मेयर शाह र फ्रान्सका राजदूत गील्सविच भेटवार्ता : सेवा व्यवस्थापन र सुविधा वितरणलगायतका विषयमा छलफल – Nepal Press

मेयर शाह र फ्रान्सका राजदूत गील्सविच भेटवार्ता : सेवा व्यवस्थापन र सुविधा वितरणलगायतका विषयमा छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र फ्रान्सका राजदूत जील बुर्बाओविच भेटवार्ता भएको छ । प्रमुखको कार्यकक्षमा भएको भेटवार्तामा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणका विषयमा छलफल भएको छ ।

भेटवार्ताका क्रममा प्रमुख शाहले भने, ‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ ।

पोहोर मैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ ।

विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दै छौँ ।’

त्यस क्रममा राजदूत बुर्वाओले, सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफू इच्छुक रहेको बताए ।

उनले भने, ‘फोहोर मैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ । काठमाडौँको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनो रेलभन्दा सहरी केबुल कार उपयोगी हुन्छ । अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ । मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ ।’

भेटमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरपालिकासँग सहकार्य हुन सक्ने उल्लेख गरेका छन् ।

कुराकानीपछि राजदूत वुर्वाओले प्रमुख शाहलाई सहरी केवल कार सञ्चालन सम्बन्धी सोच पत्र प्रदान गरेका जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर