माधवको चुनावी समीक्षा- गठबन्धनले फाइदा त भयो, तर गठबन्धनकै गीत धेरै गाउँदा धोका पनि पायौं – Nepal Press

माधवको चुनावी समीक्षा- गठबन्धनले फाइदा त भयो, तर गठबन्धनकै गीत धेरै गाउँदा धोका पनि पायौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाँदा आफ्नो पार्टीलाई फाइदा नै भएको बताएका छन् । भौतिकरूपमा पनि पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको जित उदाहरण भएको उनले बताए ।

‘गठबन्धन कायम गरेका छौं । गठबन्धनले कति फाइदा कति घाटा विवेचना गरिरहेका छौँ,’ पार्टीनिकट विद्यार्थी जिल्ला विशेषको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले भने,‘अवश्य फाइदा भएको छ । भौतिक रूपमा भन्दा पोखरा शानदार जितेका छौं । हामी बाहेक कोही जित्ने थिएन । हेटौंडामा हाम्रो पार्टीले शानदार सफलता हासिल गर्‍यो ।’

तर, गठबन्धनको धेरै वकालत गर्दा पनि कमजोरी देखिएको अध्यक्ष नेपालले बताए ।

उनले भने,‘हाम्रा कमजोरी के रहे भने गठबन्धनको गीत गायौँ । भरोसा धेरै गर्‍यौं । अनि कतिपय ठाउँमा धोका पनि पायौं ।’ आफ्नै पार्टीको भरोसामा लडेको भए योभन्दा बढी सफलता हासिल गर्ने अवस्था देखिएको उनले बताए ।

‘एक्लै आफ्नै सँगठनको बलमा लडेका ठाउँमा मेयर जितेका छौँ । अध्यक्ष जितेका छौँ,’ उनले भने ।

अब गठबन्धनको भविष्यका विषयमा शंका नगर्न पनि उनले कार्यकर्तालाई सुझाए । उनले भने,‘गठबन्धनको भविष्य छैन भन्नेका पछाडि लाग्नुहुन्न । आगामी चुनाव र चुनावपश्चातसम्म लागिरहेका छौँ ।’ आफूहरू इमान्दारिताका साथ गठबन्धनमा लाग्ने र कमजोरीको आलोचना पनि गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर