अछामका विनोद शाहीको न्यायका लागि काठमाडौंमा संघर्ष – Nepal Press

अछामका विनोद शाहीको न्यायका लागि काठमाडौंमा संघर्ष

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का मृतक विनोद शाहीको न्यायको लागि काठमाडौंमा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।

परिवार तथा आफन्तले काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । आफन्तले जेठ २९ गतेसम्मको लागि संघर्षका कार्यक्रमसमेत घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा परिवारका सदस्य अर्जुनविक्रम शाहीले आफूहरूको किटानी जाहेरीसमेत प्रहरीले नलिएको जानकारी दिँदै न्यायको लागि गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउनेदेखि अछामका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र नगर प्रमुखको पुत्ला दहन कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए ।

स्थानीय सरकारले नै हत्याराको संरक्षण गरेको भन्दै शाहीले आपत्ति जनाए ।

परिवारका अर्का सदस्य धिरेन्द्र शाहीले फरक राजनीतिक आस्थाकै कारण नेपाली कांग्रेस नेतृत्वको स्थानीय सरकारले मध्यराति प्रहरी पठाएर आतंक मच्चाएको बताए ।

उनले आफ्नो अभिमत राख्ने अधिकार समेत खोस्ने प्रयास गरेको बताउँदै भने, ‘फरक राजनीतिक आस्थाकै कारण कांग्रेस नेतृत्वका स्थानीय सरकारले सर्वसाधारणमाथि आतंक मच्चाएको छ । हाम्रै परिवारको सदस्यको हत्या गर्ने, जाहेरी नलिने ? हत्यारालाई कारबाहीको गर्नुको साटो स्थानीय सरकारले नै उल्टो संरक्षण गरेको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै कपिल सिजापतिले विनोद शाही निर्दोष रहेको बताउँदै दोषीलाई कडा कारबाहीको माग गरे ।

उनले चुनावी प्रतिशोध साध्न नगर प्रमुख अम्बिका चलाउनेको निर्देशनमा उक्त घटना भएको भन्दै सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन मागसमेत गरे ।

विनोदको न्यायको लागि अर्जुनविक्रम शाहीको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरिएको छ । संघर्ष समितिले बुधवार नै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

त्यस्तै, जेठ २६ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ २७ गते साँझ पुत्ला दहन गर्ने, जेठ २८ गते दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने संयोजक शाहीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर