बुटवलमा विष्णु पौडेल भर्सेस चन्द्र भण्डारी ! सम्भावना कति ? – Nepal Press

बुटवलमा विष्णु पौडेल भर्सेस चन्द्र भण्डारी ! सम्भावना कति ?

रुपन्देही । रुपन्देही क्षेत्र नं २ मा एमाले नेता विष्णु पौडेलसँग आगामी चुनावमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आमनेसामने हुने तयारी अघि बढेको छ । भण्डारीलाई पौडेलविरुद्ध मैदानमा उतार्न बुटवलमा उनी निकटका नेता तथा व्यवसायी सक्रिय बनेका छन् ।

भण्डारीको पुर्ख्यौली घर गुल्मीको छत्रकोट हो । गुल्मीमा उनले एमाले नेता प्रदीप ज्ञवालीसँग प्रतिस्पर्धा गर्दै आएका छन् । २०७० सालमा ज्ञवालीलाई हराएका भण्डारी २०७४ सालमा उनै ज्ञवालीसँग पराजित भए ।

भण्डारी आफै पनि केही समयदेखि बुटवलमा क्रियाशील छन् । यहाँ हुने धेरै कार्यक्रममा उनले समय दिन थालेका छन् । राजनीतिक भेटघाट र छलफलसमेत बढाउन थालेका छन् भण्डारीले । त्यसैले यसैवर्षभित्र हुने संघीय संसद निर्वाचनअन्तर्गत रुपन्देहीमा पौडेल भर्सेस भण्डारी हुने सम्भावना प्रवल बन्दै आएको छ ।

भण्डारी स्थानीय तह निर्वाचनको सिलसिलामा पूरै रुपन्देहीमा सक्रिय भए । पार्टीको प्रदेश निर्वाचनताका पनि उनले रुपन्देहीमै धेरै समय दिएका थिए ।

विष्णु पौडेलको निर्वाचन क्षेत्रअन्तर्गत रहेका बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिकामा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमाले पराजित भएको छ । कांग्रेसमा यस क्षेत्रबाट पौडेलविरुद्ध प्रतिस्पर्धा गर्ने बलियो नेता नभएकाले भण्डारीलाई अघि बढाइने सम्भावना बढेको छ । सत्ता गठबन्धनले निरन्तरता पाए यस क्षेत्रमा गठबन्धनका अन्य दलमा समेत बलियो उम्मेदवारका दावेदार देखिँदैनन् ।

गुल्मीका धेरै व्यक्तिहरु बुटवलमा रहेकाले चुनाव जिताउन सजिलो हुने तर्क भण्डारी निकट नेता तथा व्यवसायीहरु गर्छन् । बुटवलमा कांग्रेसको संस्थापन पक्ष कमजोर छ । साथै यहाँका पार्टी सभापति एवं भण्डारीका निकट खेलराज पाण्डे बुटवल उपमहानगरको मेयरमा फराकिलो मतान्तरले जितेका छन् । अहिले भण्डारीको स्थायी घर पनि बुटवलमै छ । साबिक लुम्बिनी टुक्राउने योजनाविरुद्ध बुटवलमा भएको आन्दोलनमा उनले बलियो साथ दिएकोलगायतका आधारहरुले उनलाई जिताउन सहज हुने उनी समर्थकहरुको तर्क छ ।

तर, संस्थापन पक्षका नेताहरु भण्डारीलाई बुटवलमा हावी हुन दिने पक्षमा छैनन् । त्यसैले भण्डारीलाई पौडेलविरुद्ध चुनावी मैदानमा उत्रिन अन्य पक्षभन्दा कांग्रेसको आन्तरिक पक्ष नै बाधक देखिन्छ । जुन पन्छाउन सके भण्डारीले पौडेललाई आफ्नो प्रतिस्पर्धी पाउने निश्चित छ ।

त्यसो त दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा उनको क्षेत्रबाट पार्टी केन्द्रीय सदस्यमा संस्थापन पक्षका चन्द्र केसी निर्वाचित भएका छन् । केसीले कुनै पनि हालतमा त्यो क्षेत्र आफूले नछोड्ने अडान व्यक्त गरिसकेको बताइन्छ । त्यसैले भण्डारीले गुल्मीमा अहिले धेरै चासो नदिएको गुल्मीका कांग्रेस कार्यकर्ताहरु आशंका व्यक्त गर्छन् ।

त्यसमाथि कांग्रेस जिल्ला अधिवेशनमा भण्डारीले आफ्नै निर्वाचन क्षेत्र श्रृगा दिगामका स्थानीय नेता युवराज कँडेललाई महाधिवेशन प्रतिनिधिमा हराएका थिए । जसकारण कँडेललगायत एक समूह भण्डारीविरुद्ध रहेका छन् । जसलाई पन्छाएर भण्डारीले गुल्मीमा संघीय सांसदको टिकट पाउनु कम चुनौतीपूर्ण छैन ।

एमाले विभाजितसमेत भएकाले भण्डारीलाई रुपन्देहीमा भन्दा गुल्मी नै धेरै सहज रहेको कांग्रेसका जिल्ला नेताहरु बताउँछन् ।

कांग्रेस प्रदेश सभापतिमा देउवा पक्षका भरत शाहलाई हराएर संस्थापनइतरका अमरसिंह पुनलाई जिताएपछि प्रदेशमा भण्डारी बलियो देखिएका थिए । तर, पार्टीको केन्द्रीय उपसभापतिमा पराजित हुँदा उनी कमजोर नै बनेका छन् ।

भण्डारी संस्थापनइतर पक्षका हुन् । जसले गर्दा पार्टीको प्रदेश अधिवेशनका क्रममा उनले संस्थापन पक्षका नेता एवं गृहमन्त्री बालकृष्ण खाणको कडा आलोचना गरेका थिए । जसले गर्दा भण्डारीलाई रुपन्देहीमा सोचेजस्तो त्यति सजिलो नहुने उनी निकट नेताहरु बताउँछन् । ‘गृहमन्त्रीमा बालकृष्ण दाइ हुञ्जेल चन्द्र दाइलाई यहाँबाट टिकट पाउन समस्यै पर्छ । तर, जित्ने आधार देखाएर हामीले उहाँलाई आउन आग्रह गरेका छौं’, उनी निकट एक नेताले नेपालप्रेससँग भने ।

नेता भण्डारीले भने अहिले नै त्यस विषयमा छलफल गर्ने समय नआएको नेपाल प्रेसलाई बताए । ‘साथीहरुले आए हुन्थ्यो भन्नु राम्रै हो । म बुटवलका विषयसँग जानकार छु’, उनले भने, ‘धेरै साथीभाइ, इष्टमित्र, पार्टी संगठन सबैको बलियो साथ रहन्छ नै । मेरो घर पनि यही हो । तर, अहिले यो विषयमा बोल्ने समय आएको छैन ।’

बुटवलमा एमाले नेता पौडेलले २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका छन् । पौडेलले अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरले जितेका थिए । गएको स्थानीय तह निर्वाचनमा भने एमाले कमजोर देखियो । तर, संसदीय चुनावमा त्यति धेरै असर नगर्ने पत्रकार तथा विश्लेषक विष्णु भुसाल बताउँछन् ।

‘संसदीय र स्थानीय चुनाव अलग अलग हुन् । स्थानीय चुनावको मतको आधारमा संसदीय निर्वाचनको अनुमान गर्नु गलत हुन्छ’, उनले भने, ‘तर, विष्णु पौडेललाई विगतमा भन्दा चुनौती थपिएको पक्कै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर