्यान्ड, यूएईजस्ता टोलीसामु नेपाल निरीह बनिरहेको छ ।

आईसीसी वुमन्स यू १९ टी-२० विश्वकपको एसियाली छनोट खेलिरहेको नेपाली टोलीको प्रदर्शन हेर्दा त्यस्तै लाग्छ । यूएईसँग नेपाली टोली केवल ८ रनमा सीमित भएको थियो भने मंगलबार थाइल्यान्डसँग ४० रनमा समेटियाे । घरेलु टोली थाइल्यान्डसँग ९० रनको लक्ष्य पछ्याएको नेपाली टोली एक बल बाँकी रहँदा ४० रनमा समेटिएको हो ।

चार खेल खेल्ने क्रममा नेपालले दुई जित र दुई हारको नतिजा निकालेको छ । पहिलो खेलमा कतारलाई हराएको नेपालले दोस्रो खेलमा यूएईसँग १० विकेटको हार ब्यहोरेको थियो । तेस्रो खेलमा भूटानलाई पराजित गरेको थियो । नेपालले अब मलेसियासँग खेल्न बाँकी छ ।

घरेलु महिला क्रिकेट प्रतियोगिता निकै कम मात्रामा हुनु र ग्रासरुट विकासमा ध्यान नदिँदा महिला क्रिकेट दिनदिनै ओरालो लागिरहेको स्पष्ट छ । नेपाली महिला क्रिकेटले कुनै पनि उमेरस्तरमा विश्वकप खेल्न सकेको छैन हालसम्म । नेपाली महिला क्रिकेट टोलीमा अझै पनि सन् २००७/०८ तिर नै खेलेका खेलाडीहरुको बाहुल्य हुनुले नयाँ खेलाडीहरु माथि आउन नसकेको र उत्पादन नभएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *