कहाँ लिम्पियाधुरा ! कहाँ नालीका कीरा !
अस्थिरतामा मात्र नेपालको शक्ति ऐंठन सम्भव छ भन्ने भारतले जानेको छ ।
- जननेता मदन भण्डारी, जसले चुनावी महासंग्राममा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई धूलो चटाएर नेपालमा बहुदलीय जनवादीहरुको विजययात्रा र कम्युनिष्टहरुको युग आएको उद्घोष गर्नुभयो । प्रचण्ड र माधव नेपाल भने शेरबहादुर देउवाको गोडाको धूलो मिश्रित अबिर अनुहारमा दलेर स्थानीय चुनावमा मिलेको जुठोपुरो जितको विजय यात्रामा मग्न छन् ।
- मनमोहन अधिकारी, जसले नौ महिने शासनकालमा लोकप्रिय सरकार चलाएर लोकतान्त्रिक शासन प्रणाली सेतासुकिला र धनीमानीको दुहुनो गाई होइन, यो त सामाजिक न्याय, जनताको सर्वाेच्चता, शान, स्वाभीमान र जनजीविकाको सुनिश्चितताको आन्दोलनको महत्वपूर्ण मोर्चा हो भन्ने सत्यको नयाँ क्षितिज उघार्नुभयो । प्रचण्ड र माधव नेपाल भने वृद्धभत्ता एमालेको ब्राण्ड होइन भन्दै सामाजिक न्याय, जनजीविका, सुशासन, समृद्धि र देशभक्तिको एमाले यज्ञ विध्वंश गरी सेतासुकिला पोस्ने र मेहनतकस दुःखीजन झोस्ने कांग्रेसको जनविरोधी चरित्रको सेवा गरेर विषवृक्षको गोडमेलमा लिन छन् ।
- राजनेता केपी ओली, जसले मरिसकेको आँट आशालाई एमालेको पोल्टामा फिर्ता गर्नुका साथै झलनाथ र वामदेवहरुको आन्तरिक शक्ति ऐंठनमा परी कांग्रेसको रखैल हुन्छ वा माओवादीको चखैल हुन्छ भन्ने सन्देहको घेरामा रहेको एमालेलाई उठाएर उल्टै कांग्रेस र माओवादीको ओठतालु सुकाउने विजेता शक्तिको रुपमा पुनःस्थापित गरी समृद्ध नेपाल र सुखी नेपालीको महाभियानको अभियन्तादेखि हडपिएको भूमि लिम्पियाधुरा फिर्ता लिने देशभक्तिपूर्ण आन्दोलनको महानायक शक्तिका रुपमा स्थापित गर्नुभयो । प्रचण्ड र माधव नेपालको जोडबल भने निष्ठाको जरो उखेलेर नगदानगदीमा छ, आँट र आशावादितामा डढेलो लगाएर कांग्रेस निर्भर संस्कृति मजबुत पार्नमा छ । देशभक्ति कुन चरीको नाम हो थाह नपाउने दिग्भ्रमित युवा पुस्ता तयार पार्ने भाकाकबोल मोदी प्रशासन र भारतसामु गरिएको छ । लेण्डुप दोर्जे धर्म अदा गर्दै प्रचण्ड र माधव लिम्पियाधुरा मुद्दा विषयान्तर गर्ने केही थान लघुप्रचण्डहरु कोरल्न ओथारो नबसेको भए बालेन शाह, गोपी हमाल, हर्कराज राई जस्ता चल्लाहरुको उत्पादन सम्भव थिएन । मकैभित्रको घुनलाई कुन घट्टमा पिसिने हो थाह हुँदैन । देशभक्ति र सीमा रक्षाको चेत नहुने हो भने राजनीतिकर्मीले घुनको जुनी ग्रहण गर्छ ।
‘युग नेतृत्व’ र ‘गौरवमय अस्तित्व’ देशरुपी रथका दुई पाग्रा हुन् । युगदेखि युगसम्म नेपाल र नेपाली जातिले यो अटल सौभाग्य पाउँदै आएको छ । नेपाल कसैको निगाहमा नभै आफ्नो पौरखले बनेको र बाँचेको जेठो राष्ट्र हो । यसैले त विश्वमा नेपालको मान छ, शान छ, सम्मान र पहिचान छ । यो केही देशको जस्तो केही दशकयताको चैते चिनारी होइन, शताब्दी शताब्दीदेखिको, अझ सहस्राब्दी सहस्राब्दीदेखिको सिलसिला हो ।
उल्लेखित तीन पक्षहरुमा नेपालले बोकेको विराट सम्भावनाको भ्रुण र भ्रुणहत्याको चुनौतीलाई चिन्नलाई अपरिहार्य चेतना र सामथ्र्य, आँट र उत्साह, ह्याउ र हुतीमाथि प्रकाश पार्न खोजिएको छ ।
स्थानीय चुनावमा प्रकट भएको जनअभिमतले नेकपा (एमाले) नै सबैभन्दा ठूलो दल पुनर्पुष्टि भएको छ । सिंहसँग लड्न एउटा ब्वाँसो वा वनकुकुरको बल पुग्दैन, हुल बाँध्नुपर्ने हुन्छ । ओलीको उदयपछि नेकपा (एमाले)ले पनि एक्लादोग्ला ब्वाँसा वा वनकुकुरले छोइनसकिने सिंहको जस्तो उच्चता र श्रेष्ठता लिएको छ । बरु निर्जन वनको सिंह एक्लो पर्दा ब्वाँसोको हुलबाट चिथोराई पाउँछ । तर, नेकपा (एमाले)ले जनताको चेतना, सामर्थ्य, स्नेह र अनुकम्पाले एक्लो पर्नु परेको छैन र मर्नु परेको छैन । दासढुंगा हत्याकाण्ड हुँदा देउवा हाँसेकै हुन् र प्रचण्ड नाचेकै हुन् । वामदेवले एमाले फोर्दा र मनमोहनले यो धर्ती छोड्दा एमाले उठ्नै नसक्ने गरी थलियो भनेर चरम दक्षिणपन्थी र उग्र वामपन्थीले एकसाथ मुखमिठ्याएकै हुन् ।
झिँगाको श्रापले डिँगो मर्दैन । कांग्रेसले राज्य सत्ता र माओवादीले लडाकु प्रयोग गरी चौसठ्ठी साले कोतपर्व रचेकै हुन् । नाकाबन्दी र सीमा घेराउका साजिस भएकै थिए । हात्ती माकुरेजालमा पर्न सक्तैन थियो । जनताको काखमा हुर्केको, जनताको साथ पाएको, जनताको जुत्ता सोझ्याएको र जनताको सेवामै जुनी बिताएको एमालेको पतन कसैले चाहेर पनि सम्भव थिएन । माधव मक्किँदैमा, झलनाथ झोक्किँदैमा, वामदेवको चेतनामा फ्युज जाँदैमा वा भित्रै रहेर घनश्याम भुसालले गुरुसेवा गर्दैमा नेपाली जनताको चेतना लोडसेडिङ हुनेवाला थिएन र भएन पनि ।
गठबन्धन: अस्थिरताको जरो
देउवा र दाहालको नशा-नशामा अस्थिरताको रगत छ । राजनीतिक अस्थिरताको निम्ति नै उनीहरुले जन्म लिएका हुन् । उनीहरुको प्रयत्न नै कसरी चाँडो चाँडो सत्ता परिवर्तन गर्ने भन्नेमा केन्द्रित हुन्छ । आफ्नै जीवन गुरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई भिडाएर, मिल्न नदिएर तथा उनीहरुलाई सत्ताच्युत गरेर सत्तामा पुगेको कालो विगत छ देउवाको । प्रचण्डको जुनी नै नेपाल र नेपाली जनतालाई दुःख दिन भएको हो ।
सत्र पटकका लालची शिरोमणि रामचन्द्र पौडेलको इरादा पनि सत्ता प्राप्ति हो, गृहनिर्माण होइन । देउवा र दाहालको रेकर्ड तोड्ने पौडेलको सुसुप्त रहरलाई स्थानीय चुनावमा कांगे्रसले पाएको सफलताले पखेटा हालेको छ । कोइराला कांग्रेसको विरासत डा. शेखर कोइरालाले कुम्ल्याएको स्थिति छ ।
कांग्रेसमा पनि विघठित नेकपामा जस्तै माधव, झलनाथ र वामदेव जस्ता माकुरेभ्रुण बसिसकेको छ । फेरि उठेको कांग्रेसमा बहुनायक नश्यतिको संकटले शीर उठाइसकेको छ । प्रचण्ड र माधवको शब्दकोषमा आस्था र आशा छैन । निष्ठा उनीहरुको नजिकमा पर्दैन । उनीहरुले आगामी पाँच वर्षमा पाँच प्रधानमन्त्री बनाएर सत्ताको भागबन्डा लगाए अच्चम मान्नुपर्ने छैन किनकि यो सत्तारुढ गठबन्धन अस्थिरताको मूल जरो हो ।
२०५१ सालमा आफ्नै जीवन गुरु गिरिजाप्रसाद कोइरालाको सरकार ढाल्न शेरबहादुर देउवाले छत्तीसे गुटको कलापूर्ण निर्माण र परिचालन गरेयता नेपालमा सरकार गठन पुनर्गठनको सुनामी आइरहेको छ । छत्तीसेमध्येमा देउवाको भूमिका सैतीप्रति सहयोगी रहेको थियो । २०५१ सालमा देउवा गृहमन्त्री छँदा गृहसचिव रहेका श्रीकान्त रेग्मीले यसबारे जानकारी तत्कालीन प्रधानमन्त्रीलाई गराएका थिए । आफै गृहमन्त्री रहेको सरकार ढाल्न छत्तीसे सांसदलाई देउवाले नै आर्थिक भरथेग गरेको सुइँको पाएपछि यसबारेमा आफूले देउवालाई ‘अनैतिक काम’ भनेर सचेत गराएको कुरा रेग्मीले यो पंक्तिकारलाई बताएको एक दशक भयो ।
देउवाका गतिविधि नरोकिएपछि स्याङ्जा कांग्रेसका नेता खगेन्द्रराज रेग्मीका भाइसमेत रहेका गृहसचिव रेग्मीले देउवाको गद्दारी भण्डाफोर गरे । अन्ततः एक एक वर्षको अन्तरमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलाई सत्ताच्युत पारी २०५२ साल भदौमा देउवा प्रधानमन्त्री भएरै छाडे । छत्तीसेको सृष्टिकर्ता र पालनकर्ता देउवा नै भएको सही सूचना जीपीलाई दिएको बदला लिँदै देउवाले श्रीकान्त रेग्मीलाई मुख्यसचिव हुनबाट बञ्चित पारे ।
अस्थिरताको लहरले देउवा सरकारलाई पनि बढार्यो । २०५३ फागुनमा दीपकजंग शाह र चक्रबहादुर शाहीलाई अनुपस्थित गराएर गिरिजाप्रसाद कोइरालाले सत्ताच्युत गरी देउवामाथि बदला लिए । यस्तो अस्थिरताको हुण्डरीकै बीचमा भारतले प्रचण्ड र बाबुरामलाई भारतको नोयडामा ठाउँ दिएर नेपालविरुद्ध रणनीतिक दासहरु तयार पार्यो । यता सरकारबाट उखेलिने र फ्याँकिने सिलसिला चलिरह्यो । आफ्नो दलको संसदीय दलको नेता मनमोहन अधिकारीको अनादर गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीको कुर्सीमा मूर्ति थपना गरी शक्तिशाली उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेदेखि एमाले विभाजनसम्मको हर्कतमा उत्रन उत्कर्षकालका वामदेव गौतमलाई कुनै शरम लागेन ।
चन्दलाई विस्थापन गर्न राप्रपाकै नेता सूर्यबहादुर थापा अघि सरे । सुरुमा सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउने गिरिजाप्रसाद कोइराला २०५४ सालमा एमाले विभाजित भएपछि स्वयं प्रधानमन्त्री बने । २०५६ सालमा बहुमत पाए पनि कांग्रेसले राजनीतिक स्थिरता दिन सकेन । तीन वर्षमा क्रमैले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री पदबाट पदच्युत भए ।
राजाले संविधान कुल्चेर सत्ता हत्याए पनि कठपुतली सरकार आउने जाने क्रम चलिरह्यो । राजाले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, शेरबहादुर देउवालाई ल्याउने र फ्याँक्ने क्रिया जारी राखे र अन्ततः जनताबाट आफै फ्याँकिन पुगे । सेनापतिसँगको अनावश्यक इगो बहाना भए पनि एमाले र फोरमको बलियो साथ पाएर प्रचण्डका उफ्रिखेल्ने कुम बिस्तारै सुस्ताउँदै जानुको मूल कारण अर्कै थियो । सत्ता कब्जा गरी जनवादी सत्ता र अधिनायकवाद स्थापना गर्ने बेइमानीपूर्ण नियतले प्रचण्डलाई पुनमुर्सिको भव बनायो ।
अरुलाई कुर्बानीको पाठ पढाएर अकालमै मृत्युको मुखमा धकेल्न माहिर प्रचण्डमा परिआउँदा एक बघिनी आमाको दूध खाएका महशूर सेनापति रुक्माङ्गद कटवालको सामना गर्ने हिम्मत भएन । सन् १९७३ को सैनिक कुमा चिलीका राष्ट्रपति साल्भाडोर एलेण्डेले मृत्यु रोजे तर आत्मसमर्पण गरेनन् । तर प्रचण्डले ज्यान प्यारो मान्दा सत्ता त गुम्यो नै माओवादीको दिलमा रहेको प्रचण्डको राज पनि समाप्त भयो ।
राष्ट्रपति नदिएको झोकमा अवसरवादी कित्ताबाट जीपी र केपीको लोकतान्त्रिक कित्तामा उभिएका माधव नेपाललाई प्रधानमन्त्रीको लोटरी पर्यो । काँडा निकाल्न काँडैको प्रयोग नीति अख्तियार गरी झलनाथ उचालेर माधवलाई पदच्युत गर्ने दाउमा रहेका प्रचण्डलाई रोक्न ओली एक्लैको जोर चलेन । अन्ततः माधव, झलनाथ र बाबुरामलाई क्रमैले सत्ताच्युत गर्न प्रचण्डलाई बहाना पनि भेटिए र सफलता पनि मिल्यो । सुशील कोइराला र केपी ओलीबीच दरार ल्याउनमा पनि देउवा र दाहाललाई सफलता मिल्यो ।
२०७३ सालमा र यस पटक केपी ओलीलाई सरकारबाट विस्थापन गर्नमा पनि देउवा र दाहालको चोचोमोचोले काम पाएको छ । एमालेविरुद्ध पछिल्लो चक्रव्यूह रच्ने क्रममा देउवा, दाहाल, नेपाल, खनाल, गौतम र भट्टराईको संगठित र नियोजित हमला जुन देखियो, यसबाट अस्थिरताका कारक तत्वहरु जनताले देखिने गरी उदांग भए । ६ जना नेतामा आफ्नो अस्थिर चरित्रप्रति जनतासामु न माफी माग्ने ज्ञान छ न त कलंकित इतिहासप्रति लाजघीन नै शेष रहेको छ । यस अस्थिर षटकोणको भूमिका इतिहासका बदनाम पात्रहरु पाटने प्रधानसँग मिल्दोजुल्दो छ भने यिनका कारणले विगत तीन दशक यता नेपालले भोग्नु परेको अस्थिरता नेपाल एकीकरणपूर्व उपत्यकाको राज्य ललितपुर वा पाटनले भोग्नु परेको चरम अस्थिरतासँग मिल्दोजुल्दो छ ।
स्थिर देशले हासिल गर्ने उन्नति र सफलता तथा अस्थिर देशले भोग्नुपर्ने बर्बादी र विनाशलीलाबारे थाह पाउन एकीकरणअघिको गोर्खा र ललितपुरको तुलनात्मक अध्ययन उपयोगी छ । १७६२ सालमा ललितपुरका राजा योगनरेन्द्र मल्लको भक्तपुरसँगको युद्धका क्रममा तमाखुमा हालेको विषका कारणले मृत्यु हुँदा त्यस समयमा गोर्खामा पृथ्वीपति शाह राजा थिए । युवराज वीरभद्र शाहको मृत्यु भैसकेकाले १७७३ सालमा पृथ्वीपति शाहको मृत्यु हुँदा उनका नाति नरभुपाल शाह राजा भए ।
१७९९ सालमा नरभुपाल शाहको मृत्यु भएपछि पृथ्वीनारायण शाह राजा भए । यसरी १८२५ सालसम्म आइपुग्दा ६३ वर्षमा गोर्खाले ३ जनामात्र राजा पाउँदा पाटनले १६ जना राजा बेहोरेको थियो । पृथ्वीपति शाह, नरभुपाल शाह र पृथ्वीनारायण शाहको पालामा पाटनमा भएका राजाहरु यसप्रकार थिए– (१) योगनरेन्द्र मल्ल (२) लोकप्रकाश मल्ल (३) इन्द्र मल्ल (४) महीन्द्र मल्ल (५) वीरनरसिंह मल्ल (६) ऋद्धिनरसिंह मल्ल (७) भास्कर मल्ल (८) योगप्रकाश मल्ल (९) विष्णु मल्ल (१०) राज्यप्रकाश मल्ल (११) विश्वजित मल्ल (१२) जयप्रकाश मल्ल (१३) रणजीत मल्ल (१४) जयप्रकाश मल्ल (१५) दलमर्दन शाह (१६) तेजनरसिंह मल्ल ।
यी सबै राजाहरुमध्ये धेरैको राजाहरुको आगमन र अन्त्यमा पाटनमा जमेका ६ जना प्रधानको नग्नता, स्वेच्छाचारिता, रजगज र कपट निर्णायक भएको थियो । तीमध्ये शक्तिशाली काजी थिए– भिख्वाल धनकाजी । अन्यमा कालीदास र चाकु बहाल काजी थिए । इतिहासका ती प्रधानहरुको हर्कत सिलसिला आजको नेपालको षटकोण झुण्ड देउवा, दाहाल, नेपाल, खनाल, गौतम र भट्टराईकै जस्तो थियो । योगनरेन्द्र मल्लको वैध सन्तान नभएकाले उनकी छोरी योगमतीले आफ्नो ७ वर्षको छोरा लोकप्रकाश मल्ललाई राजा बनाइन् र आफू नायबी भएर शासन गर्न थालिन् । एक वर्ष नपुग्दै लोकप्रकाश मल्लको मृत्यु भयो ।
त्यसपछि योगप्रकाशका भानिज इन्द्र मल्ल राजा भए । यिनको पनि चाँडै मृत्यु भयो । त्यसपछि योगनरेन्द्र मल्लका मठ्याहा छोरा महीन्द्र मल्ल राजा भए । यिनकी माता राजराजेश्वेरी र योगमतीबीच खटपट सुरु भयो । योगमतीले वीरनरसिंह मल्ललाई राजा बनाइन् । यसरी पाटनमा द्वैध शासन सुरु भयो । यस्तैमा महीन्द्र मल्लको मृत्यु भयो । त्यसपछि क्रमशः ऋद्धिनरसिंह मल्ल, भास्कर मल्ल, योगप्रकाश मल्ल र विष्णु मल्ल राजा भए ।
योगमती जीवित रहँदासम्म लुकिछिपी खेल्ने ६ जना प्रधान योगमतीको मृत्युपछि सक्कली अनुहारमा आएर मर्यादाको हरेक ढंगले उल्लंघन गर्न थाले । राजा विष्णु मल्ल निःसन्तान थिए । उनको मृत्युपछि ६ प्रधानले कान्तिपुरबाट पाटनमा शरण बसेका राज्यप्रकाश मल्ललाई राजा बनाए । आफूसँग मत नमिलेपछि ६ प्रधानले राज्यप्रकाशको आँखा फुटाइदिए । पीडा सहन नसकी राज्यप्रकाशको मृत्यु भयो । त्यसपछि विश्वजित मल्ललाई गद्दीमा राखियो । एउटा अनुचित प्रेमलाई बहाना झिकेर ६ प्रधानले राजा विश्वजित मल्ललाई काटे ।
त्यसपछि पाटनको गद्दीमा कान्तिपुरबाट सत्ताच्युत भएका राजा जयप्रकाश मल्ल बसे । एकदिन जयप्रकाश मल्ल टेकु दोभाननेर नुहाउन गए । उनलाई नरुचाएका प्रधानहरुले ढुंगामुढा गरेर लखेटे । त्यसपछि पाटने प्रधानको रोजाइमा भक्तपुरका राजा रणजीत मल्ल परे । रणजीत मल्लले भक्तपुरमा जस्तै पाटनमा पनि जनताको सुखदुःखलाई प्राथमिकतामा राखे । रणजीत मल्ललाई जनताले रुचाउन थाले । नयाँ राजाको लोकप्रियता आफ्नो स्वेच्छाचारिताको लागि बाधक हुने देखेर ६ प्रधान उनको विस्थापनको दाउ हेर्न थाले ।
एकदिन रणजीत मल्ल शंखमुलमा श्राद्ध गर्न गए । ६ प्रधानले यही मौका छोपेर उनलाई पनि लखेटे । त्यसपछि पाटनका राजा भएका जयप्रकाश मल्लले ६ प्रधानलाई दण्डित गर्न खोजे । तर, आफै पदच्युत भए । प्रधानहरुले पृथ्वीनारायण शाहलाई पाटनको राजा हुन आमन्त्रित गरे । पृथ्वीनारायण शाहले आफू नआई भाइ दलमर्दन शाहलाई पाटन पठाए । गोर्खाको कीर्तिपुरमाथिको तेस्रो हमलाको बेलाको सन्दिग्ध भूमिका हेरेर ६ प्रधानले राजा दलमर्दन शाहलाई सत्ताच्युत गरी कैद गरे र एकजना व्यापारी तेजनरसिंह मल्ललाई गद्दीमा राखे । तेजनरसिंह मल्लकै शासनकालमा १८२५ साल असोजमा पाटनले स्वाधीनता गुमायो ।
६ जना पाटने प्रधानले आफ्नो ३२ वर्षे अवधिमा १२ जना राजा फेरेका थिए । आधुनिक पाटने प्रधानको षटकोण झुण्डका कारणले आजको नेपालले पनि यी २८ वर्षमा २८ पटक सरकार फेरबदलीको पीडा ब्यहोरिसकेको छ । पाटनका ती प्रधान योगमतीको नायबीकालमा अस्थिरताका जड भए पनि सतहमा देखापर्न सकेका थिएनन् । जब योगमतीको मृत्यु भयो तब बेपर्दासँग खेल्न थाले । १८०२ सालमा राजा विष्णु मल्लको मृत्यु भएपछि पाटने प्रधानको हर्कत चरमचुलीमा पुग्यो । आजका पाटने प्रधानको हर्कतहरुका पनि आदि, मध्य र पतनसम्म पुगाउने चरमचुली गरी तीन वटा चरणहरु छन््् ।
जननेता मदन भण्डारी छँदासम्म एमाले मूलका पाटने प्रधानहरु उपाय नलागेर अजिंगरले आहार पर्खे जस्तै शालीन मुद्रामा लिन थिए । मनमोहन छँदासम्म पनि उनीहरुको हर्कतको स्तर सुरुवाती अवस्था वा छिपछिपे चरणमै थियो । मदन र मनमोहन दुवै नरहेपछि उनीहरुको अनैतिक हर्कतले सीमा नाघ्यो । एमालेको दियोको तेल सकिएको रहेन छ । विस्तारै एमालेले पनि उनीहरुलाई दण्डित गर्ने हैसियतको विकास गर्यो । एकातिर एमालेभित्रकै पाटने प्रधानलाई दण्डित गर्ने र अर्कोतर्फ माओवादी र कांग्रेस कित्ताका पाटने प्रधानसँग पंंगा लिने क्रममै २०६४ सालमा धरमराएको एमाले २०७० सालमा उठ्यो । एमालेको बुटवल महाधिवेशनमा बहुमत केन्द्रीय सदस्य र काठमाडौं महाधिवेशनले नेतृत्वसहित बहुमत केन्द्रीय सदस्य चाहे जस्तो आएपछि माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको स्वेच्छाचारितामा लगाम नलागेको होइन । तर, प्रचण्डसमेत थपिएपछि ऋणात्मकताको बढोत्तरी धान्न एमाले चेतलाई धौधौ पर्यो ।
कांग्रेस मूलका पाटने प्रधान शेरबहादुर देउवाको अस्थिरतावादी भाइरस जुनीको आरोह अवरोहपूर्ण यात्रा पनि विभत्सपूर्ण छ । छत्तीसेकालमा सुसुप्त, संकटकालको बेला उत्कर्ष र दुई कांग्रेसको एकीकरणको बेला दण्डित भएको कांग्रेसभित्रको देउवा ब्राण्डको पाटने प्रधान प्रवृत्ति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको मृत्युसँगै फेरि जमेको छ । बेला बेला अपवित्र गठबन्धन गरी एमालेलाई सत्ता बाहिर पारेकोमा घिरौला जत्रो नाक गरे पनि वास्तवमा देउवा मोडेलको पाटने प्रधान प्रवृत्तिबाट कांग्रेस आफै दण्डित भएको छ र अन्यायमा परेको छ । अटल कांग्रेस पार्टी फोरुवा तान्त्रिक कांग्रेसबाट शासित हुनु बीपी, जीपी र सुशील कोइरालाको विरासतमाथिको व्यंग्य हो । कांग्रेसको लोकतान्त्रिक विरासत नै मास्ने र मौलिकता नै मर्ने गरी कांग्रेस फोरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएको कालो इतिहासधारी शेरबहादुर देउवा र विजयकुमार गच्छेदारको कलापूर्ण विच्छेद र एकताको नाटक र माकुरेजालमा कांग्रेस जस्तो गर्विलो इतिहास बोकेको पार्टी जेलिएको छ र कैद छ ।
२०५२ सालदेखिको अस्थिर राजनीतिको बाहक तत्व भए पनि प्रचण्ड र बाबुराममा जिम्मेवारीबाट पन्छिने निपूर्णता देखियो । योगमतीको नायबीकालका पाटने प्रधान जस्तै आफूहरु २०६२ सालसम्म संस्थापन पक्ष नभएको भन्दै माओवादी कित्ताका पाटने प्रधान पन्छिन सफल भए । माओवादीको नोयडा धरातल सत्य थियो भने नुवागाउँ धरातल मिथ्या थियो । जब झूट सतहमा आयो तब माओवादी कित्ताका पाटने प्रधानहरु अस्थिरताका भाइरसको सक्कली अनुहारमा आए ।
राजा जनप्रिय हुनुहुँदैन, टाठाबाठाको लैनोभैसी वा कल्पवृक्ष बन्नुपर्छ भन्ने निष्कर्ष पाटने प्रधानको थियो । सरकार जनताप्रति होइन केही राष्ट्रिय आवाराप्रति समर्पित हुनैपर्छ भन्ने मतो आधुनिक पाटने प्रधानसँग छ । जनताप्रतिको बदमासी, अआस्था, अनिष्ठा र जनताको अदालतप्रतिको घोर अपमान, अरुचि र अविश्वास युगदेखि युगसम्मका पाटने प्रधानहरुमा पाइने समानखाले बैगुन, कृतघ्नता र विनाशकाले विपरीत बुद्धि हो । पाटने प्रधानका प्रेतात्मासँग निहुरिमुन्टी नहुनुभन्दा सरकारबाट बाहिरिने गरी जोखिम मोल्नु ओलीको जनताप्रति समर्पित राजनीतिको सबैभन्दा सुन्दर पक्ष हो ।
भक्तपुरका जनतालाई जस्तै पाटनका जनतालाई अमनचयन दिन खोज्ने रणजीत मल्ललाई पाटने प्रधानले आफ्नो लुटको स्वर्गको लागि बाधक ठानेर लखेटे जस्तै आधुनिक पाटने प्रधानहरु ओलीको जनप्रिय काम र ओलीप्रतिको जनलहर देखेर अत्तालिएकै छन् । विगतमा एकअर्काविरुद्ध जस्तासुकै अपराध गर्न पछि नपरेका, हेगको यात्राका भागेदार पात्रहरु ओली नेतृत्वको विकास र समृद्धि अभियान रुपी यज्ञ विध्वंश गर्न जनताबाट दण्डित नहुँदासम्म गरी नै रहनेछन् ।
हरेक समस्याको समाधान हुन्छ । इतिहासका हरेक खलनायकको विसर्जन गर्न महानायकको उदय भएको हुन्छ । पाटने प्रधानलाई दण्डित गर्न इतिहासले गोर्खाको लय, गति र उन्नति पर्खनु प¥यो । आधुनिक पाटने प्रधानहरुलाई पूर्णविराम लगाउन भूराजनीतिक खेलका खेलाडीहरु अर्कै खेलोमेलोमा छन् । घरेलु रुपमा जनताको अदालत भूराजनीतिक दाउपेचभन्दा अगाडि छ । पतनको मुखमा पुगिसकेका आधुनिक पाटने प्रधानहरुलाई दण्डित गर्न जनताको अदालतले एमाले जन्माइसकेको छ । २०७४ सालदेखि नेपाली धरतीमा उठेको ओली लहर र विभाजनका बाबजुद यस पटकको स्थानीय चुनावमा एमालेले पाएको लोकप्रिय जनमत र संघ र प्रदेशको चुनावमा माओवादी र समाजवादीलाई चाहेर पनि बचाउन नसक्ने मजबुत आधार आधुनिक पाटने प्रधानको टाउकोमा कालले लगाएको ध्वजा हो ।
नेपालको मेरुदण्ड
भारतीय नाकाबन्दीपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा राष्ट्रियताको आन्दोलन उत्कर्षमा पुग्यो । चालीस महिने शासनकालमा ओली सरकारले मातृभूमि नेपालको जीर्णोद्धार गर्यो । देशभक्त, लोकतान्त्रिक, प्रगतिशील नेतृत्वले मात्र नेपालको राष्ट्रियताको जगेर्ना गर्छ भन्ने सच्चाइ एमालेको पछिल्लो सत्तारोहण यात्राले पुष्टि गर्यो । छोटै समयमा नेपालको राष्ट्रिय गौरवको उत्थान भएको छ । नेपाली गौरवको उत्थान सम्भव छ भन्ने आशा मरिसकेको स्थितिबाट महाशक्तिको टाउको दुखाइ, जलन र इष्र्याको विषय नेपाल र नेपाली बन्नु चानचुने छलाङ, प्रगति र उपलब्धि होइन । ओलीको उदयसँगै नेपाल र नेपालीका मरिसकेका आशा र सपनाहरुको पुनरोदय भएको छ ।
देशलाई उभिनै पर्ने यही सही लिकमा उभ्याउन सक्नु नै राजनेता ओलीले दिएको अद्वितीय देन हो । नेपालका हरेक देशभक्त शासकदेखि रिसाउने र उनीहरुलाई ठेगान लगाइदिने भारतको कुलत छ तर यस उपमहाद्वीपका आधुनिक चाणक्य ओलीको शब्दकोषमा पनि हरेश, हार, डर र त्रास जस्ता शब्दहरु छैनन् । बरु हाकाहाकी सिंहमेव जयते होइन, सत्यमेव जयते भन्दै महाशक्तिलाई समेत हायलकायल, निरुपाय र निरुत्तर पार्ने कला र बानी छ । नेपाललाई आफ्नो मेरुदण्डमा उभिनु छ । नेपालले आफ्नो गति र लयसँग सम्झौता गर्नु छैन ।
यसका निम्ति आवश्यक पर्ने निम्न लिखित ५ पक्षहरुको मौजुदी नै ओलीको अभेद्य रक्षाकवच हो– (१) युग सापेक्ष नवीनत्तम विचार (२) सचेत, संगठित, साहसी, मेहनती र देशभक्त जनता (३) निर्लाेभी, निडर र निष्ठावान नेतृत्व (४) त्यस अनुकूलको विचार, जनाधार र सदाचारको व्यवस्थापन गर्न सक्ने सामथ्र्य र इच्छाशक्ति भएको युग सुहाउँदो राजनीतिक दल (५) मातृभूमिको साह्रो, गाह्रो, अप्ठ्यारो, मर्म, संवेदना बुझेर सत्पात्रहरुलाई चिन्न र थाम्न सक्ने तथा खलपात्रहरुलाई चिन्न र डाम्न सक्ने अमूल्य चेत भएको कुशाग्र र तेज युवापुस्ता ।
ओली विरासत
नेकपा (एमाले) मूलतः मदन, मनमोहन र ओली त्रिकोणको निष्ठा र माधव, झलनाथ र वामदेव त्रिकोणको कुण्ठाबीचको टक्कर थियो । यिनै दुई त्रिकोणकै टक्करमा एमालेको पंक्ति खारियो । निष्ठाले मदन, माधव र ओली बनाउँछ । नगदानगदीले उधारो नजान्ने माधव मोडेलको बिजोग थमाउँछ । माधव, झलनाथ र वामदेवहरु समय क्रममा शिव धनुषझैं आफै मक्किएपछि आजको एमाले ओलीद्वारा एकल रुपमा प्रेरित, प्रशिक्षित, संरक्षित र निर्देशित छ । छोटो समयको मदन र मनमोहनको नेतृत्व एमाले पंक्तिको लागि भोकालाई खिर जस्तै तलतलकै अवस्थामा रह्यो । आवश्यकता नै आविष्कारको जननी हो ।
२०६५ सालको माओवादीको विजय उन्माद र २०७२ सालको भारतीय नाकाबन्दीले ओलीको व्यक्तित्व र नेतृत्वलाई प्रकाशमा ल्यायो । संकटको बेला ओली एमाले र नेपाली जनताको हातमा अमोघ अस्त्र बनेपछि विश्व समुदाय चकित पर्यो । देश सानो हुन सक्छ । तर, कुनै पनि देशको सार्वभौम सत्ता, त्यहाँका जनता, तिनले चुनेको नेता र तिनीहरुको हिम्मत, चेतना र रोजाइ सानो हुँदैन भन्ने ओली डक्ट्रिन संसारभर फैलियो । यति बेलाको विश्व व्यवस्थाका हर्ताकर्ता अमेरिका र उसको एसियाली सहयोगी शक्ति भारत शस्त्र बलका पुटिन र शास्त्र बलका ओलीदेखि हायलकायल छन् । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने अठोटलाई मियो बनाएको ओली विरासत नै केही वर्षयता नेपालले पाएको महत्वपूर्ण प्राप्ति हो ।
प्रचण्डको जालमा परेर गिरिजाप्रसाद कोइराला देशको मियोको भूमिकाबाट विस्थापन भएपछि नेपालको लोकतन्त्र र लोकतन्त्रवादीहरुको दिनगन्ती सुरु भैसकेको थियो । प्रचण्डको अधिनायकवादी आकांक्षा अहिले जस्तो सुसुप्त, छद्म र मृतप्रायः अवस्थाको नभै जागृत रहेको बेला लोकतन्त्रवादीहरु च्याङकाई सेक र दलाई लामा हुने खतरा थियो । सौभाग्यवश नेपालको लोकतन्त्रवादी शिविरले ओलीको कुशल र जादुगरी नेतृत्व पायो । सेनापति काण्डयता नेपाली जनता र ओलीको सम्बन्ध बाघ र जंगल, बघिनी र डमरु वा भनौं पानी र माछाको जस्तो रहेको छ । संविधान निर्माण, विकास निर्माण, समृद्धि अभियान, देशभक्ति र सांस्कृतिक राष्ट्रवादसम्म फैलिएको ओली विरासतको रक्षा गर्नमै प्रचण्ड र माधवको सुन्दर भविष्य सुरक्षित थियो ।
शक्ति राष्ट्रले खेल्ने भनेकै कमजोर देशका कमजोर तन्तुनेर हो । देशभक्तिको दायित्वबाट प्रचण्ड र माधव पिठ फर्काएर भाग्नुमा ओलीको अग्लो कदप्रतिको जलन र भारतीय हस्तक्षेपकारी चलनले एकैसाथ काम पाएका छन् । बाघले शिकार गर्नुअघि मृगको झुण्डमा घाइते, कमजोरतिर नजर केन्द्रित गरेझैं हस्तक्षेपकारी राष्ट्रका आँखा पनि निर्वल देशका कमजोर तन्तुतिर केन्द्रित रहने गर्छन् । दिल्लीमुखी जुवामा कांग्रेस युगदेखि युगसम्म जोतिएकै थियो । कांग्रेसको जोडा बन्नलाई प्रचण्ड र माधवबीच उछिनपाछिन चलेको छ । विश्व वामपन्थी आन्दोलनका गद्दार शिरोमणि मिखाइल सेर्गई गोर्वाचोभको रेकर्ड तोड्ने इरादाका साथ प्रचण्ड र माधव देशभक्त धुरीबाट बाहिरिएर दिल्लीभक्त धुरीमा सामेल भएका छन् । ओलीविरोधी चक्रव्यूहमा प्रचण्ड र माधवको सामेलीलाई भारतले सुरुदेखि नै पुट दिइरहेको छ ।
महाशक्तिको सामना
महाशक्तिको सामना चानचुने कुरा होइन । हिम्मत भएको सिंहले मात्र हात्तीमाथि हमला गर्ने हिम्मत राख्छ । बेलायत, चीन र रणजीत सिंहकालीन पञ्जाव भारतसँग खाँडो पखालेको नेपाली जाति भारतसामु सिक्किम र भूटानझैं सरिसृप बाबियो हुन तयार छैन । नेपाली स्वाभीमान सतिसालझैं उभिन रुचाउँछ । देशभक्त र दलालहरुको जीतहार चक्र जस्तै घुम्छ । अफगानिस्तानका तालिवानहरुले आफ्नो देशलाई तहसनहस पारेरमात्र रुस र अमेरिकालाई घुँडा टेकाए, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की देश खरानी पारेर पनि सत्तामा टासिएकै छन् ।
तर, ओलीले सत्ताबाट हटेर पनि शक्ति राष्ट्र र तिनले सत्तामा थमाएका कठपुतली शासकका आँखाको कसिंगर भएर नेपालको स्वाभीमानको मेरुदण्डलाई मजबुत पारेको सत्यलाई जनताले बिर्सेका छैनन् । नेपालका बहुदलीय जनवादीहरुले देशलाई जोगाउँदै प्रत्यक्ष हस्तक्षेपभन्दा पनि घातक प्रकारको अप्रत्यक्ष हस्तक्षेप र सूक्ष्म व्यवस्थापन गर्न पल्केको भारतलाई घुँडा टेकाउने औकात राख्दछन् । नाकाबन्दीको दृढतापूर्वक सामना गरे पनि राजा वीरेन्द्र र मरिचमान सिंहको जोडाले एकप्रकारले भारतसामु घुँडा टेक्नु परेको थियो । तर, नेपालका सचेत जनता र साहसी प्रधानमन्त्री ओलीको जोडा मिलेकाले २०७२ सालको नाकाबन्दी उल्टै दिल्ली र नेपालका दिल्लीमुखी दलालका लागि महंगो साबित भयो ।
आज नाकाबन्दीको सन्दर्भ सकिएको छ । तर, भारत र उसका कम्फरटेबल नोकरलाई देशभक्ति त नाकाबन्दीको बेलामात्र चाहिने अस्त्र हो भनेर विषयान्तर गर्न भ्याइनभ्याई छ । नाकाबन्दीको सन्दर्भ सकिन सक्छ । तर, देशभक्तिको सन्दर्भ कहिल्यै सकिँदैन । ओलीविरोधी खेमा नाकाबन्दी सकिएसँगै देशभक्तिपूर्ण आन्दोलनको पनि औचित्य सकिएको भ्रम छर्न कम्मर कसेर लागेको छ । सजगता र चेत सदाबहार कुरा हुन् । प्रचण्ड र माधवलाई भारतले नेपालीको देशभक्ति रुपी सूर्य छोप्ने हत्केलाका रुपमा तयार पारेको छ । माधवको त बेतियाको धमिलो मुहान नै समस्याको पोको थियो । नेपालको सत्तामा पुग्न र टिक्न भारतको आशीर्वाद भए पुग्छ, नेपाली जनता केही पनि होइनन् भन्ने विनाशकाले विपरीत बुद्धिले डेरा जमाएको कांग्रेसलाई उछिन्ने गरी प्रचण्डले आँट गलाउनुमा पाँच वटा प्रमुख कारणले काम गरेका छन् ।
पहिलो त प्रचण्डले आफू रुकुम, रोल्पाबाट उठेको भनेर पेडा खाएको भ्रम छरे पनि नोयडा शरणको आलु खाएको वास्तविकता घाम जस्तै छर्लंग भैसकेको छ । दोस्रो, भारत वा चीनमध्ये एकको आश्रयमा रहेर अधिनायकवादी शासक बन्ने सपना सेनापति काण्डको बेला ध्वस्त भएपछि प्रचण्डलाई आफ्नो औकात र हैसियतमा आएको गिरावटको स्वरुप मृग मार्न सक्ने सामथ्र्य गुमाएर फटिंग्रा छोपेर गुजारा चलाइरहेको जर्जर कायाको बुढो, रोगी र घाइते बाघको जस्तो रहेको राम्रैसँग थाह छ ।
तेस्रो कारण उनको पारिवारिक महत्वाकांक्षामाथि परेको बज्रपात हो । उत्तर कोरियामा जस्तै सके देशभर, नभए आफ्नो पार्टीमा किम राजतन्त्र जस्तै दाहाल वंशको अभ्यास गर्ने प्रचण्डको अतिरिक्त इच्छा प्रकाश दाहालको मृत्युले गर्दा धरापमा परेको छ । अहिले उक्त महत्वाकांक्षाको आकाशे खेतीले प्रचण्डको ढल्दो उमेर र बालक नातिको हुर्कंदो उमेरको ग्याप भोग्न बाध्य हुनुपरेको छ । चौथो कारण हो, प्रचण्डका आफ्नो प्रशंसा समूहको औकात, हैसियत र सामथ्र्यमा आएको गिरावट वा फौजी चरित्र र जनताको दिल जित्ने प्रतिस्पर्धाको राजनीतिबीचको कहालीलाग्दो दरारको विद्यमानता ।
पाँचौं हो, माओवादी नेतृत्व र संगठनप्रति आम जनतामा बढेको कोप, वितृष्णा र घृणा । यी सबै पक्षको अध्ययन र विश्लेषणपछि प्रचण्ड जस्तो आत्मकेन्द्रित र चतुर नेतालाई लागेको देखिन्छ– ‘बहुदलीय जनवादीहरुसामु पुस्ता पुस्ताको र युगदेखि युगसम्मको टक्करमा आफ्नो समूहको सीप चल्ने छाँटकाँट छैन ।’
तालिबानको हिम्मत बल, एमालेको विचार बल !
जनताको बहुदलीय जनवाद जसले युवाहरुको हरेक पुस्तालाई माक्र्सवादको रचनात्मक प्रयोग र विकासको सही लिकमा उभ्याउँछ नै । यसबाहेक यसले एकांगी नभै समग्रतामा ध्यान दिन सिकाउँछ । अफगानिस्तान र नेपाल जस्ता भूराजनीतिक दाउपेचको सघन प्रभाव रहेको क्षेत्रका नागरिकले एउटै वाद, दर्शन र आदर्शमा कैद भएर काम चल्दैन । युवाहरुको हरेक पुस्तालाई मार्क्सवादबाट निर्देशित रहेर समानता र श्रमको पक्षमा दृढतापूर्वक उभिने, कृष्णजस्तै निर्लोभी र निडर भएर खलपात्रमाथि कालदण्ड बन्ने, आफ्ना लागि कुनै अतिरिक्त चाहना नराखी बुद्ध जस्तै शान्ति प्रिय हुने, चाणक्य जस्तै देश, काल, परिस्थितिप्रति सजग, चतुर; जनताको शास्त्र शक्ति र शस्त्र शक्ति संगठित गर्ने, जनताको शक्तिमा विश्वास गर्ने कलामा बहुदलीय जनवादीहरु अभ्यस्त पार्नु छ ।
बहुदलीय जनवादीहरुसँग जनताको आशीस थाप्दै अघि बढ्दै गर्ने जीवनशैली छ । जनतालाई बघिनी बनाएर आफू डमरु जस्तै सुरक्षित रहने कला भएका कारण बहुदलीय जनवादीहरुसामु नेपालमा दिल्लीमुखी सिल्लीहरु त के दिल्ली स्वयंको पनि सीप नचलेको सिलसिला छ । यसरी भारतले नेपालमा भियतनाम युद्धको अमेरिका र अफगानिस्तानमाथिको हस्तक्षेपमा रुस र अमेरिकाले खानु परेको घनचक्कर भोग्नुको विकल्प छैन ।
भारतले नेपालको उन्नतिमा बाधा हालेको छ । अस्थिरतामा मात्र नेपालको शक्ति ऐंठन सम्भव छ भन्ने भारतले जानेको छ । भारतले चाहेको अस्थिरता नेकपाको विघटन नगराई सम्भव थिएन । अस्थिरताको जरो उखेल्ने सामथ्र्य राख्ने भएकाले नै विघठित नेकपाको सर्वनाश मोदी प्रशासनको अर्जुनदृष्टिमा परेको थियो । तीन दशक माओवादीमा सर्वेसर्वा भैसकेका प्रचण्ड, त्यति नै समयसम्म एमालेमा आलोपालो रजगज गरेका माधव नेपाल र झलनाथ खनाल, महत्वाकांक्षा र अधैर्यता यी तिनैमा भन्दा दोब्बर भए पनि आफ्नै अनेकौं आत्मघाती फण्डाले गर्दा थचारिएका वामदेव गौतम रुपी कमजोर कडी चिन्न मोदी प्रशासनलाई समय लागेन । दुईतिहाइ बहुमतको बलमा केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा स्थिर सरकार बनेपछि नै भारतीय शासक वर्गको निद्रा हराइसकेको थियो । नेपालको उन्नति, प्रगति, लय र गतिले भारतको शक्ति सन्तुलनमा पर्ने असरबारे भारतीय शासक वर्ग सधैं सजग रहने नै भयो ।
तालिबानहरुले देश तहसनहस पारेरमात्र रुस र अमेरिकालाई एक प्रकारले हराए । तर, बहुदलीय जनवादीहरुसँग अयोध्याको एउटा सिन्कोसम्म क्षति नपुगाएर लंका युद्ध जित्ने रामको जस्तै रणनीतिक युद्ध जित्ने कला छ । तालिबानहरुसँग आतंकवादी हमलाको दाग छ । तर, एमाले शरीरमा प्रचण्डले माओवादी आवरणमा कमाएको कुख्यातिका बाछिटाहरु छैनन् । यसरी हिम्मत बल र शस्त्र बलका तालिबानभन्दा सत्य, इमान, हिम्मत र शास्त्र बलका बहुदलीय जनवादीहरु भारतका लागि जलनका विषय बनेका छन् ।
समृद्धिको सपना ध्वंश
भावी नेपालको सुन्दर मानचित्र बहुदलीय जनवादीहरुसँग मात्र छ । समृद्धिको यस महाअभियानमा अब कुनै जमिनदारले सेरोफेरोभरिको जमिन अनुत्पादक ढंंगले बाँझो छोड्न पाउने छैन । मेहनती किसानले पुग्दो जमिन नपाउनुको सास्ती खेप्नुपर्ने छैन । नदीहरुले मनलाग्दी ढंगले जमिन बगर बनाउन पाउने छैनन्, तटबन्दीमा परेर सीधै परेड खेल्नु पर्नेछ । मेचीदेखि महाकालीसम्मका नदीबाट प्रभावित बाढी क्षेत्रमा मात्र नेपालको आधा जनसंख्यालाई खान पुग्ने जमिन उपयोगमा ल्याउन सकिने छ ।
खाद्य बाली, नगदे बाली, पशु फार्म, घाँस उत्पादनसहितको एकीकृत उत्पादन र सहरीकरणलाई सँगसँगै लगिने छ । सडक सञ्जाल, विद्युतीकरण, सिंचाइ आयोजनाको ओली सरकारले ल्याएको उछालले गरिबको घरको छाना फेरिने भयो, माना बढ्ने भयो र नाना फेरिने भयो भनेर कांग्रेसलाई चिन्ता थियो । गरिबको उत्थान हुँदा हली गोठाला नपाइने चिन्ताले कांग्रेसजनको निदहराम भएकै थियो ।
वामपन्थी आन्दोलनमा हरियो घाँसमा हरियो सर्प घुसेझैं छिपिएर बसेका माधव, झलनाथ, वामदेव ब्राण्डका अवसरवादी पनि थपिएपछि नेपाली जनताको समृद्धिको सपना विथोलिएको छ । भूमिको व्यवस्थापनबाट एकातिर सामाजिक न्याय कायम हुने र अर्को कृषि, उद्योग, बजार व्यवस्था, ग्रामीण विकासमा टेवा पुग्ने देखेर भूमि आयोग खारेज गरियो । तराईमा भारतीयको बाहुल्यता बनाउने भारतीय स्वार्थ र जमिनदारको पार्टी नेपाली कांग्रेसको स्वार्थ मिलेका कारण त्यहाँ विकास र न्याय हुन सकेको थिएन । तराईको एकीकृत विकास हुँदा गरिब र राष्ट्रिय पूँजीपति वर्ग दुवैको हित हुने र नेपालको आर्थिक वृद्धि हुने देखेर नेपालका घरेलु र बाह्य दुश्मनहरु सक्रिय भए, जाल रचे र बहुदलीय जनवादीहरुविरुद्ध एककठ्ठा भए ।
मातृभूमि वा मोदी ? जनतासँग रोज्नेलाई तेस्रो विकल्प छैन । नाकाबन्दी कार्डलाई म्याद सकिएको औषधिसरह पार्न इतिहासले सचेत जनता र साहसी प्रधानमन्त्रीको उदय र उपस्थिति खोजिरहेको थियो । ओली नेतृत्वको नेपाल र नेपालीले भारतीय नाकाबन्दीको धमासलाई रद्दीको टोकरीमा मिल्काइदिएको बदलास्वरुप कठपुतली कार्डको प्रयोगमा भारत उत्रियो । यस मोदी, माओवादी र माधव गठजोडको अन्तिम परिणति प्रचण्डबाट माधव ठगिनु, कांग्रेसबाट वामपन्थी ठगिनु र भारतबाट नेपाल ठगिनु नै थियो । स्थानीय चुनावको परिणामले यही देखाएको छ ।
पञ्चतन्त्रको कथामा ठगिएकी बेश्याको कथा छ । धनाढ्य बुढो लोग्नेकी जवान श्रीमती तरुनो नोकरसँग घरको धनमाल चोरेर अँधेरी रातको मौका छोपेर भाग्छे । ऐसआराम, भोगविलाश र रसिकताभन्दा धन कमाउने दाउमा रहेको नोकर एक डाँका परेछ । डाँका तरुनी आइमाईका गहनापात, धनमाल राखिएको बाकस र पहिरिएका मूल्यवान लुगा कपडा खोसेर बाटो लाग्छ । तरुनो लोग्नेसँग झक्कास जिन्दगी बिताउने लोभले डाँकाको फन्दामा परेकी आइमाई रातको समयमा अघोर जंगलमा अलपत्र पर्छे । प्रचण्डको सुम्सुम्याएर सिध्याउने ब्वाँसे नीतिको फन्दामा परेर माधव नेपालले आफूसहित एमालेलाई २०६४ सालमा ठगिएकी बेश्याको हालतमा पारेको धेरै भएको छैन ।
एमालेको दियोको तेल सकिएको रहेनछ । जनताको अनुकम्पा र युवा पुस्ताको सौर्यका कारण एमालेले पुनर्जीवन पायो । यसमा खासै मेहनत नपरेकोमा माधव नेपालमा भरपुर कुण्ठा थियो । ओलीको साहसी नेतृत्वमा रहँदा एमालेले देखाएको जादु भनेकै प्रचण्डको आकार र ओझ घटाइदिनु हो । कांग्रेसको ज्यान लिने कालदण्डबाट प्रचण्डलाई देउवाको दर्बानको तहमा ओर्लन बाध्य पार्नु चानचुने चमत्कार होइन । अरुलाई रुवाउने प्रचण्ड हरेक भाषणमा रुन्चे बन्नु र वामदेवहरुलाई लखेट्ने माधव आफै भगौडो हुनु एमालेको दिग्विजयका सूचक हुन् ।
गिरिजाप्रसादलाई ठग्ने प्रचण्ड देउवालाई ढोग्दैछन् । ओलीले प्रचण्डलाई थमाएको महापतनको स्वरुप यस्तो छ । ओलीको नेतृत्वमा नेपालको राष्ट्रिय गौरवको उत्थान भएकोमा नरुचेर विरोधी गठबन्धन मोदी शरण गच्छामीको तहमा उत्रिएको छ । कठपुतली गठबन्धन मातृभूमिलाई ठगिएकी बेश्याको हातलमा पुगाउन तन, मन र बचनले लागिपरेको छ । जनताको चेतनासँग गरेको यो हँसीमजाक सत्तारुढ गठबन्धनले आफ्नै लागि खनेको चिहान हो ।
र अन्तमा
ऋषिमुनिहरुले अनेक विषयमा अनेक ढंगले लेखे । तर, राजतन्त्रको रवाफ, दबाब र प्रभावमा परेर जनताको बारेमा जे हो, त्यो लेख्न सकेनन् । उनीहरुले ईश्वरका बारेमा जे लेखे, त्यो सबै जनताको नाममा नलेखेर घुमाउरो ढंगले एक तीर दुई गरेका छन् । ईश्वरको महिमा, व्यापकता, अजरता, अमरता, अविनाशिता, करुणा, क्रूरता; सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको परमतपी भूमिका र शक्ति आजको युगमा जनतामा छ । जनता नै भगवान् हुन् । जनताको सर्वाेच्चताको आधार चेतना, शक्ति, सीप, श्रम र यी सबैको सदुपयोग गर्न सक्ने कला हो । मानव चेत नै मानव जातिको श्रेष्ठता स्थापित गर्ने सबैभन्दा ठूलो हतियार हो । जनताको यही अपरम्पार शक्तिमा विश्वास गर्नु नै एमालेको राजनीतिक श्रेष्ठताको आधार हो ।
सुतेको सिंहमाथि उफ्रिने मृग मृत्युको भागीदार हुन्छ । जनताको जीविका र राष्ट्र हितसँग खेलवाड गर्ने राजनीतिक शक्ति पतनको भागीदार हुन्छ । जनताको शक्तिका अगाडि कसैका पनि आग्रह र पूर्वाग्रह, इगो र आकांक्षाहरु गौण विषय हुन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र प्राप्तिको आन्दोलनको बलियो किल्लाको रुपमा रहेको नेकपा फुटाउने र एमाले टुटाउने प्रचण्ड, माधव र वामदेवलाई नेपाली जनताले त्यसै छोड्ने छैनन् । स्थानीय निर्वाचनमा माधव–वामदेवबाट सुरु गरेको दण्डनीतिको मोहोरी संघ र प्रदेश चुनावमा देउवा र दाहालतिर मोडिने छ । देशविरुद्धको यस हर्कतलाई जनता जनार्दनले क्षमा दिने छैनन् ।
देशभक्तिलाई तपसिलमा पार्नु भनेको राजनीतिक गुण गुमाउनु हो । लिम्पियाधुरा बिर्सनु भनेको गन्धा नालीको कीराको जुनी ग्रहण गर्नु हो । सुँगुरका पाठाहरु आमा मरिसक्दा पनि दूध चुसेर छाला निकाल्ने गर्छन् । तर, मानव सन्ततिले बिरामी आमाको उपचार गर्छ, दोहन गर्दैन । घायल मातृभूमिको सेवामा एमाले हिमालयझैं अटल भएर उभिएको छ । सत्तारुढ गठबन्धनको नियत मातृभूमिको दोहन हो र मक्सद श्रमजीवी जनताको शोषण हो । सुँगुरको पाठाझैं मातृभूमिको दोहन र लम्पसारवादमात्र जानेको सत्तारुढ गठबन्धन जनदण्डको भागीदार हुँदैछ । जीवनको उत्तराद्र्धमा रहेका देउवा, दाहाल, माधव र वामदेवलाई जब जनताले दण्डित गर्नेछन्, तब आचार्य चाणक्यले रामको महत्तामा रचेको यो श्लोक नेपाली जनतामा रहेको अपरम्पार शक्ति चित्रणमा पनि लागू भएको मानिने छ–
“काष्ठं कल्पतरुः सुमेरुरचलस्चिन्तामणि प्रस्तरः
सूर्यस्तीव्रकरः शशि क्षयकरः क्षारोहि वारांनिधिः
कामो नष्टतर्नुबलिर्दिति सुतो नित्यं पशुः कामगौ–
नैतांस्ते तुलयामि भो रघुपते ! कस्योपमा दीयते ।”
अर्थात्
‘कल्पवृक्ष काठ हो, सुमेरु पहाड हो, पारसमणि ढुंगो हो, सूर्य किरण तातो छ, चन्द्रप्रकाश क्षयकर छ, समुन्द्र चर्काे र गम्भीर छ, कामदेव शरीरहीन छ, दानवीर बलि दैत्य हो, कामधेनु गाई पशु हो । हे राम ! तपाईंको यी कसैसँग तुलना हुँदैन । तपाईंलाई के उपमा दिऊँ ?’
सबै नेपालीले पढेर मनन गरि नेपालका फटाहा नेता र असल नेता छुट्याउन सहयाेगी लेख । धन्यवाद लेखकलाई ।