त्रिविको तालामा गृहमन्त्रीको संरक्षण रहेको अनेरास्ववियुको आरोप, फोड्ने चेतावनी


काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा ५ महिनादेखि लगाइएको ताला तत्काल खुल्ला गर्न माग गरेको छ ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्तिमार्फत अबको ३ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए आफ्नो संगठनले ताला फोड्ने चेतावनी दिएकी छन् ।
‘हाम्रो अपेक्षा थियो सरकार, विश्वविद्यालय प्रति संवेदनशील हुनेछ र ताला खोलेर विश्वविद्यालयको कामलाई सुचारु गराउनेछ । विडम्बना, विश्वविद्यालयमा तालाबन्दी गरिरहेको एक गैरराजनीतिक गिरोह जसले त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउने माथि ज्यान मार्ने उद्देश्यले गरेको आक्रमण पछि अदालतबाट माग गरेको धरौटी रकम विश्वविद्यालयबाटै असुल गर्ने अभिप्रायले गरेको तालाबन्दीलाई वैधानिकता दिने काम मात्र गरेन राज्यको प्रहरी प्रशासनको उपस्थितिमा ताला लगाउने र ताला लगाउनेलाई पूर्ण सुरक्षा सहित संरक्षण गर्ने काम पनि गर्यो,’ अध्यक्ष बरालले भनेकी छन् ।
‘वर्तमान गृहमन्त्री बालकृष्ण खाणको प्रत्यक्ष संरक्षण, आफूलाई ने.वि.संघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द छ’, अनेरास्ववियुले भनेको छ, ‘हामी यस्ता अपराधी कुकर्ममा संलग्नहरूलाई राजनीतिक संरक्षण नदिन ने.वि.संघ र प्राध्यापक संगठनहरूलाई पनि आग्रह गर्न चाहान्छौ ।’
त्रिविमा आर्थिक सुधारलगायतका विषय उठाएर नेविसंघ र आंशिक शिक्षकले माघ पहिलो सातादेखि विश्वविद्यालयका विभिन्न शाखाहरूमा तालाबन्दी गरेका थिए ।
जेठ १८ मा नेपाल कम्प्युनिष्ट पार्टी (क्रान्तिकारी) ले ताला फोडेको थियो । ताला फोडेपनि नेविसंघ र आंशिक शिक्षकले पुन: तालाबन्दी गरेका छन् ।