मधेस सरकारलाई लोसपा सांसद साहको प्रश्न- छोरी बीमा कार्यक्रम कहाँ हरायो ? – Nepal Press

मधेस सरकारलाई लोसपा सांसद साहको प्रश्न- छोरी बीमा कार्यक्रम कहाँ हरायो ?

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रममा जनताको आँखामा धूलो हाल्ने योजनामात्र रहेको टिप्पणी गरेका छन् ।

प्रदेशसभा बैठकमा सांसद साहले बेटी बचाऊ, बेटी पढाऊ अभियान ल्याएर मुख्यमन्त्रीले वाहवाही कमाएको तर त्यो अभियानअन्तर्गत सुरु गरिएको छोरी बीमा कार्यक्रम कहाँ हरायो भन्दै सरकारलाई प्रश्न गरे । उनले भने, ‘मेरो नाति जन्मेको २ वर्ष भयो । तर, अहिलेसम्म बैंकमा खाता खुलेन । किन कार्यक्रम अगाडि बढ्न सकेन ? कार्यक्रममात्र ल्याउने तर कार्यान्वयन नगर्ने ?’

उनले सुरुदेखि नै एउटै विषयलाई नीति तथा कार्यक्रममा राखिँदै आए पनि काम केही नभएको गुनासो गरे । ‘दूधमती महेन्द्रनगर करिडोरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिनेछ भनेर सुरुदेखि नै सबै नीति तथा कार्यक्रममा भनिएको छ । तर, खै काम भयो ?’, उनले प्रश्न गरे, ‘आश्वासनमात्र बाँडेर हुन्छ । यो त कर्मकाण्डमात्र भयो । प्रक्रियामात्र पुर्‍याउने हो भने प्रदेशको विकास हुन सक्दैन ।’

सांसद साहले प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा त्रुटि नै त्रुटि भएको औंल्याए । उनका अनुसार नीति तथा कार्यक्रममा पाँचौं भनिएको छ । ‘यो छैठौं हो । माननीय सभामुख भनेर सम्बोधन गर्नुपर्ने तर माननीय सदस्य ज्यूहरु भनिएको छ । सभामुखलाई सम्बोधन गर्नुपर्ने हो नि ! यो सबै कुरा संशोधन गर्नुपर्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर