गृहमन्त्रीको गृहनगरको समस्याः दुई महिनाअघि मृत्यु भएकी युवतीको हुन सकेन अन्त्येष्टि – Nepal Press

गृहमन्त्रीको गृहनगरको समस्याः दुई महिनाअघि मृत्यु भएकी युवतीको हुन सकेन अन्त्येष्टि

माइती आन्दोलनमा, घर पक्ष अदालतमा

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको गृहनगरमा करिब दुई महिनाअघि मृत्यु भएकी २९ वर्षीय एक महिलाको अहिलेसम्म अन्त्येष्टि हुन सकेको छैन । गएको चैत ३० गते तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी अमृता खत्री टण्डनको मृत्यु भएको थियो । गृहमन्त्री खाण यो बीचमा लामो समय रुपन्देही बसे । तर, उक्त मुद्दा टुंगाउन नसकेको भन्दै उनको आलोचना भइरहेको छ ।

माइत रहेकी अमृतालाई श्रीमानले पटक–पटक फोन गरेर घरमा बोलाएका थिए । घर आएकै साँझ उनको मृत्यु भएकाले आत्महत्या नभई हत्या भएको भन्दै माइती पक्षले निरन्तर आन्दोलन गरिरहेको छ । मृत्यु भएको ५ दिनपछि माइती पक्षको सहमतिमा पोष्टमार्टम गरिएको थियो । तर, त्यसको दुई महिना बित्दा पनि अमृताको अन्त्येष्टि हुन सकेको छैन । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

अमृताको घर र माइतीको दूरी धेरै टाढा छैन । चैत ३० गते श्रीमानले फोन गरेपछि उनी साँझ साढे ८ बजे घरमा पुगेकी थिइन् । घर गएको केही समयमै उनले आत्महत्या गरेको खबर माइती पक्षले पायो । जुन रहस्यमय रहेको आरोप माइती पक्षको छ । माइती पक्षका अनुसार अमृता सकुशल घर गएकी थिइन् । घर गएकै दिन राति ९ः५० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा अमृताको मृत्यु घोषणा गरिएको थियो ।

घटना रहस्यमय भएको भन्दै अमृताको माइती पक्षले श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएर दबाबका लागि सडक आन्दोलनमा उत्रिएको छ ।

उक्त घटनाको विषयमा जिल्ला अदालत रुपन्देहीले श्रीमान प्रेमलाई पुर्पक्षको लागि थुनामा पठाएको छ । प्रमाण नपुगेको भन्दै मृतकका सासूससुरा रिहा गरेपछि माइती पक्षले असन्तुष्टि जनाउँदै अमृताको अन्त्येष्टि गर्न मानेको छैन ।

लामो समय विभिन्न अधिकारवादी संस्थाहरुको अगुवाइमा सडक आन्दोलन भइरहेको छ । यसबीच माइती पक्षको आन्दोलन केही मत्थर भए पनि अन्त्येष्टि गर्नेतर्फ चासो नदेखाएको स्थानीय प्रशासनले जनाएको छ ।

घटनापछि प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले अनुसन्धान गरेको र त्यसैका आधारमा जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । अनुसन्धान भइरहेकाले शव अन्त्येष्टि गरेर जानुपर्ने स्थानीय प्रशासनको सुझाव छ । इलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेले शव अन्त्येष्टि गरेर माइती पक्षले सहयोग गर्नुपर्ने बताए ।

अमृताका दाजु पुष्पक खत्रीले परिवारबाटै बहिनीको हत्या भएको भन्दै हत्यामा संलग्नमाथि कारबाही हुने निश्चित नभएसम्म अन्त्येष्टि गर्ने अवस्था नभएको बताए । उनले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा जाहेरी दिइएकाले त्यहाँबाट न्याय मिल्ने आशा रहेको जानकारी दिए । माइती पक्षले सासूससुरा पनि दोषी रहेको भन्दै पुनः उच्च अदालतमा मुद्दा हालेका छन् । अमृता र प्रेमका ८ वर्षीय छोरा मावलीमा बस्दै आएका छन् ।

परिवारद्वारा माइती र अधिकारकर्मीविरुद्ध रिट

लामो समय आन्दोलन गरेका अमृताका माइती पक्ष र यसलाई साथ दिएका विभिन्न अधिकारवादी संस्थाविरुद्ध श्रीमान प्रेमको घर पक्षले अदालतमा रिट दायर गरेको छ । परिवारको सदस्यको मृत्यु भएको दुःखद अवस्थामा कुलधर्मअनुसार अन्त्येष्टि गर्न नपाएको, परिवारका सदस्यको असुरक्षा भएको भन्दै अमृताका सासूससुरा टहलसिंह टण्डन र दीपा टण्डनले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट दायर गरेका हुन् ।

उनीहरुले इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही मेची–महाकाली बुहारी अभियान र अमृताको माइती पक्षलाई विपक्षी बनाएका छन् । विपक्षीहरुले मानव अधिकारको हनन गरेको, अन्त्येष्टिमा अवरोध गरेको र आफ्नै घरमा बस्नसमेत असुरक्षित भएको रिटमा उल्लेख गरिएको छ ।

टण्डन परिवारको तर्फका कानून व्यवसायी अधिवक्ता जोगबहादुर खत्रीका अनुसार अधिकारकर्मीहरुका नाममा संस्थागत ढंगले मानव अधिकार हनन गर्ने कार्य भएको र नागरिकले आफ्नो घर–सम्पत्तिमा स्वतन्त्रतापूर्वक बस्न र भोगचलन गर्न पाउने अधिकारबाट वञ्चित गरेकाले न्यायका लागि रिट दायर गरिएको हो ।

मंगलबार उच्च अदालतमा बोलाइए पनि फाइल सरेर पुनः जेठ २७ गतेका लागि बोलाइएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर