काठमाडौं-५ मा कांग्रेसबाट नैनसिंह महरलाई उम्मेदवार बनाउन लबिङ – Nepal Press

काठमाडौं-५ मा कांग्रेसबाट नैनसिंह महरलाई उम्मेदवार बनाउन लबिङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरलाई आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने पहल सुरू भएको छ ।

स्थानीय पार्टी नेता तथा कार्य समितिहरूको तर्फबाट सभापति शेरबहादुर देउवासमक्ष समेत महरलाई उम्मेदवार बनाए जिताएर पठाउने भन्दै केही नेताहरूले यसअघि नै प्रतिद्धता जनाइसकेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको निजी निवास समेत रहेको क्षेत्र हो । यसअघि उम्मेदवार बनेर पराजित भएका नेता डा. प्रकाशशरण महत नुवाकोटबाट चुनाव लड्ने निश्चित भइसकेपछि काठमाडौं ५ मा कांग्रेसका अन्य नेताले पनि आँखा गाडेका छन् ।

काठमाडौं ५ मा कसलाई उम्मेदवार बनाउने भन्ने सन्दर्भमा निर्णायक मानिएका प्रकाशमान सिंह, गगनकुमार थापा र प्रकाशशरण महतको समेत नैनसिंह महरप्रति सद्भाव देखिएको काठमाडौं कांग्रेसका एक नेताले बताए ।

महर आफैं भने गृहजिल्ला डडेलधुरामा खटिएका छन् । कर्ण मल्ल समूहको विद्रोहका बीच कांग्रेसलाई डडेलधुरामा चुनाव जिताएको जस समेत उनले लिएका छन् । महरले काठमाडौं-५ मा चुनाव लड्ने तयारी भने स्थानीय चुनावको टिकट वितरणको बेला नै देखाएका कांग्रेस नेताहरू बताउँछन् ।

उनले सोही क्षेत्रमा पर्ने टोखा नगरपालिकाको मेयर र उपमेयरमा टिकट दिलाएकामध्ये उपमेयर जिते भने मेयर रजनी थापा झिनो मतले पराजित भएकी थिइन् ।

त्यसो त काठमाडौं ५ मा कांग्रेस नेता प्रदीप पौडेलले पनि आँखा गाडेका छन् । पौडेल पनि पछिल्लो समय देउवा समूहमै रहेकाले यो क्षेत्रमा देउवा निकट नेताले नै टिकट पाउँने देखिएको छ ।

यहाँ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जितेको क्षेत्र हो । यसपटक स्थानीय चुनावमा पनि महानगरपालिकाका यस क्षेत्रमा पर्ने सबै वडासहित टोखा र बूढानीलकण्ठ नगरपालिका एमालेले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर