अघिल्लो सरकारका कार्यक्रम समेटिएः एमाले लुम्बिनी – Nepal Press

अघिल्लो सरकारका कार्यक्रम समेटिएः एमाले लुम्बिनी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले बुधबार ल्याएको नीति तथा कार्यक्रममा अधिकांश आफ्नो नेतृत्वको सरकारले ल्याएका योजना र कार्यक्रमको निरन्तरता भएको नेकपा एमालेले जनाएको छ ।

एमालेले गठबन्धन सरकारले केही नयाँ कार्यक्रम ल्याउन नसकेको प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारले शंकर पोखरेल नेतृत्वको सरकारले नै ल्याएका धेरै नीति कार्यक्रमलाई निरन्तरता दिएर आगामी वर्षको नीति कार्यक्रम तयार गरेको बताए ।

चौधरीले आफ्नो पालामा मेहनत गरेर ल्याइएका आयोजना र कार्यक्रम अहिलेको कपी गरेको आरोप लगाउँदै यसको एमालेले विरोध नगर्ने बताएका छन् ।

‘रामपुर कपुरकोट सडक, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञसहितको सेवामा रुपान्तरण, एक घर एक धारा, सडक यातायात गुरुयोजना, एक वडा एक पोखरी, रंगशाला निर्माण, राजमार्गमा रिफ्रेस सेन्टर, एक जिल्ला एक पहिचानएक निर्वाचन क्षेत्र एक उत्पादन, लगायतका कार्यक्रम हामीले शुरु गरेका कार्यक्रम हुन्, धेरै कार्यक्रम दोहोरिएक छन् त्यसलाई पछ्याउने बजेट आउँछ कि,आउँदैन भन्ने चिन्ता हो ।’ चौधरीले भने ।

नीति कार्यक्रममा आलोचना गरेर अर्थ छैन, नयाँ केही कार्यक्रम आएका छैनन्, प्रतिपक्ष भएर विरोध नै गर्नुपर्छ भन्ने छैन ।’– उनले भने ।

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री शङ्कर पोखरेल गएका थिएनन् । पोखरेल काठमाडौँ भएका कारण आउन नसकेको चौधरीले बताए ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र सांसद विष्णु पन्थीले नीति तथा कार्यक्रममा कुनै पनि नयांपन नभएको र गन्तब्यहिन यात्रु बाटोमा हराइरहेको यात्रुजस्तो भएको प्रतिक्रिया दिएका छन् । पहिलाको सरकारले बनाएको नीति तथा कार्यक्रमलाई निरन्तरता मात्रै भएको उनीहरुको भनाइ थियो ।

तर भौतिक योजना तथा निर्माण मन्त्री तथा जसपा नेता सहश्रराम यादव र नेपाली कांग्रेसका सांसद बैजनाथ कलबारले नीति तथा कार्यक्रम राम्रो आएको र चारैतिर समेटिएर आएको बताएका छन् । ‘गरिब, निमुखा तथा गरिबको रेखामुनि रहेका जनसमुदायलाई जनता आवास कार्यक्रम, कृषि कार्यक्रम, स्वाथ्य, शिक्षाको क्षेत्रमा यो सरकारले ल्याएको नीति तथा कार्यक्रम नयां आएको छ’ मन्त्री यादवले भने ।

कांग्रेसका सांसद बैजनाथ कलबारले समृद्ध प्रदेश बनाउने योजना अनुसार कार्यक्रम आएको र यसमै आधारित भएर बजेट आउने बताए । उनले विपक्षी पार्टीले समेत खोट लगाउन नमिल्लने गरी ल्याइएको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर