बाघबाट ज्यान जोगाउन माग गर्दै प्रदर्शनमा उत्रेकी किशोरी प्रहरीको गोलीको शिकार – Nepal Press

बाघबाट ज्यान जोगाउन माग गर्दै प्रदर्शनमा उत्रेकी किशोरी प्रहरीको गोलीको शिकार

काठमाडौं । एक साताअघि बर्दियाको मधुवन नगरपालिका-२ मा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गयो । बाख्रा चराउन गएकी महिलालाई बाघले हिंस्रक आक्रमण गरेको थियो ।

आइतबार सोही वडामा खेतमा काम गरिरहेकी अर्की महिला बाघको निशानामा परिन् । धन्न यसपटक ती महिला बाँचिन् । तर, स्थानीय उग्र बने । लगातार बाघले उत्पात मच्चाइरहँदा प्रशासन मौन रहेको भन्दै स्थानीयले सोमबार मध्यान्हदेखि हुलाकी राजमार्गमा पर्ने ओराली बजार क्षेत्रमा अवरोध सृजना गरे । मधुवन नगरपालिकाको वडा-२ र ३ बर्दिया राष्ट्रिय निकुन्जसँगै जोडिएको छ ।

‘जङ्गलबाट करिब एक डेढ किलोमिटरको दूरीमा बस्ती सुरू हुन्छ’, मधुवन नगरपालिकाका सूचना अधिकारी खिमराज पोखरेलले भने । पछिल्लो एक वर्षमा मात्र ८/९ जनालाई बाघले आक्रमण गरिसकेको उनले बताए ।

‘पछिल्लो समय बाघहरू बस्तीतर्फ निस्कन थालेका छन्’, पोखरेलले भने ।

यो क्षेत्र जङ्गली जनावरको कोरिडोरका रूपमा पनि रहेको छ । यही बाटो भएर जङ्गली जनावरहरू नेपाल-भारतका जङ्गलमा ओहोरदोहोर गर्छन् ।

सोमबार मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिनुपर्ने भन्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । एक साताअघि महिलाको ज्यान लिने बाघले नै आइतबार फेरि आक्रमण गरेको उनीहरूको दाबी थियो । मान्छे खोज्दै हिँड्ने बाघलाई नियन्त्रणमा लिए मात्र आफूहरूले शान्तीको सास फेर्न पाउने प्रदर्शनकारीको भनाइ छ ।

सोमबार अपरान्ह स्थिति असहज बन्यो । प्रदर्शनकारीले ढुंगामुढा गरे । सोही क्रममा सुरक्षाकर्मीले गोली चलायो । गोली लागेर कक्षा १२ को परिक्षा दिइरहेकी १८ वर्षीया नविना थारुको ज्यान गयो । उनलाई एक गोली लागेको थियो । अर्का एक जना पनि घाइते छन् ।

भीड नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले जिल्ला प्रशासन प्रमुखको निर्देशनमा मात्र गोली चलाउन सक्छन् । बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख बन्धुप्रसाद बास्तोलाले बाटो खोल्नेसम्म कुरा भएको तर गोली हान्ने आदेश नभएको बताए । बर्दियाका एक प्रहरी अधिकृतले भने अचानक स्थिति असहज बनेपछि गोलि हान्नु पर्ने अवस्था आएको दाबी गरे ।

‘कुरा मिल्दै गएको थियो, तर अचानक ढुंगामुढा भयो । छानबिन समिति गठन भइसकेकाले त्यहाँबाट धेरै कुरा आउला’, ती अधिकारीले भने ।

मंगलबार बिहान सर्वदलीय बैठक बसेको थियो । त्यसपछि सुरक्षा प्रमुख र सिडीओहरूको पनि बेग्लै बैठक बसेको थियो । गृहमन्त्रालयले घटनाको छानबिन गर्न समिति गठन गरेको छ । अहिले हिजो प्रदर्शन भएको क्षेत्रमा स्थानीयहरू जम्मा भइरहेका छन् । प्रदर्शनकारी र जनप्रतिनिधीबीच वार्ता जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *