१० महिनापछि आईजीपी बन्न १७ एसएसपीबीच पहिलो बन्ने होड – Nepal Press

१० महिनापछि आईजीपी बन्न १७ एसएसपीबीच पहिलो बन्ने होड

१५ महिना जुनियरमध्ये ४ जना लाइनमा

काठमाडौं । नेपाल प्रहरीमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)ले दर्ज्यानी चिन्ह लगाएसँगै रिक्त १७ नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुन एसएसपीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

२०७५ माघमा बढुवा भएका १३ जना एसएसपी र त्यसको १५ महिनापछि अर्थात २०७७ बैशाखमा बढुवा भएका करिब डेढ दर्जन एसएसपीबीच रिक्त डीआईजीमा बढुवा हुन प्रतिस्पर्धा देखिएको छ । १७ दरबन्दी रिक्त रहेकाले कम्तिमा चार जना एसएसपी आफूभन्दा १५ महिना सिनियर एसएसपीहरुसँगै डीआईजी बन्नेछन् ।

उनीहरुले एउटै विज्ञापनबाट नाम निकाले पनि विभिन्न तीन फरक मितिमा प्रहरी निरीक्षकबाट सेवा गरेका हुन् । २०५१ चैत तथा २०५२ साउन र मंसिरमा जागिर सुरु गरेकाहरु अहिले एसएसपी रहेका छन् । नेपाल प्रहरीमा अहिलेको व्यवस्थामा कुनै फेरबदल नभए, एआईजीको दरबन्दी थप नभए र बढुवामा ज्येष्ठता कायम रहे यो ब्याचबाट आगामी चैतमा प्रहरी संगठनले आईजीपी पाउने छ ।

उक्त ब्याचबाट पहिलो लटमा २०७५ माघमा १४ जना एसएसपी बनेका थिए । तीमध्ये गणेश रेग्मीले सेवा अवधिका कारण अवकाश पाइसकेका छन् । पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा उमेशराज जोशी, चौथोमा श्यामलाल ज्ञवाली, पाँचौँमा रेग्मी, छैटौँमा रामदत्त जोशी, सातौँमा दीपक थापा, आठौँमा मीरा चौधरी, नवौँमा बुद्धि गुरुङ र १० औँ नम्बरमा रहेर किरण बज्राचार्य बढुवा भएका थिए ।

२०७७ बैशाखमा बढुवा भएका १९ जनामध्ये वीरेन्द्रकुमार बस्याल, नवराज भट्ट, हृदय थापा, राजकुमार बैदवार र मुकेशकुमार सिंहले अवकाश पाइसकेका छन् । उक्त सूचीको पहिलो नम्बरमा बस्याल, दोस्रो नम्बरमा जनक भट्टराई, तेस्रो नम्बरमा विष्णुकुमार केसी, चौथो नम्बरमा भरतबहादुर बोहरा, पाँचौँ नम्बरमा कुबेर कडायत, छैटौँ नम्बरमा केदार ढकाल, सातौँ नम्बरमा अशोक सिंह, आठौँ नम्बरमा सुदीप गिरी, नवौँ नम्बरमा दुर्गा सिंह र १० औँ नम्बरमा राजेशनाथ बास्तोला रहेका थिए ।

स्रोतका अनुसार पहिलो लटमा बढुवा भएका सबै १३ जनालाई बढुवा गर्नुपर्ने पक्षमा आईजीपी धिरजप्रताप सिंह देखिएका छन् । ‘तर, डीआईजीबाटै आईजीपी बन्न सक्ने अवस्था रहेकाले पहिलो नम्बरमा रहेर बढुवा हुन कडा प्रतिस्पर्धा देखिएको छ। त्यसका लागि १५ महिना जुनियर एसएसपीहरु पनि लागिपरेका छन्’, प्रहरी प्रधान कार्यालय उच्च स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर